सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कहाँनिर बिग्रियो हाम्रो शिक्षा प्रणाली ? : डा. जयराज आचार्य

२०८३ कार्तिक १०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । आज हामीले बहस गर्नुपर्ने धेरै विषयमध्ये एउटा विषय हो, हाम्रो आधुनिक शिक्षाले प्रश्न गर्ने, शंका गर्ने र उत्तर खोज्ने संस्कार हामीलाई किन दिएन?

यो विषयको उत्तर खोज्नुअघि आजको राजनीति र शासन व्यवस्थाको अवस्था हेरौँ। वि.सं. २००७ देखि आजसम्मको इतिहास हेर्ने हो भने नेपालमा कुनै पनि राजनीतिक दल वा मन्त्रिपरिषद्ले पूरै ५ वर्ष निरन्तर शासन चलाउन पाएको छैन। वि.सं. २०४६ को आन्दोलनपछि बनेको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईदेखि लिएर आज बालेन शाह (काठमाडौं महानगर) को उदयसम्म आइपुग्दा, पछिल्लो ३५ वर्षको अवधिमा हामीले ३२ वटा सरकारहरू (प्रधानमन्त्रीहरू) देखिसक्यौँ! तीमध्ये १६ वटा सरकारहरू त एक वर्षभन्दा कम समयमै ढलेका छन्।

यो स्थिति कसले बनायो? हामी सजिलै दोषजति ‘विदेशीहरू’ को टाउकामा थुपारेर पन्छिन खोज्छौँ। विदेशीले गरे भनेर आरोप लगाउनु त सजिलो होला, तर यदि हामीले त्यो बुझेका छौँ भने त्यसबाट बच्न र आफ्नो मुलुक आफैँ चलाउन हामी किन सक्दैनौँ? विश्वविद्यालयको शिक्षाले हामीलाई यो प्रश्न सोध्ने हैसियत र साहस किन दिएन? कहाँनिर बिग्रियो हाम्रो शिक्षा प्रणाली?

महाकवि भूपि शेरचनको एउटा चर्चित र मार्मिक कविता छ। उहाँ लेख्नुहुन्छ— ‘सुन्छु म अमरसिंह थापा किल्ला काँगडा पुगेको सुन्छु, बलभद्रले नालापानीमा युद्ध गरेको सुन्छु, केवल सुन्छु मात्र, तर आजको नेपाल हेर्छु, मलाई मेरो देशको इतिहासमाथि विश्वास लाग्दैन!’

भूपिले हिजो कवितामार्फत जुन गम्भीर प्रश्न उठाउनुभयो, त्यही प्रश्न आज हामीले प्रत्येक राजनीतिक दलका नेताहरूलाई सोध्नुपर्ने भएको छ। अघि भर्खरै शहीद गंगालाल श्रेष्ठका कान्छा भाइ, ९२ वर्षका विजयलाल श्रेष्ठजीले बोलाउनुभएको एउटा कार्यक्रममा म पुगेको थिएँ, जहाँ विभिन्न राजनीतिक दलका नेताहरू पनि हुनुहुन्थ्यो। मैले नेताजीहरूलाई सीधा प्रश्न गरेँ— तपाईंहरू कुन मुखले जनताको माझमा जानुहुन्छ? आज बनेको सरकार पनि ५ वर्ष टिक्छ कि टिक्दैन भनेर ढुक्कसँग कसैले भन्न सक्ने अवस्था छैन। यस्तो निराशाजनक र घरिघरि ढल्ने अस्थिर राजनीति कसले बनायो?

इतिहास, राजनीति, आर्थिक विकास र कला-संस्कृतिका क्षेत्रमा हाम्रा मौलिक प्रश्नहरू हराउँदै गएका छन्।

हाम्रो इतिहासलाई हेरौँ- हाम्रा पुर्खाहरू, जसले किल्ला काँगडासम्म पुगेर यो विशाल नेपालको निर्माण गरे, उनीहरूसँग के प्रविधि र स्रोत-साधन थियो? केही पनि थिएन। उनीहरू नाङ्गा गोडाले युद्ध मैदानमा उत्रिएका थिए। पटुकामा अलिकति खुर्सानी, चामल, पीठो, नुन र बेसार बाँधेर उनीहरू त्यति टाढासम्म पुगेका थिए। उनीहरूसँग आधुनिक हतियार वा जुत्ता थिएन, तर उनीहरूसँग दुईवटा ठूला चिज थिए— अदम्य आत्मविश्वास र अपार आत्मबल।

त्यो आत्मविश्वास आजका नेपालीमा किन छैन? वि.सं. १९९० को महाभूकम्प आउँदा जुद्धशमशेर प्रधानमन्त्री थिए। त्यतिबेला भारतमा ब्रिटिस शासन (कोलोनियल गभर्नमेन्ट) थियो। अंग्रेजहरूले नेपाललाई पुनःनिर्माणका लागि आर्थिक सहयोग गर्छौँ भन्दा जुद्धशमशेरले चिठी पठाएर भनेका थिए— ‘तपाईंहरूको आफ्नै विहारमा पनि ठूलो क्षति भएको छ, पहिला त्यहाँ बनाउनुहोस्, हामीलाई तपाईंहरूको सहयोग चाहिँदैन।’ नेपालले त्यो वैदेशिक सहयोगलाई स्वाभिमानका साथ अस्वीकार गरेको थियो र आफ्नै बलमा पुनःनिर्माण गरेको थियो।

तर आज? सानो विपत्ति वा भूकम्प आउँदा पनि हामी किन हात फैलाएर माग्न मात्रै हिँडिरहेका छौँ? दुई हजार वर्षसम्म कहिल्यै कसैको उपनिवेश नभएको, सधैँ स्वतन्त्र रहेको यो मुलुक आज किन अत्यन्त अल्पविकसित अवस्थामा पछाडि परिरहेको छ? यसको मुख्य जिम्मेवार को हो?

कला र साहित्यको क्षेत्रमा पनि उस्तै परनिर्भरता देखिन्छ। आधुनिक नेपाली कलाका प्रवर्तक मानिने लैनसिंह बाङ्देल वा ठाकुरप्रसाद मैनालीहरूले ल्याएको ‘मोडर्न आर्ट’ युरोपियन प्रभावबाट आएको हो। हाम्रो लिच्छविकाल र मल्लकालमा जुन वास्तुकला र मूर्तिकलाको विकास भएको थियो— जसलाई इतिहासशिरोमणि बाबुराम आचार्यले ‘स्वर्ण युग’ भन्नुभएको छ- त्यसमाथि थप अनुसन्धान गर्ने, त्यसैलाई जग बनाएर नयाँ कलाको विकास गर्नेतर्फ हाम्रो ध्यान गएन। हामी पिकासो र अमूर्त कलाको पछि लाग्यौँ।

साहित्यमा पनि त्यस्तै भयो- ‘विर्निर्माणवाद’का सिद्धान्तहरू पश्चिमबाट आयात गरिए। हाम्रो आफ्नै स्वतन्त्र चिन्तन, हाम्रा आफ्नै मौलिक दार्शनिक प्रश्नहरू खोई?

पुरस्कारले सम्मान मात्र दिने होइन, समाजलाई ब्युँझाउने काम पनि गर्नुपर्छ। आज नोबेल पुरस्कारका विजेताहरूले देखाएको बाटो, रोन्टजेन वा म्याडम क्युरीको निष्काम सेवाभाव र जीवा लामिछानेजीले सुरु गर्नुभएको समाजकल्याणको महायज्ञ हाम्रा लागि प्रेरणाका स्रोत हुन्।

तर, यी सबै उत्सव र सम्मानका बीचमा हामीले आफ्नो मूल कर्तव्य भुल्नु हुँदैन। हाम्रो शिक्षाले, हाम्रा विश्वविद्यालयहरूले र हाम्रा बौद्धिक वर्गले समाजमा ‘प्रश्न गर्ने संस्कार’ पुनर्जागृत गराउनै पर्छ। जबसम्म आम नागरिक र विद्यार्थीहरूमा इतिहास, राजनीति, अर्थतन्त्र र संस्कृतिमाथि वस्तुनिष्ठ प्रश्न उठाउने हिम्मत र चेतना आउँदैन, तबसम्म मुलुकमा न त राजनीतिक स्थिरता नै आउन सक्छ न त समृद्धीको ढोका नै खुल्न सक्छ । कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल-भारत सम्बन्ध : निकटतादेखि साझेदारीसम्म – बिनोज बस्न्यात

सुगौली सन्धिको मूल प्रति : प्रा. श्रीरामप्रसाद उपाध्याय

के हुनुपर्छ महाभियोगको उद्देश्य ? – चन्द्रकान्त ज्ञवाली

के हुनुपर्छ सरकारको तात्कालिक कार्यभार ? – अर्जुननरसिंह केसी

बालेन्द्र शाहका कदम-फगत स्टन्ट कि असल नियत ? : युवराज घिमिरे

कर्मचारीको खस्कँदो मनोबल र संघीय निजामती सेवा विधेयक – प्रेमलकुमार खनाल

१५औं महाधिवेशन र नेपाली कांग्रेसको भावी दिशा : डा. शोभाकर पराजुली

त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो:डा बाबुराम भट्टराई

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन : एकराज पाठक

एमालेभित्र नेतृत्व सङ्कट: नैतिक जिम्मेवारीको अभिनय कि साङ्गठनिक कब्जा ?

प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान : श्यामप्रसाद मैनाली

विपद् व्यवस्थापनमा अत्यावश्यक मनोसामाजिक परामर्श : डा. नम्रता पाण्डे