जनकपुरधाम, मङ्सिर ८ गते । मर्यादापुरुषोत्तम भगवान् श्रीरामको नगरी भारतको अयोध्याबाट माता सीताको नगरी जनकपुरधामसम्म सातामा एकदिन रेल सञ्चालन हुने भएको छ । भारत भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँ दिल्लीस्थित हैदराबाद भवनबाट हरियो झन्डा देखाएर सो रेलसेवाको शुभारम्भ गर्नुभयो ।
‘सरयु–कमला एक्सप्रेस’ नाम रहेको सो रेल मङ्गलबार बिहान जनकपुरधाम आइपुग्ने नेपाल रेलवेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले बताउनुभयो । उहाँले रेलसेवाको औपचारिक शुभारम्भपछि मङ्सिर १३ गते शनिबारदेखि सातामा एकदिन व्यावसायिक रूपमा रेल सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो ।
राम जन्मभूमि अयोध्यादेखि सीताको माइती जनकपुरधामसम्म रेलसेवा सञ्चालनले पर्यटन प्रवर्धनमा टेवा पुग्नुका साथै नेपाल–भारतबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ । रेलसेवा सञ्चालनले दुई देशका नागरिकबिच आत्मीयता र जनस्तरको सम्बन्ध विस्तारमा नयाँ आयाम थप्नुका साथै यस क्षेत्रमा आर्थिक गतिविधि चलायमान हुने अपेक्षा गरिएको छ ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले जनकपुरधामदेखि अयोध्यासम्म सञ्चालन भएको रेलसेवाले यस क्षेत्रको पर्यटन प्रवर्धनमा टेवा पुर्याउनुका साथै दुई देशबिचको सम्बन्धलाई प्रगाढ बनाउने बताउनुभयो । उहाँले रेलसेवा सञ्चालनले जनकपुरधाममा पर्यटकको सङ्ख्यामा वृद्धि हुने र यसले यहाँका विविध व्यवसाय प्रत्यक्ष रूपमा लाभान्वित हुने धारणा राख्नुभयो ।
उहाँले भारतीय रेल जनकपुरधाम आउने भएपछि पर्यटकको सङ्ख्यामा वृद्धि हुने भएकाले पर्यटकलाई यहाँ टिकाउनका लागि नेपाल सरकारले पनि पूर्वाधार निर्माणका क्षेत्रमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले नेपाल आउन खोज्दा सीमाक्षेत्रमा भारतीय पर्यटकले अहिले पनि विभिन्न किसिमका समस्या झेल्नु परेको भन्दै नेपाल प्रवेशका लागि सहज वातावरण मिलाउन सङ्घीय सरकारसँग आग्रह गर्नुभयो ।
जानकी मन्दिरका महन्तका उत्तराधिकारी रामरोशन दासले अयोध्याधामदेखि जनकपुरधामसम्म रेलसेवा सञ्चालनले मिथिला र अवधबिचको पौराणिक सम्बन्धलाई थप मजबुत बनाउने भन्दै धार्मिक यात्रा गर्ने श्रद्धालुलाई सहज हुने बताउनुभयो । उहाँले रेलसेवा सञ्चालनले पर्यटन प्रवर्धनसँगै जनकपुरधामको व्यापार व्यवसाय फस्टाउने र रोजगारी सिर्जना हुने उल्लेख गर्नुभयो ।
होटेल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले अयोध्या–जनकपुरधाम रेलसेवा सञ्चालनले जनकपुरधाम मात्र नभई मधेश प्रदेश र समग्र नेपालको पर्यटन क्षेत्रमा विकासको नयाँ आयाम थप्ने बताउनुभयो । उहाँले मधेश प्रदेशका धार्मिक तथा पर्यटकीय स्थल र काठमाडौँ, लुम्बिनी, पोखरा तथा मुक्तिनाथमा पर्यटकको आवागमन बढ्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यो रेलसेवा सञ्चालन हुन लागेकोमा यहाँका उद्योगी, व्यवसायी तथा नागरिक समाज उत्साहित छन् । यसले नेपाल–भारतबिचको परम्परागत सम्बन्धलाई थप प्रगाढ बनाउने र धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध विस्तारमा समेत सहयोग पुर्याउने छ ।”
अध्यक्ष गौतमले नेपाल सरकारले पनि मधेश प्रदेशको पर्यटनलाई प्राथमिकतामा राखेको बताउँदै पर्यटकको सम्भावित चापलाई ध्यानमा राखेर होटेल तथा पर्यटन व्यवसायीले आवश्यक तयारीसमेत गरिरहेको जानकारी दिनुभयो । उहाँले रेलसेवा सञ्चालनसँगै भारतीय पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गर्दै होटेलको क्षमता विस्तार र भएका होटेललाई थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
होटेल एसोसिएसन नेपाल मधेश प्रदेशका अध्यक्ष विजय झुनझुनवालाले अयोध्या–जनकपुरधाम रेलसेवा सञ्चालनबाट जनकपुरधामका होटेल व्यवसायीले लामो समयदेखि देख्दै आएको सपना बल्ल साकार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अयोध्या–जनकपुरधाम रेलसेवा सुरु हुनु जनकपुरधामवासीका लागि ठुलो आशीर्वाद प्राप्त भए जस्तै हो । यसले पर्यटन क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने र होटेल व्यवसायलाई समेत थप गति दिने छ ।”
उहाँले अयोध्याबाट जनकपुरधाम दर्शनका लागि आउने तीर्थयात्री तथा पर्यटकको सुविधालाई ध्यानमा राखेर यहाँका होटेल तयारी अवस्थामा रहेको जानकारी दिँदै पर्यटकको आगमनलाई प्रोत्साहित गर्न पर्यटकका लागि होटेलमा विशेष छुटको व्यवस्था गर्ने तयारीसमेत गरिएको बताउनुभयो । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले अयोध्या–जनकपुरधाम रेलसेवा सञ्चालनले जनकपुरधाम आउने पर्यटकको सङ्ख्या बढ्ने र यसले होटेल, यातायात, व्यापार तथा अन्य सेवाका व्यवसायी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जनकपुरधाममा पर्यटकलाई राख्न आवश्यक होटेल, धर्मशाला तथा अन्य सुविधा उपलब्ध छ । गोपाल धर्मशाला, पगलाबाबा धर्मशालालगायतका संस्थाले पनि पर्यटकको व्यवस्थापनमा सहयोग गर्दै आएका छन् ।” उहाँका अनुसार जनकपुरधाममा पछिल्लो समय होटेल व्यवसाय विस्तार भइरहेको छ । नयाँ होटेल सञ्चालनमा आउने क्रम बढेको र दुईतारेदेखि चारतारेस्तरसम्मका होटेल थपिँदै गएकाले पर्यटकलाई सेवा दिन यहाँको होटेल क्षेत्र सक्षम बन्दै गएको उहाँको भनाइ छ । गोरखापत्र दैनिकबाट
