सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी गरिँदै

२०८३ मंग्सिर २, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २ मङ्सिर : प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको छ । उहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही मङ्सिर ६ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी मन्त्रालयले तीव्र रूपमा गरिरहेको जानकारी दिनुभयो । “विषयगत रूपमा आन्तरिक तयारी तीव्र पारिएको छ, भ्रमणका विषयमा विस्तृत जानकारी मन्त्रालयले छिट्टै सार्वजनिक गर्नेछ”, प्रवक्ता क्षेत्रीले भन्नुभयो ।

भ्रमणका क्रममा दुई देशबीच कनेक्टिभिटी विस्तारमा जोड दिइनेछ । साथै विकास सहायता, पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्ध थप सुदृढ बनाउनेलगायत विषयमा छलफल हुने जनाइएको छ ।

भ्रमणमा हवाई कनेक्टिभिटी विस्तार, नेपाललाई थप हवाई प्रवेश बिन्दु उपलब्ध गराउने, रेलवे तथा सडक सञ्जाल विस्तार र ऊर्जा क्षेत्रको पूर्वाधार विकासका एजेन्डा प्राथमिकतामा रहने बुझिएको छ ।

रेलवे कनेक्टिभिटीअन्तर्गत जनकपुर–अयोध्या रेलवेको शुभारम्भ, जयनगर–जनकपुर रेलसेवालाई बर्दिबाससम्म विस्तार गर्ने, रक्सौल–काठमाडौँ रेलमार्गको सम्भावना तथा अन्य रेलवे सम्पर्क विस्तारका विषयमा सहमति हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, सडक तथा पुल निर्माण, एकीकृत जाँच चौकी (आइसीपी) निर्माण र विद्युत् प्रसारण लाइन विस्तारका विषय पनि छलफलको एजेन्डामा रहनेछन् ।

विपद्पछिको पुनर्निर्माणमा भारतीय सहयोग तथा विकास निर्माणका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा पनि भ्रमणका क्रममा छलफल हुनेछ । विशेषगरी भारतीय सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरूको समीक्षा, सम्पन्न भएका आयोजनाको उद्घाटन र हस्तान्तरण तथा निर्माणाधीन आयोजनालाई शीघ्र सम्पन्न गर्ने विषयमा छलफल हुने बताइएको छ ।

त्यसैगरी, केही नयाँ विकास आयोजना सुरु गर्ने विषयले पनि भ्रमणका क्रममा प्राथमिकता पाउने अपेक्षा गरिएको छ । भारतीय सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाको निर्माणलाई तीव्रता दिने र नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानजस्ता सम्पन्न आयोजनाको उद्घाटन तथा हस्तान्तरणको विषय पनि सम्भावित एजेन्डाको सूचीमा रहेको बुझिएको छ ।

भ्रमणका अवसरमा दुई देशबीचको पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत छलफल हुनेछ । दुई देशबीच नागरिकस्तरमा सम्बन्ध विस्तार, सीमापार भुक्तानी प्रणालीलाई थप सहज र प्रभावकारी बनाउने विषय पनि छलफलमा समेटिने सम्भावना छ ।

प्रधानमन्त्री शाहको भ्रमणको तयारीकै सिलसिलामा भारतका विदेशसचिव विक्रम मिश्रीले गत कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमण गर्नुभएको थियो । सो अवसरमा उहाँले प्रधानमन्त्री शाह र केही मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

साथै भ्रमणको पूर्वसन्ध्यामा दुवै देशले रिक्त रहेका आ–आफ्ना राजदूत नियुक्त गरिसकेका छन् भने नवनियुक्त राजदूतहरूले पनि आफ्नो स्तरमा भ्रमणको तयारी थालिसकेका सम्बन्धित दूतावासले जनाएका छन् ।

प्रधानमन्त्री शाहले गत चैत १३ गते आफ्नो जिम्मेवारी सम्हालेपछि गत असोज ६ गते संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन पहिलोपटक विदेश भ्रमण गर्नुभएको थियो ।

त्यस्तै उहाँको आसन्न भारत भ्रमण प्रधानमन्त्री भएपछि छिमेकी मुलुकको पहिलो औपचारिक भ्रमण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा आइतबार नयाँदिल्ली जादै

प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

नेपाल–नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै