सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

युक्रेनलाई ड्रोन आपूर्ति गर्ने जर्मन कम्पनीमाथि साइबर आक्रमण

२०८३ कार्तिक २७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फ्रान्कफर्ट, २७ कात्तिक (रासस/एएफपी):जर्मन रक्षा सामग्री उत्पादक कम्पनी क्वान्टम सिस्टम्सले गत महिना साइबर आक्रमणको सामना गर्नुपरेको जनाएको छ । उक्त आक्रमणपछि जर्मन सेनाले सावधानीस्वरूप कम्पनीद्वारा निर्मित आफ्ना ड्रोन केही समयका लागि उडानमा प्रयोग गर्न रोक्नुपरेको थियो । यस आक्रमणमा रुसको संलग्नता रहेको आशङ्का गरिएको स्रोतहरूले शुक्रबार बताएका छन् ।

रुसविरुद्धको युद्धमा युक्रेनलाई सैन्य सामग्री आपूर्ति गर्ने युरोपेली रक्षा कम्पनीहरू पछिल्लो समय साइबर आक्रमणको निशानामा पर्दै आएका छन् ।

साइबर आक्रमणका अतिरिक्त यस्ता कम्पनीका कारखानामा विस्फोट गराइएका छन्, कार्यालयमा पेट्रोल बम प्रहार भएका छन् भने कम्पनीका उच्च अधिकारीहरू रुससँग सम्बन्धित हत्याका षड्यन्त्रको निशानामा परेका छन् ।

म्युनिखनजिकै अवस्थित क्वान्टम सिस्टम्सले टोही ड्रोन तथा अन्य मानवरहित प्रणाली उत्पादन गर्छ । कम्पनीका अनुसार अक्टोबरको अन्त्यतिर ‘शत्रुतापूर्ण समूह’ ले उसको प्रणालीमाथि साइबर आक्रमण गरेको थियो ।

कम्पनीले विज्ञप्तिमा भनेको छ, “सम्बन्धित सरकारी निकायसँगको निकट र पारदर्शी सहकार्य तथा हाम्रा सूचना प्रविधि र सुरक्षा टोलीको तत्काल प्रतिक्रियाका कारण उक्त खतरा नियन्त्रणमा लिन सफल भयौँ ।”

कम्पनीले आफ्नो प्रणालीको सञ्चालनमा कुनै जोखिम नरहेको पनि जनाएको छ । यद्यपि, घटनाबारे थप विवरण दिन अस्वीकार गरेको छ ।

यस घटनाबारे जानकार एक स्रोतले एएफपीलाई बताएअनुसार, ड्रोनको नियन्त्रण तथा उडान योजना तयार गर्ने प्रणालीका लागि अद्यावधिक सूचना पठाउने सर्भरमार्फत एउटा हानिकारक फाइल पठाइएको थियो ।

घटनाबारे जानकारी पाएपछि जर्मन सेनाले सावधानीका रूपमा क्वान्टम कम्पनीका आफ्ना ड्रोन केही समयका लागि उडानमा प्रयोग गर्न रोकेको स्रोतले जनाएको छ ।

प्रारम्भिक सङ्केतले आक्रमणमा रुसको संलग्नता रहेको देखाएको र गुप्तचर निकायहरूले अनुसन्धान गरिरहेको पनि स्रोतले बताएको छ ।

यस विषयमा टिप्पणी माग्दै गरिएको अनुरोधमा जर्मनीको रक्षा मन्त्रालयले तत्काल प्रतिक्रिया दिएन ।

युक्रेनको प्रमुख समर्थकमध्ये एक जर्मनीले आफ्नो भूमिमा रुसले साइबर आक्रमण, जासुसी तथा तोडफोडका गतिविधि सञ्चालन गरिरहेको आरोप लगाउँदै आएको छ । रुसले भने यस्ता घटनामा आफ्नो संलग्नता रहेको आरोप निरन्तर अस्वीकार गर्दै आएको छ ।

क्वान्टमले पनि उक्त साइबर आक्रमणलाई युक्रेनलाई सैन्य सामग्री आपूर्ति गर्ने आफ्नो भूमिकासँग जोडेको छ ।

कम्पनीका टोही ड्रोन युक्रेनमा प्रयोग हुँदै आएका छन् । साथै, युक्रेनी सेनाका लागि आक्रमणकारी तथा जासुसी ड्रोन उत्पादन गर्ने त्यहाँको एक नवप्रवर्तनशील कम्पनीसँग क्वान्टमको संयुक्त उद्यमसमेत छ ।

कम्पनीले भनेको छ, “युक्रेनलाई सहयोग गर्ने अग्रपङ्क्तिमा रहेका कम्पनीहरूलाई नै लक्षित गरिएको छ, किनभने हाम्रो काम ग्राहकहरूको सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल