सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

पहिचान खुल्ने डरले एचआइभी सङ्क्रमित टाढाको अस्पताल पुगेर सेवा लिन्छन्

२०८३ असार १४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

टीकापुर (कैलाली), १४ असारः एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक व्यवहार नभएकाले औषधोपचार गर्दा टाढाको अस्पतालमा गएर सेवा लिने गरेका छन् । सङ्क्रमित भनेपछि समाजले अझै हेलाको दृष्टिले हेर्ने भएकाले आफू बसेको भन्दा टाढा रहेका एआरटी सेन्टरमा गएर उपचार सेवा लिने गरेको उनीहरु बताउँछन् ।

लम्कीचुहाकी ७१ वर्षीया एक महिला सधैँ औषधिका लागि टीकापुर अस्पताल आउनुहुन्छ । लम्कीचुहा अस्पतालमा पनि एआरटी सेन्टर सञ्चालनमा छ तर त्यहाँ गए समाजमा पहिचान खुल्ने भएकाले टीकापुर आउने गरेको उहाँ बताउनुहुन्छ । “श्रीमान् एचआइभीकै कारण बित्नुभयो, मलाई त केही भएको छैन भनेकी छु”, उहाँ भन्नुहुन्छ, “थाहा पाएमा समाजले सरसापटी पनि गर्दैनन्, त्यसैले आफन्तको घर जाँदैछु भनेर टीकापुर अस्पतालमा आएर सेवा लिन्छु ।”

टीकापुर अस्पतालमा लम्कीचुहा नगरपालिकाका मात्रै १६२ एचआइभी सङ्क्रमित उपचारका लागि आउने गरेका छन् । टीकापुर अस्पतालमा सञ्चालनमा रहेको एआरटी सेन्टरबाट ५३१ एचआइभी सङ्क्रमितले सेवा लिइरहेका छन् । अस्पतालबाट एआरटी सेवा लिने एचआइभी सङ्क्रमितमा २०७ पुरुष, ३०४ महिला, ११ लैङ्गिक अल्पसङ्ख्यक र नौ जना बालबालिका छन् । अघिल्लो वर्षसम्म यो सङ्ख्या नौ सयसम्म थियो । बसाइँसराइ तथा अन्य पालिकामा पनि एआरटी सेन्टर खुलेपछि केही बिरामी अर्को पालिकाबाट औषधि सेवन गर्न थालेका छन् ।

सेन्टरमा कैलालीका नौ पालिका, बर्दिया र सुर्खेतका बिरामीले सेवा लिने गरेका छन् । यहाँबाट सेवा लिने टीकापुरका १३९ जना छन् भने अरु बिरामी अन्य पालिकाका हुन् । एचआइभी सङ्क्रमितलाई अझै समाजमा सम्मानजनक व्यवहार नभएकाले धेरैले लुकेर उपचार सेवा लिने गरेको अस्पतालमा कार्यरत एड्स हेल्थ केयर फाउन्डेसन नेपाल (एएचएफ) नेपालले जनाएको छ ।

टीकापुर अस्पतालमा सेवा लिन आउने एचआइभी सङ्क्रमित पहिचान खुल्ने डरले अन्य पालिकाका धेरै आउने गरेका छन् भने टीकापुरका केही बिरामी अन्य पालिका धनगढी, लम्कीचुहा गएर सेवा लिने गेका छन् । टीकापुरमा एड्स हेल्थ केयर फाउन्डेसन नेपालद्वारा सञ्चालित सेन्टरले सन् २०१२ देखि काम गरिरहेको छ । संस्थाले एचआइभी एड्स निदान, उपचार र हेरचाहमा सघाउँदै आएको एएचएफ नेपालका काउन्सिलर मीनबहादुर बोहरा बताउनुहुन्छ ।

“चालु आर्थिक वर्षमा संस्थाले उपचारका लागि अन्यन्त्र जानुपर्दा समस्या भएका ८३५ जनालाई यातायात खर्च सघाएको छ”, उहाँ भन्नहुन्छ, “३१६ जनालाई अस्पतालमा उपचार गर्न आउँदा पोषण सहयोगमार्फत खाना खुवाएको, स्वास्थ्य बिमामा नपाइने औषधि खरिद गर्नुपर्ने समस्या भएका २०१ जनालाई उपचार खरिदमा सघाएको, १२ बिरामीलाई आकस्मिक उपचारका लागि सघाएका छौँ ।”

यसका साथै एचआइभी सङ्क्रमित सबैलाई स्वास्थ्य बिमामा आबद्ध गराउन सहयोग गर्ने गरेको छ । संस्थाले बिरामीले नियमति औषध सेवन गरे÷नगरेको निगरानी गर्ने, भाइरल लोड नियमित परीक्षणमा सघाउने गरेको छ । पालिकाअनुसार तथ्याङ्क हेर्दा टीकापुरका १३९, जानकीमा ८१, लम्कीचुहामा १६२, बर्दगोरियामा ५२, जोशीपुरमा ३३, भजनीमा १८, घोडाघोडीमा १८, मोहन्यालमा ४४, धनगढीका एक, बर्दियाका नौ, सुर्खेतका एक एचआइभी सङ्क्रमितले यहाँबाट सेवा लिने गरेका बोहराले जानकारी दिनुभयो ।

एचआइभी सङ्क्रमितलाई पोषणको समस्या, नियमित आम्दानीमा समस्या भइरहेको छ । टीकापुर र लम्कीचुहालगायतका केही पालिकाले पोषण सहयोग गरेपछि केही राहत भएको बिरामी बताउँछन् । मोहन्याल गाउँपालिकाकी ६८ वर्षीया अर्की महिला श्रीमान् बितेपछि घरमा कमाउने कोही नभएको, जग्गाजमिन पनि नभएकाले आफूलाई दैनिक गुजारा चलाउनै समस्या भएको बताउनुहुन्छ ।

“पेट भर्नकै लागि समस्या छ । एउटा छोरी थिइन् विवाह गरेर गइन्”, उहाँ भन्नुहुन्छ, “मलाई हेर्ने कोही छैन, सरकारले दिएको सामाजिक सुरक्षा भत्ताले पुग्दैन, पोषणका लागि पनि मासिक सहयोग पाएको भए हुने थियो ।”

इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तारानाथ पनेरु एचआइभी सङ्क्रमितको उपचार र हकहितका लागि अस्पतालमा रहेको एआरटी सेन्टरले राम्रो काम गरिरहेको बताउनुहुन्छ । “अझै समुदायमा रोग निदानका लागि काम गर्नुपर्ने र उपचारमा ल्याउन स्थानीय पालिकाले सघाउनुपर्छ”, पनेरु भन्नुहुन्छ, “उनीहरूका समस्या समाधानका लागि स्थानीय सरकार, सङ्घसंस्था र सरोकारवाला सबैको समन्वय र सहयोग आवश्यक छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह