सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

संसद अधिवेशन आह्वान गर्ने विषयमा छलफल भइरहेका छ : मन्त्री गौतम

२०८३ मंग्सिर २, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २ मङ्सिरः सरकारले संसद्को आगामी अधिवेशन छिट्टै आह्वान गर्ने तयारी गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अधिवेशन आह्वान गर्ने विषयमा छलफल भइरहेको र छिट्टै आह्वान गर्ने सरकारको लक्ष्य रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री वालेन्द्र शाह यसै साता भारत भ्रमणमा जाने कार्यक्रम रहेकाले पनि अधिवेशन आह्वानको समयबारे तत्कालै निश्चित गर्न नसकिएको उहाँले राससलाई बताउनुभयो ।

सरकारले आगामी अधिवेशनलाई लक्षित गर्दै कानुन संशोधन, नयाँ कानुन निर्माण तथा आवश्यक अध्यादेशबारे गृहकार्यसमेत अघि बढाएको छ ।

“संसद अधिवेशन कहिले गर्ने भन्ने विषयमा छलफल गर्दैछौँ । छिट्टै बोलाउने लक्ष्य हो । अहिले कानुनहरूको समीक्षा पनि भइरहेको छ । यो हप्तामै के–के गर्नुपर्ने हो भन्ने स्पष्ट हु्न्छ” मन्त्री गौतमले भन्नुभयो ।

यस्तै, सरकारले घोषणा गरेको ‘कानुन निर्माण तथा सुधार वर्ष’ अन्तर्गत विद्यमान कानुनको समीक्षा, नयाँ कानुन निर्माण र आवश्यक कानुन संशोधन तथा एकीकरणलाई प्राथमिकतामा राखेको छ । यसका लागि गठित सुधार समितिको प्रत्येक १५ दिनमा बैठक बस्ने गरेको र सबै मन्त्रालयबाट प्रगति विवरण प्राप्त भइरहेको मन्त्री गौतमले बताउनुभयो ।

सरकारले सम्बन्धित मन्त्रालयहरूसँगको छलफलका आधारमा एक वर्षमा १६६ वटा कानुन निर्माण तथा सुधार गर्ने लक्ष्य राखेको छ । दसैँअघि संसद्मा दर्ता भएका विधेयकहरूको प्रगति हेर्दा उक्त लक्ष्य हासिल गर्न सकिने विश्वास बढेको उहाँको भनाइ छ ।

संसद् सचिवालय तयारी अवस्थामा

संसद् अधिवेशन आह्वानको संवैधानिक प्रक्रिया सरकारको सिफारिसमा राष्ट्रपतिबाट अघि बढ्ने भए पनि संसद् सचिवालयले भने अधिवेशन सञ्चालनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सचिवालय सदन सञ्चालनका लागि सधैँ तयारी अवस्थामा रहने भए पनि नयाँ संसद् भवनको प्रतिनिधिसभा सभाकक्षमा केही प्राविधिक तयारी बाँकी रहेको  जानकारी दिनुभयो ।

प्रतिनिधिसभातर्फको सभाकक्षको भौतिक पूर्वाधार तयार भइसकेको भए पनि प्रत्यक्ष प्रसारण, अडियो–भिडियो प्रणाली र नयाँ प्रविधिसँग सम्बन्धित काम पूर्ण रूपमा सम्पन्न हुन बाँकी रहेको उहाँको भनाइ छ ।

नयाँ सभाकक्षबाट युट्युबमार्फत प्रत्यक्ष प्रसारण गर्ने तयारी भइरहेको र त्यसका लागि प्राविधिक प्रणाली परीक्षण गर्नुपर्ने उहाँले बताउनुभयो ।  नयाँ प्रविधिको प्रयोग हुने भएकाले सांसदहरूलाई त्यसबारे जानकारी दिन अभिमुखीकरणसमेत आवश्यक पर्न सक्ने उहाँको भनाइ छ ।

“अधिवेशन आह्वान भइसकेपछि पनि सचिवालयलाई दुई–चार दिन समय आवश्यक पर्ने देखिन्छ । सांसदहरूलाई नयाँ प्रविधिबारे जानकारी दिन र त्यहाँ स्थापित प्रविधिको परीक्षण गर्नुपर्ने हुन्छ, त्यसको तयारीमा हामी छौ”, गिरीले भन्नुभयो ।

संसद् सचिवालयका अनुसार हाल प्रतिनिधिसभामा सङ्घीय निजमातिसहित २४ वटा विधेयक विचाराधीन छन् । राष्ट्रिय सभाका समितिमा भने कुनै पनि विधेयक विचाराधीन छैनन् ।

संसद्को दोस्रो अधिवेशन (प्रतिनिधिसभा) र २१ औँ अधिवेशन (राष्ट्रिय सभा) का अवधिमा हालसम्म कुल १२ वटा विधेयक पारित भएका छन् ।

दोस्रो अधिवेशन अन्त्य भएको दिनदेखि हालसम्म सात वटा नयाँ विधेयक दर्ता भएका छन । तीमध्ये संशोधन विधेयकसमेत समावेश छन ।

यसरी सरकारले कानुन निर्माण तथा सुधारको गृहकार्य अघि बढाइरहेका बेला संसद् सचिवालयले भौतिक तथा प्राविधिक तयारी गरिरहेको हो ।

यसैबीच, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी संसद् अधिवेशनलाई प्रभावकारी र परिणाममुखी बनाउन संसदीय समितिहरूलाई सक्रिय बनाउने तयारी गरेको छ ।

रास्वपाका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले सदनलाई प्रभावकारी बनाउन समितिमार्फत विधेयकमाथि व्यापक छलफल र अध्ययन गरिने बताउनुभयो ।

सरकारले आगामी अधिवेशनमा कानुन निर्माण वर्षलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले सरकारले प्रस्तुत गर्ने विधेयकलाई संसद्को संसदीय समितिबाट परिमार्जन, अध्ययन र व्यापक परामर्शसहित अघि बढाइने बताउनुभयो ।

संसदीय समितिलाई प्रभावकारी बनाउँदै संसद्को कार्यतालिकालाई आधार मानेर आवश्यक परामर्श र अध्ययनपछि कानुन निर्माणको प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलगायत दलले संसद् अधिवेशन तत्काल आह्वान गर्न माग गर्दै आएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुखले तिहार र छठपछि संसद् आह्वान गर्ने विषयमा सकारात्मक धारणा राख्नुभएको उल्लेख गर्दै संसद् यथाशीघ्र बोलाउनुपर्नेमा जोड दिनुभयो ।

कानून निर्माणसँगै जनसरोकारको मुद्धा उठाउने थलो संसद भएकाले छिटो अधिवेशन बोलाउनुपर्ने उहाँको भनाई छ ।

“सरकारसँग हाम्रो कुनै संवाद छैन । संसदको बैठक छिटै राख्नुपर्ने हाम्रो माग हो”, उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा आइतबार नयाँदिल्ली जादै

प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

नेपाल–नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै