काठमाण्डौः १५ मंसिरमा औपचारिक उद्घाटन हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालको नेतृत्वमा साँढे १९ हजार सुरक्षाकर्मी परिचालित हुँदैछन् । भित्री घेरामा प्रहरी र बाहिरी घेरामा सशस्त्र र सेना परिचालन हुनेछ । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले सुरक्षामा आइपर्ने खतराको सम्बन्धमा सूचना संकलन र विश्लेषण गर्नेछ ।
काठमाडौं र ललितपुरमा हुने प्रतियोगिता, खेलाडी, खेलमैदान र होटेलहरूको सुरक्षा प्रबन्ध आइजिपी खनालको प्रत्यक्ष कमान्डमा हुनेछ । जनकपुरमा हुने खेलको प्रदेश २ प्रहरी प्रमुख डिआइजी प्रद्युम्न कार्की र पोखरामा गण्डकी प्रहरी प्रमुख डिआइजी विनोद शर्मा घिमिरेले सुरक्षा नेतृत्व गर्नेछन् ।
सशस्त्रका आइजिपी शैलेन्द्र खनालको नेतृत्वमा भने समारोह व्यवस्था समिति गठन गरिएको छ । उद्घाटन समारोहमा झाँकी प्रदर्शन लगायतको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
