काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई विकास सहकार्य प्याकेजअन्तर्गत झण्डै साढे दुई खर्ब रुपैयाँ दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणका क्रममा सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा समकक्षी मोदीले भदौ १० को भोटेकोशी-त्रिशूली बाढीपछिको पुनर्निर्माण र दीर्घकालीन विकासलाई मजबुत बनाउन दुई खर्ब ४० अर्ब रुपैयाँ सहयोग घोषणा गर्नुभएको हो । यसले प्रभावित परिवारको जीवनमा फेरि लय ल्याउने र भविष्यमा हुनसक्ने विपत्को सामना गर्न नेपालको क्षमता अझै बढ्नेसक्ने मोदीको विश्वास छ । ‘नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासलाई बलियो बनाउन २४ हजार करोड नेपाली रुपैयाँ डेभेलपमेन्ट कोअपरेसन प्याकेज घोषणा गर्दछु’, उहाँले भन्नुभयो, ‘प्रभावित परिवारको जीवनमा फेरि लय आओस् । नयाँ अवसर मिलोस् । भविष्यमा हुनसक्ने विपत्को सामना गर्न नेपालको क्षमता अझै बढोस् ।’
दुई खर्ब ४० अर्ब आर्थिक सहयोगमध्ये ५६ अर्ब अनुदान र एक खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको हो । प्याकेजमध्ये भोटेकोशी बाढीपछिको पुनर्निमाणका लागि ३५ अर्ब भारु अर्थात् ५६ अर्ब नेपाली अनुदान छुट्टयाइएको हो । भारतले बाँकी एक खर्ब १५ अर्ब भारु अर्थात् एक खर्ब ८४ रुपैयाँ लाइनअफ क्रेडिट (सहुलियतपूर्ण ऋण) अन्तर्गत दिइने विज्ञप्तिमा उल्लेख छ । नेपालले एक खर्ब भारु अनुदान र थप एक खर्ब ऋण सहयोग उपलब्ध गराउन भारतलाई अनुरोध गरेको थियो ।
सन् २०१४ मा नेपाल आएका बेला मोदीले नेपालका लागि पूर्वाधार तथा ऊर्जामा लगानी गर्न भन्दै झण्डै एक खर्ब रुपैयाँबराबर सहुलियतपूर्ण ऋण घोषणा गर्नुभएको थियो । यस्तै, सन् २०१८ मा पनि जनकपुरकेन्द्रित झण्डै एक अर्ब बराबरको सहयोग घोषणा भएको थियो । सुरुमा दुवै देशका प्रधानमन्त्रीहरूबीच ‘वान-टु-वान’ भेटवार्ता भएको थियो । त्यसपछि दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डल सहितको सामूहिक द्विपक्षीय वार्ता भएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा दुई प्रधानमन्त्रीबीच विभिन्न आठ विषयमा समझदारी भएका छन् । दुवै देशका प्रधानमन्त्रीको सम्बोधन अगाडि उनीहरूले विभिन्न विषयमा समझदारी पत्र आदानप्रदान गरेका थिए । समझदारीमा हस्ताक्षर भएका विषयमा फरेन्सिक विज्ञानमा सहकार्य, प्रहरी प्रशिक्षण, आयुर्वेद र परम्परागत चिकित्सा, सूचना प्रविधि तथा स्याटलाइट सञ्चार, स्वास्थ्य र चिकित्सा, सहरी विकास, पशुपालन र मत्स्यपालनलगायत रहेका छन् । त्यस्तै, नेपालको क्रिकेट विकासका लागि पनि सहयोग गर्ने भारतले प्रतिबद्धता जनाएको छ ।
भेट सुरु गर्नुअघि दुई शीर्ष कार्यकारीले आपसमा अंकमाल गरेका थिए । तर, भ्रमणका क्रममा चासोका साथ हेरिएको सीमा विवादबारे भने समझदारी वा सहमति भएन । सबैभन्दा मुख्य विषय सीमा विवादको हो, जसबारे प्रधानमन्त्री बालेन स्वयंले विगतमा निकै चर्कोसँग यो विषय सामाजिक सन्जालमार्फत् उठाउनुभएको थियो । मोदीसँग वार्ता र समग्र दिल्ली भ्रमणमा यो विषयले प्रवेश पाएको देखिएन । यस्तै, बहुचर्चित पञ्चेश्वर परियोजनाको कार्यान्वयनतर्फ दुवै प्रधानमन्त्रीहरूले चासो देखाएको पाइएन । बालेनले मोदीलाई नेपाल आउन निम्तो दिनुभएको छ । यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले सोमबारै भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।
भैरहवाबाट हवाई रुट दिन भारत सहमत
नेपाल र भारतबीच अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा सहमति भएको छ । सहमतिअनुसार भारतले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने छ । संयुक्त विज्ञप्तिको बुँदा नम्बर ८ मा भनिएको छ, ‘हाल एकतर्फी रहेको ‘बी३४५’ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन् । यस सम्बन्धमा मोडालिटीलाई अन्तिम रूप दिन तथा हाल छलफलमा रहेका दुवै पक्षका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ ।’ दुई देशबीचका प्रधानमन्त्रीको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा हवाई रुटबारे उल्लेख नगरिए पनि जारी संयुक्त वक्तव्यमा भारतले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने उल्लेख छ ।
नेपाललाई भैरहवा रुटको अनुमति दिएबापत भारतले पनि नेपालसँग बागडोग्रा एयरपोर्टका लागि हवाई रुट मागेको थियो । यद्यपि, यसबारे केही उल्लेख छैन । यससँगै नेपालको अन्तर्राष्ट्रिय हवाई उड्डयन क्षेत्रको एउटा महत्त्वपूर्ण कूटनीतिक अवरोध हट्ने अपेक्षा गरिएको छ ।
नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन माग गर्दै आएको थियो । विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने थप रुट आवश्यक रहेको नेपालको तर्क रहँदै आएको थियो । हाल अन्तर्राष्ट्रिय उडानका लागि सीमित प्रवेशमार्गमा निर्भर रहनुपर्दा नेपालको हवाई उड्डयन क्षेत्र प्रभावित हुँदै आएको छ ।
के-के विषयमा समझदारी भए ?
समझदारीअन्तर्गत गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ । भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच समझदारी भएको छ । भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेज मिलेर नेपाली सरकारी अधिकारीहरूलाई प्रशिक्षण दिनेछन् । दुवै देशले आयुर्वेद र उपचारका अन्य परम्परागत पद्धतिहरूमा सहकार्य गर्नेछन् । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको प्रयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने विषयमा समझदारी भएको छ । दुवै देशले दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्नेछन् । भारत र नेपालले स्वास्थ्य सेवा र चिकित्साको क्षेत्रमा मिलेर काम गर्नेछन् । दुवै देशले पशुपालन र मत्स्यपालनको विकासका लागि सहकार्य गर्नेछन् ।
तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास
प्रधानमन्त्री शाह र समकक्षी मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास गर्नुभयो । यो आयोजना नेपाल र भारतको संयुक्त लगानीमा बन्ने छ । संखुवासभा चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुने आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ छ । आयोजना निर्माणका लागि लगानी बोर्ड र भारतीय कम्पनी एसजेभिएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीबीच १८ जेठ २०८० मा परियोजना विकास सम्झौता भएको थियो । यसैगरी, बनवासा सुक्खा बन्दरगाहसमेत शिलान्यास गरिएको छ । उता, सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइन र झापामा टर्मिनलको समेत शिलान्यास गरिएको छ । मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन हस्तान्तरणसमेत दुई प्रधानमन्त्रीले गर्नुभएको छ ।
भारतले मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरेको छ । प्रधानमन्त्री शाह र समकक्षी नरेन्द्र मोदीले रिमोट थिचेर भर्चुअल रूपमा संयुक्त उद्घाटन गरेपछि भारतले नेपाललाई उक्त परियोजना हस्तान्तरण गरेको हो ।
त्यसैगरी, सिलिगुडी-झापा पेट्रोलियम अलस्टोरेज ग्रिनफिल्ड टर्मिनल पनि शिलान्यास भएको छ । करिब १२ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ (दुई अर्ब ७८ करोड भारु पाइपलाइन र पाँच अर्ब भारु टर्मिनल) प्रारम्भिक लागत अनुमानित यो आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य छ, जसले ढुवानी खर्च ४० देखि ५० प्रतिशतसम्म घटाउने इआइए प्रतिवेदनले देखाएको छ ।
नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसन (आइओसी) को साझेदारीमा अघि बढाइएका यी दुईवटै पूर्वाधार सम्पन्न भएपछि मुलुकको इन्धन ढुवानी लागत घट्नुका साथै ऊर्जा सुरक्षा र आपूर्ति प्रणालीमा आमूल सुधार आउने अपेक्षा छ ।
अयोध्या र जनकपुर जोड्ने एक्स्प्रेस रेल सेवा उद्घाटन
त्यसैगरी, भारतको अयोध्या र नेपालका जनकपुर जोड्ने सरयु-कमला एक्स्प्रेस रेल सेवा उद्घाटन गरिएको छ । यो रामायण सर्किट परियोजनाअन्तर्गत कार्यान्वयन गरिएको हो । अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र रेलका उच्च पदाधिकारीहरूले जनकपुर जाने रेलको बिदाइ गरे । यससँगै नेपाल र भारतका दुई महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक शहर प्रत्यक्ष रेल सम्पर्कमा जोडिएका छन् । भारतीय रेलवे विभागले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्या क्यान्टबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्न यसअघि नै स्वीकृति दिइसकेको थियो ।
करिब ६०४ किलोमिटर दूरीको यो सिधा रेल सेवाले दुई देशबीचको धार्मिक पर्यटन र सीमापार आवागमन अझ सहज बनाउने भारतीय रेल मन्त्रालयले जनाएको छ । भारतीय रेलवे विभागका अनुसार यो रेल सातामा एकपटक दुईतर्फी रूपमा चल्ने छ । रेलवे बोर्डको तालिकाअनुसार प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्ने छ । त्यस्तै, प्रत्येक सोमबार साँझ ५ः५० बजे अयोध्या क्यान्टबाट (रेल नं. १५५९६) छुटेर जनकपुरधाम आउने छ । ६०४ किलोमिटर लामो यस रुटमा रेल जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाम स्टेसनहरूमा रोकिने छ ।
हामीले गरेका समझदारीको प्रतिफल जनताले प्रत्यक्ष महसुस गर्न पाउनुपर्छ : बालेन
प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणका क्रममा दुई देशबीच भएका समझदारी र उद्घाटन गरिएका परियोजनाको प्रतिफल जनताले प्रत्यक्ष महसुस गर्न पाउनुपर्ने बताउनुभएको छ । समकक्षी नरेन्द्र मोदीसँग भेट भएपछि नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बालेनले समझदारी र परियोजनाको प्रतिफल किसानको खेतमा र युवाको हातमा देखिनुपर्ने बताउनुभयो । ‘हामीले गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्छ । युवाका हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ । विद्यार्थीका सपनामा नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ र उद्यमीले नयाँ बजार, लगानी तथा व्यावसायिक विस्तारका अवसरका रूपमा अनुभूत गर्न पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ’, उहाँले भन्नुभयो ।
पुर्खाले स्थापित गरेको ऐतिहासिक सम्बन्धलाई आधार बनाएर आपसी विश्वास, सहकार्य र साझा समृद्धिमार्फत नेपाल-भारत सम्बन्धलाई युगको आवश्यकताअनुरूप रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने बालेनले बताउनुभयो । नेपाल-भारत सम्बन्धको ऐतिहासिक आधारलाई अझ सुदृढ बनाउने विषयमा दुवै पक्षबीच गहन, सार्थक र दूरगामी छलफल भएको उहाँको भनाइ थियो । नेपाल-भारत सम्बन्ध भगवान् राम र माता जानकीको पावन युगदेखि ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत आधारमा जोडिएको उल्लेख गर्दै शाहले सम्बन्धलाई थप जीवन्त बनाउने उद्देश्यले अयोध्या-जनकपुर रेल सेवा शुभारम्भ गरिएको बताउनुभयो । ‘नेपाल र भारतबीचको मित्रता यस्तो होस् जहाँ विश्वास हिमालझैं अग्लो होस्, सहकार्य नदीझैं अविरल बगोस्, दुवै राष्ट्रको समृद्धि हाम्रो साझा आकाशमुनि फक्रिओस्’, उहाँले भन्नुभयो, ‘पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल-भारत सम्बन्धको मूल आधारशीला हो । अतुलनीय एवं अपरिमित यस सम्बन्धको केन्द्रमा हाम्रा दुई देशका जनताहरू रहेका छन् ।’
बालेनमा क्लियर भिजन र कमिटमेन्टको महसुस गरेको छु : मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले क्लियर भिजन र कमिटमेन्ट बोकेको नेताको रूपमा आफूले महसुस गरेको बताउनुभएको छ । नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले बालेनको प्रशंसा गर्नुभएको हो । ‘नेपालको भविष्य र भारत नेपाल सम्बन्धको लागि उनको क्लियर भिजन र कमिटमेन्टको महसुस गरेको छु’, मोदीले भन्नुभयो, ‘नेपालको जनताले जुन ऐतिहासिक जनादेश दिएको छ, त्यसले नेपालका नयाँ पिढीको आकांक्षा देखाउँछ ।’ भारत सधैँ सशक्त र समृद्ध नेपाल विकास यात्रामा सहभागी हुँदै आएको र अझै पनि सँगै अघि बढ्ने उहाँको भनाइ थियो । ‘भारत एक सशक्त र समृद्ध विकास यात्रामा सधैँ सहभागी हुँदै आएको छ । आफ्नो सम्बन्धको नयाँ उचाइका साथ अघि बढाउन महत्त्वपूर्ण निर्णय लिएका छौँ’, मोदीले भन्नुभयो ।
मोदीले शाहमा नेपालको भविष्य र भारत-नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने स्पष्ट दृष्टिकोण तथा प्रतिबद्धता देखेको बताउनुभयो । ‘केही महिनाअघि विश्वकै युवा प्रधानमन्त्रीका रूपमा उहाँले विश्व मञ्चलाई सम्बोधन गर्दा उहाँको दूरदर्शिता स्पष्ट देखिएको थियो । आजको कुराकानीमा मैले नेपालको भविष्य र भारत-नेपाल सम्बन्धका लागि उहाँको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस गरेको छु’, प्रधानमन्त्री मोदीले भन्नुभयो ।हिमालय टाइम्स
