सदाबहार खबरको रफ्तार ....
मंग्सिर ९, २०८३ बुधबार
November 25, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

व्यावसायिक खेतीबाट आत्मनिर्भर बन्दै कञ्चनपुरका किसान

२०८३ मंग्सिर ९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कञ्चनपुर, ९ मङ्सिर: अन्नबालीखेतीको तुलनामा सागसब्जीबाट बढी आम्दानी हुन थालेपछि यहाँका किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । सागसब्जीखेती, बिरुवा उत्पादन र च्याउखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि उनीहरूले यसैलाई इलम बनाएका हुन् ।

भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्काले एक कट्ठा जग्गामा रु ५०० लगानी गरेर सागसब्जीखेती सुरु गर्नुभएको थियो । पहिलो उत्पादन बिक्रीबाट रु १० हजार आम्दानी भएपछि उहाँले खेती विस्तार गर्दै लैजानुभयो। विसं २०७२ देखि व्यावसायिक रूपमा सागसब्जीखेती गर्दै आउनुभएका खड्काले अहिले तीन बिघा जग्गामा विभिन्न जातका सागसब्जी उत्पादन गर्दै आउनुभएको छ ।

धान र गहुँखेतीको तुलनामा सागसब्जीखेतीबाट तीन गुणासम्म बढी आम्दानी हुन थालेपछि यसलाई व्यावसायिक रूपमा अघि बढाएको खड्का बताउनुहुन्छ । एक कट्ठाबाट सुरु गरेको खेती विस्तार गर्दै लगेका बेला कोरोना महामारीका कारण भारतमा रोजगारीका लागि गएका उहाँका दुई छोरा घर फर्किएपछि खेतीलाई थप विस्तार गरेको उहाँले बताउनुभयो ।

सागसब्जीखेतीबाट हुने आम्दानीले घरखर्च र छोराछोरीको पढाइ खर्च धान्न सहज भएको उहाँको भनाइ छ । सागसब्जी बिक्रीबाट सबै खर्च कटाएर वार्षिक रु २५ लाखसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । यही आम्दानीबाट रु २० लाख खर्च गरेर एक छोरालाई विदेश पठाएको, घर बनाएको र खेतीका लागि तीन वटा मोटरसाइकल तथा ५० प्रतिशत अनुदानमा अटो किनेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी, भीमदत्त नगरपालिका–४ गोबरियाका दमन चन्दले रु ५० हजार लगानीमा सुरु गरेको बिरुवा उत्पादन व्यवसाय विस्तार गरी वार्षिक रु ६० लाखसम्मको कारोबार गर्ने अवस्थामा पुर्‍याउनुभएको छ । एक दशकअघि सुरु गरेको व्यवसायबाट सबै खर्च कटाएर वार्षिक रु १५ लाखसम्म बचत हुने गरेको उहाँले बताउनुभयो ।

पहिले कुटानीपिसानी मिल सञ्चालन गर्दै आउनुभएका चन्दले विद्युत् र कामदारको समस्या तथा ऋणको भार बढ्दै गएपछि नर्सरी व्यवसाय सुरु गर्नुभएको हो । अहिले उहाँले आफ्नै आधा बिघा र भाडामा लिएको डेढ बिघा जग्गामा फलफूल तथा घर सजावटका बिरुवा उत्पादन गर्दै आउनुभएको छ । उहाँको नर्सरीमा ४५ प्रकारका बिरुवा उपलब्ध छन्। प्रतिगोटा रु २०० देखि रु १० हजारसम्मका बिरुवा बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

श्रीमान् गुमाएपछि घरखर्च चलाउन अरूसँग पैसा माग्नुपर्ने अवस्था आएपछि भीमदत्त नगरपालिका–६ वनगाउँकी पार्वती थापाले पनि आत्मनिर्भर बन्न कृषि व्यवसाय रोज्नुभयो । सात वर्षअघि सामान्य जानकारीका आधारमा च्याउखेती सुरु गर्नुभएकी थापाले अहिले पाँच वटा फार्म सञ्चालन गरी वर्षभरि च्याउ उत्पादन गर्दै आउनुभएको छ ।

अरूसँग पैसा माग्नुभन्दा आफैँ काम गरेर आत्मनिर्भर बन्ने सोचले च्याउखेती सुरु गरेको उहाँले बताउनुभयो। च्याउखेतीमा भएको लगानी कटाएर करिब ५० प्रतिशत नाफा हुने गरेको उहाँको भनाइ छ । च्याउ बिक्रीबाट घरखर्च र दुई छोराको पढाइ खर्च धानिएको उहाँले बताउनुभयो । च्याउ बिक्रीबाट भएको नाफा पुन: खेतीमा लगानी गर्दै आउनुभएकी थापाले वार्षिक एक हजार ५०० केजी च्याउ बिक्रीबाट करिब रु दुई लाख आम्दानी गर्ने गरेको जानकारी दिनुभयो ।

कृषि उद्यम गर्न उमेरले छेक्दैन भन्ने उदाहरण भीमदत्त नगरपालिका–११ भुजेलाका ७५ वर्षीय अर्जुनबहादुर डाँगी हुनुहुन्छ । पूर्वप्रहरी डाँगीले २०५४ सालमा प्रहरी सहायक निरीक्षक पदबाट राजीनामा दिएर घर फर्किएपछि सागसब्जीखेती सुरु गर्नुभएको थियो ।

सुरुमा १०० ग्राम धनियाको बीउ लगाउनुभएका उहाँले पहिलो उत्पादन बिक्रीबाटै रु एक हजार २०० आम्दानी गर्नुभएको थियो । त्यसपछि धनियासँगै मौसमी तथा बेमौसमी सागसब्जीखेती विस्तार गर्दै जानुभयो। अहिले पाँच कट्ठा जग्गामा आलु, लसुन, काउली, बन्दा, रायो र धनियालगायत सागसब्जी उत्पादन गर्दै आउनुभएका डाँगीले खेतीबाट वार्षिक रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रिडी क्षेत्रमा अघि सारिएको ‘रुरु महास्नान’ को अवधारणा

हुरीबतासले प्रसारण लाइनमा क्षति पुर्याउँदा मुस्ताङमा विद्युत् अवरुद्ध

चिया बिक्री नभएपछि झाडीमा परिणत हुँदै

राजमार्ग अतिक्रमित संरचना हटाउन सुरु

हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

यस्तो छ आजको मौसम पूर्वानुमान

बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

उपत्यकामा एकै दिन ७७४ सवारीचालक कारबाहीमा

अझै सञ्चालनमा आएन निगाले सिमेन्ट

बारीमै फूलको बजार पाएपछि किसान उत्साहित