सदाबहार खबरको रफ्तार ....
मंग्सिर ७, २०८३ सोमबार
November 23, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

गौरिया धान खेती र चामलको व्यापारमा रमाएका चक्रपाणि

२०८३ मंग्सिर ७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

म्याग्दी, ७ मङ्सिरः मङ्गला गाउँपालिका–५ पीपलबोटका ६१ वर्षीय चक्रपाणि भण्डारीले यस वर्ष ७० मुरी धान फलाउनुभयो । पुख्र्यौली खेतीकिसानीलाई निरन्तरता दिनुभएका उहाँले गौरिया जातको धानबाट चामल उत्पादन गरी वार्षिक रु चार लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

भण्डारी परिवार पीपलबोट क्षेत्रमा सबैभन्दा धेरै धान उत्पादन गर्ने किसानका रूपमा परिचित छ । उहाँले बाउबाजेको पालादेखि २३ रोपनी जग्गामा गौरिया र जेठोबुढो जातको धान खेती गर्दै आउनुभएको छ । “गौरिया धानको बास्ना राम्रो आउँछ र उत्पादन पनि राम्रो हुन्छ । यस वर्ष बिक्रीका लागि ४५ मुरी गौरिया धान भकारीमा भण्डारण गरेको छु,” भण्डारीले भन्नुभयो, “घरायसी उपभोग र आफन्तलाई कोसेली पठाउन २५ मुरी जेठोबुढो धान फलाएको छु ।”

यस वर्ष उत्पादन भएको ७० मुरीमध्ये ६० मुरी आफ्नै खेतमा फलाएको र १० मुरी अधियाँमा खेती गरेर प्राप्त गरेको उहाँले बताउनुभयो । भण्डारीले धानलाई घुन र मुसाबाट जोगाउन काठको बाकस बनाएर बाहिर गोबरले टालेर सुरक्षित भण्डारण गर्नुभएको छ ।

उहाँले घरमै विद्युतीय मिलबाट धान कुटेर चामल बिक्री गर्नुहुन्छ । बेनी, पोखरा, काठमाडौँ र दरवाङसम्म गौरीया चामलको माग आउने गरेको छ । पछिल्लो समय यातायात र सञ्चार सुविधाले व्यापार गर्न सहज भएको उहाँकी बुहारी गीता सुवेदी भण्डारीले बताउनुभयो । “पहिले चामल बोकेर बजार पु¥याउनुपथ्र्यो । अहिले फोनबाटै माग आउँछ । गाडीमा पठाइदिन्छौँ र उपभोक्ताले बैङ्क खातामा पैसा जम्मा गरिदिनुहुन्छ,” उहाँले भन्नुभयो ।

भण्डारीले प्रतिपाथी गौरिया चामल रु एक हजारमा बिक्री गर्नुहुन्छ । वर्षमा ५०० पाथीसम्म चामल बिक्री हुने उहाँले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन बढेको भण्डारीले बताउनुभयो ।

स्वाद र बास्नाका कारण व्यापारी, उच्चपदस्थ कर्मचारी, सुरक्षाकर्मी, राजनीतिज्ञ तथा विशिष्ट व्यक्तिको रोजाइमा गौरिया चामल पर्ने गरेको छ । म्याग्दीको मौलिक रैथाने बालीका रूपमा परिचित गौरिया धानको मुख्य विशेषता पाक्दा आउने विशिष्ट बास्ना, स्वादिलो भात र आडिलोपन हो । मङ्गला गाउँपालिकाका छिस्वाङ, रणवाङ, पीपलबोट, सेराफाँट, कुरसिम्ला, खोप्ती, तल्लोपोक, बाबियाचौर, सिमलचौर, सातबिसे, सिम र कोत्रवाङ क्षेत्रमा यसको खेती हुँदै आएको छ ।

स्थानीय किसान छविलाल सापकोटाका अनुसार पिपलबोट र सेराफाँटका किसानले सरदर ४० मुरीसम्म धान उत्पादन गर्छन् । उहाँका अनुसार यस क्षेत्रबाट वार्षिक करिब दुई हजार ५०० मुरी गौरिया धानको चामल बिक्री हुने गरेको छ । एक मुरीमा २० पाथी हुन्छ ।

म्याग्दी नदीको तटीय क्षेत्रका गैरीखेतमा खेती हुने भएकाले यसको नाम गौरिया रहन गएको स्थानीय किसानको भनाइ छ । पछिल्लो समय खेतीयोग्य जमिन बाझिने क्रम बढिरहेका बेला भण्डारी परिवारले निरन्तर गरेको धानखेती र व्यावसायिक सफलताले अन्य किसानलाई पनि प्रोत्साहित गरेको स्थानीय शिक्षक रेशमलाल सापकोटाले बताउनुभयो ।

भण्डारीले खेतीबाट भएको आम्दानीले घरव्यवहार चलाउनुका साथै एक छोरा र दुई छोरीलाई उच्च शिक्षा प्रदान गर्नुभएको छ । विदेश नगई पुख्र्यौली पेसालाई निरन्तरता दिनुभएका उहाँले पछिल्लो समय रोपाइँ र बाली भित्र्याउने समयमा श्रमिक अभाव हुँदा खेतीको लागत बढेको र बचत घटेको बताउनुभयो । आफ्ना छोरानातिले पनि आधुनिक प्रविधिको प्रयोग गरी उर्वर जमिनको सदुपयोग गर्दै खेतीकिसानीलाई निरन्तरता दिऊन् भन्ने उहाँको चाहना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

घोप्टेभिरमा पहिरो पन्छाउन नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द

रेलमार्गले जोडिँदै राम–सीताको पवित्र सम्बन्धका दुई धाम

गण्डकी परिक्रमा महोत्सव आजदेखि

पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग

माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु

खलामा धान भर्दै स्थानीय सरकार

प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ

गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

खहरेमा पुल निर्माण सुरु

कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण