सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

इरानसँगको युद्ध सैन्य रूपमा समाप्त भएको ट्रम्पको दाबी

२०८३ कार्तिक २४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन, २४ कात्तिक (रासस/एपी) :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध सैन्य रूपमा समाप्त भएको दाबी गर्दै तत्काल आक्रमण पुनः सुरु गर्ने आवश्यकता नरहेको बताउनुभएको छ । तर इरानले आणविक कार्यक्रमबारे अमेरिकी चासो सम्बोधन नगरे सैन्य कारबाहीका लागि तयार रहेको उहाँले स्पष्ट पार्नुभएको छ ।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीसँग सोमबार ह्वाइट हाउसमा भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानको सैन्य क्षमता र नेतृत्व कमजोर बनाइएको दाबी गर्नुभयो । युद्धको दीर्घकालीन समाधान खोजिरहेको उल्लेख गर्दै उहाँले कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेतलगायत क्षेत्रीय सहयोगी राष्ट्र पनि युद्धको वर्तमान अवस्था कायम राख्न इच्छुक रहेको बताउनुभयो ।

आठ महिनादेखि जारी युद्ध, इन्धनको मूल्यवृद्धि र विश्व अर्थतन्त्रमा परेको प्रभावप्रति अमेरिकी मतदाताको असन्तुष्टि बढिरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो । मध्यावधि निर्वाचनमा उहाँको रिपब्लिकन पार्टीले कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटिक पार्टीसँग पराजय व्यहोरेको थियो ।

ट्रम्पले इरानसँग वार्ता भइरहेको र सकारात्मक सङ्केत प्राप्त भएको दाबी गर्दै युद्ध अन्त्य हुने सम्भावना राम्रो रहेको बताउनुभयो । तर आवश्यक परे अमेरिकी सेना जुनसुकै बेला कारबाही गर्न तयार रहेको उहाँको भनाइ थियो । इरानी तेलको आपूर्ति रोक्न लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी भने जारी रहने उहाँले स्पष्ट पार्नुभयो ।

यसैबीच, कतारका अधिकारीहरूले गत साता इरानको आणविक कार्यक्रमसम्बन्धी प्रस्ताव प्रस्तुत गरेको यस विषयमा जानकार दुई मध्यपूर्वी सरकारी अधिकारीले बताएका छन् । इरानले भने वार्ताअघि बन्दरगाहमाथिको नाकाबन्दी र आर्थिक प्रतिबन्ध हटाउनुपर्ने, रोक्का गरिएको सम्पत्ति फिर्ता गर्नुपर्ने, युद्धको क्षतिपूर्ति दिनुपर्ने तथा क्षेत्रीय शत्रुता अन्त्य गर्नुपर्ने सर्त राख्दै आएको छ ।

अमेरिकी रक्षामन्त्री पीट हेग्सेथले युद्धसम्बन्धी आगामी निर्णय राष्ट्रपतिमा निर्भर रहेको बताउनुभएको छ । युद्ध सुरु गर्न कङ्ग्रेसको अनुमति नलिएको भन्दै उहाँमाथि आलोचना भइरहेको छ । केन्टकीका रिपब्लिकन सांसद थोमस मेसीले सोमबार उहाँविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउन मतदानको माग गर्नुभएको थियो ।

ट्रम्पले इरानसँग बलियो सम्झौताको प्रगति भए पुनः आक्रमणको सम्भावना कम रहेको बताउनुभएको छ । तर सैन्य कारबाही पुनः सुरु भए इरानका ३८ वटा पुलसहितका पूर्वाधारलाई निशाना बनाउने चेतावनी उहाँले दिनुभएको थियो ।

युद्ध अन्त्यको सङ्केत गरे पनि अमेरिकाले इरानमा सीमित आक्रमण जारी राखेको छ । गत साता इरानको हवाई प्रतिरक्षा प्रणालीलाई लक्षित गरी कम्तीमा दुईपटक आक्रमण गरिएको थियो । अमेरिकी नौसैनिक नाकाबन्दी तोड्न खोजेको आरोपमा शनिबार एउटा व्यापारिक जहाजमाथि गोली प्रहार गरी निष्क्रिय पारिएको अमेरिकी सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल