काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी बन्दै गएको भन्दै उनलाई सच्याउन मंसिर १४ गतेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन नेताहरूले आह्वान गरेका छन्।
धरान उपमहानगरपालिकाको मेयर पदको उपनिर्वाचन लक्षित मंगलबार धरानमा आयोभिामा कांग्रेसका नेताहरूले मतदातासँग यस्तो आह्वान गरेका हुन् ।
नेताहरूले उपनिर्वाचनको हारजितले केन्द्रीय सत्ता परिर्वतन नभए पनि प्रधानमन्त्री र सरकारलाई गलत दिशामा अघि बढ्नबाट अंकुश लाग्ने उनीहरूले बताए । कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकार आएपछि देशमा जनताले महँगी, भ्रष्टाचार र करवृद्धिको मार खेपिरहेकोले त्यसको जवाफ यो उपनिर्वाचनबाट दिन आग्रह गरे।
अर्को प्रसंगमा सभापति देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद कालापानी मुद्दामा आएर लम्पसारवादमा परिणत भएको आरोप लगाए । कालापानीलाई नेपाल र भारतको सिमाना मानेको र पानी पनि आधाआधा बाँड्ने सहमति भएको उल्लेख गर्दै उनले भने, ‘भारतले अहिलेसम्म सुस्ता र कालापानी क्षेत्रलाई विवादास्पद भूमि मान्दै आएको थियो, उसले आफ्नो भूमि भनेको थिएन। तर अहिले त नक्सा नै बनायो, यो सरकारले केही गर्न सकेको छैन। ओलीको राष्ट्रवाद लम्पसारवाद भइसक्यो।’
देउवाले कालापानी, सुस्तालगायत भूमि नेपालकै भएको दाबी गर्दै यो विषयमा आफू निरन्तर बोल्ने पनि बताए। साथै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शाही आयोग जस्तो बनाउन खोजेर यो सरकारले ब्ल्याकमेल गरिरहेको आरोप लगाए। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।
