सदाबहार खबरको रफ्तार ....
मंग्सिर ९, २०८३ बुधबार
November 25, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

चिया बिक्री नभएपछि झाडीमा परिणत हुँदै

२०८३ मंग्सिर ९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धनकुटा, ९ मङ्सिरः कुनै समय धनकुटाको पाख्रीबास नगरपालिका ४ र ७ को सिमानामा पर्ने राम्चेका डाँडापाखामा चियाका हरिया बोट लहलह देखिन्यो ।

त्यसक्षेत्रका किसानले चियाबाटै आफ्नो भविष्य बदल्ने सपना देखेका थिए । अन्य बाली छाडेर चियाखेतीमा लागेका किसानले यसैबाट राम्रो आम्दानी हुने आशा गरेका थिए । तर, अहिले ती चियाका बोट किसानको बेवास्तामा परेको पाइएको छ । बजारमा बिक्री नभएपछि किसानले बगानबाट चिया टिप्नै छाडेका छन् ।

वर्षौंदेखि गोडमेल र छाँटकाँटविहीन बनेका चिया बगान अहिले झाँडीमा परिणत भएका छन् । विसं २०५५ देखि २०७२ सम्म चियाखेती विस्तार गर्नुभएका राम्चेका किसान गोविन्दबहादुर थापाले अन्य बालीभन्दा चियाबाट राम्रो आम्दानी हुने आशामा चियाखेती लगाउनुभएको थियो । तर, समय बित्दै जाँदा उहाँले सोचेअनुसार चियाको मूल्य र बजार पाउन सक्नुभएन । उत्पादन बिक्री नभएपछि खेतीमा गरेको लगानीसमेत उठाउन नसकिएको उहाँको गुनासो छ । “चिया बिक्री नभएपछि बगानको गोडमेल र छँटाइ गर्नसमेत छाडेका छौँ”, उहाँले भन्नुभयो, “मजदुर लगाएर काम गराउँदा झन खर्च बढ्छ । उत्पादनको मूल्य नै नपाएपछि बगानको हेरचाह गरेर के गर्नु ?”

स्थानीय सरकारले चिया किसानलाई आवश्यक सहयोग र बजार व्यवस्थापनमा पर्याप्त चासो नदिँदा किसान थप निरास बनेको थापाले बताउनुभयो । वर्षौंको मिहिनेत र लगानीबाट तयार भएका चियाका बोट अहिले बगानमै खेर गइरहेको थापाको भनाइ छ । यस्तो समस्या भोग्ने कृषक थापामात्रै होइन, पाख्रीबासका अर्का किसान धनबहादुर बस्नेतको समस्या पनि उस्तै छ । करिब १० रोपनी क्षेत्रफलमा चियाखेती गर्नुभएका बस्नेतले उत्पादन बिक्री नहुँदा बगानको नियमित हेरचाह गर्नसमेत सक्नुभएको छैन । तीन–चार वर्षदेखि छाँटकाँट र गोडमेल नहुँदा चियाका बोट बढेर जङ्गलजस्तै बनेका छन् ।

उत्पादन बिक्री नहुने र बगान व्यवस्थापन गर्दा थप खर्च लाग्ने भएपछि किसान दोहोरो मारमा परेका छन् । अहिले पुरानो चिया बगान हटाएर अन्य बाली लगाउने सोच बनाए पनि त्यसका लागि आवश्यक खर्च जुटाउन कठिन रहेको बस्नेतको भनाइ छ ।

पाख्रीबासकै अर्का किसान विमल राईले पनि १५ रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक चियाखेती गर्नुभएको छ । तर, उद्योगले आफूले अपेक्षा गरेअनुसारको मूल्य नदिँदा उहाँ पनि समस्यामा पर्नुभएको छ । चिया बिक्री नभएपछि करिब तीन वर्षदेखि बगानको गोडमेल र छाँटकाँट गर्न नसकेको राईले बताउनुभयो । उत्पादन भएको चियाको उचित बजार र मूल्य पाउनु मुख्य चुनौती बनेको राईले बताउनुभयो । बजार सुनिश्चित नहुँदा खेतीमा लगानी गर्ने उत्साह घट्दै गएको छ । वर्षौँसम्म हुर्काएका बोट उपयोगविहीन बन्न थालेपछि किसानको लगानी पनि खेर गइरहेको छ ।

उद्योग बन्द हुँदा रोजगारी र आम्दानीमा असर

स्थानीय किसानले उत्पादन गरेको चिया प्रशोधन र बजारीकरण गर्ने उद्देश्यले पाख्रीबास नगरपालिका ४ र ७ को सिमानामा राम्चे अग्र्यानिक चिया उत्पादक सहकारी संस्थाले केही वर्षअघिसम्म उद्योग सञ्चालन गर्दै आएको थियो । उक्त उद्योगमा स्थानीय किसानले चिया बिक्री गर्दै आएका थिए । उद्योगमा किसानले उत्पादन गरेको चियाबाट ग्रिन टी, ब्ल्याक टी र ह्वाइट टीलगायतका विशेष प्रकारका चिया उत्पादन गरिँदै आएको थियो । स्थानीय उत्पादनलाई प्रशोधन गरेर बजारसम्म पुर्याउने कामले किसानमा चियाखेतीप्रति उत्साह पनि बढाएको थियो ।

उद्योग सञ्चालनमा विद्युत् सेवा नपुग्दा लामो समयसम्म जेनेरेटरको भर पर्नुपर्यो । डिजेल र पेट्रोलको मूल्य बढ्दै गएपछि उद्योगले सञ्चालन खर्च धान्न नसकेर बन्द भएपछि त्यसको प्रत्यक्ष असर स्थानीय चिया किसानमा परेको छ । उद्योग बन्द भएपछि किसानले उत्पादन गरेको चिया खरिद गर्ने भरपर्दो ठाउँ नै नपाएपछि किसानले चिया बिक्री गर्न पाएका छैनन् । त्यसयता चिया बगानको नियमित हेरचाहदेखि उत्पादन बिक्रीसम्मका समस्या बढ्दै गएको किसानको भनाइ छ ।

अन्य बाली छाडेर चियाखेतीमा भविष्य खोजेका किसान अहिले बोट हेर्दै निरास हुनुपर्ने अवस्थामा पुगेका छन् । चिया उद्योग सञ्चालनका लागि पाख्रिबास नगरपालिकाले पहल नगरेको किसानको गुनासो छ । नगरपालिकामा उद्योग सञ्चालनका लागि माग आएको भए पनि बजेट अभावका कारण केही गर्न नसकेको पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गरुङले बताउनुभयो । उहाँले किसानले ठूलो बजेट माग गर्ने तर, नगरपालिकासँग सानो सहयोग गर्ने अवस्था पनि नरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रिडी क्षेत्रमा अघि सारिएको ‘रुरु महास्नान’ को अवधारणा

हुरीबतासले प्रसारण लाइनमा क्षति पुर्याउँदा मुस्ताङमा विद्युत् अवरुद्ध

राजमार्ग अतिक्रमित संरचना हटाउन सुरु

व्यावसायिक खेतीबाट आत्मनिर्भर बन्दै कञ्चनपुरका किसान

हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

यस्तो छ आजको मौसम पूर्वानुमान

बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

उपत्यकामा एकै दिन ७७४ सवारीचालक कारबाहीमा

अझै सञ्चालनमा आएन निगाले सिमेन्ट

बारीमै फूलको बजार पाएपछि किसान उत्साहित