सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

२०८३ कार्तिक ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

अर्घाखाँची, ५ कात्तिकः सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ, ‘मोबाइलमा झुण्डिने युवा बिग्रिन्छन् ।’ फेसबुक, टिकटक र युट्युबले युवाको समय खेर फाल्छन्, पढाइ बिगार्छन् र उहाँहरूलाई वास्तविक जीवनबाट टाढा लैजान्छन् भन्ने भाष्य पनि उत्तिकै सुनिन्छ । तर यही सामाजिक सञ्जाल कसैका लागि समय कटाउने माध्यम मात्र होइन, सीप, पहिचान, रोजगारी र आम्दानीको बलियो आधार बन्न सक्छ भन्ने उदाहरण बनेका छन् अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ घोचेखोलाका युवा नेत्रप्रसाद भुसाल ।

भुसाल आज केवल सामाजिक सञ्जालमा चर्चित अनुहार होइनन् । युट्युब, फेसबुक र टिकटकलाई आफ्नो कर्मथलो बनाएका उहाँले यही माध्यमबाट राम्रो आम्दानीसँगै देश–विदेशमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । टिकटकमा उहाँलाई चिन्ने ‘टिकटक स्टार नेत्र भुसाल’ भनेर चिनाउँछन् । युट्युबमा उहाँका लाखौँ ‘सब्सक्राइबर’ छन् भने फेसबुकमा दुई लाख ५० हजारभन्दा बढी फलोअर रहेको उहाँ बताउनुहुन्छ । टिकटकमा भने करिब २० लाख ‘फलोअर’ छन् । सामाजिक सञ्जालमा बनाएको यही ठूलो दर्शक सञ्जाल अहिले उहाँको आर्थिक सफलताको आधार बनेको छ ।

किशोरावस्थामै बाबुको निधन भएपछि उहाँको परिवारमा आर्थिक सङ्कट थपियो । बाबुको मृत्यु भएपछि घरको जिम्मेवारी र भविष्यको चिन्ताले नेत्रलाई पनि छोयो । पढाइ कसरी अघि बढाउने ? भाइबहिनीको शिक्षालाई कसरी निरन्तरता दिने ? परिवारको आर्थिक अवस्था कसरी सुधार्ने ? यस्ता प्रश्न उहाँका अगाडि उभिए तर समस्याले उहाँलाई रोक्न सकेन ।

एसइई दिएपछि पाएको करिब तीन महिनाको समयलाई सदुपयोग गर्दै उहाँले युट्युब च्यानल सुरु गर्नुभयो । अरूले मनोरञ्जनका रूपमा प्रयोग गरिरहेको इन्टरनेट र सामाजिक सञ्जाललाई उहाँले सम्भावनाको रूपमा हेर्न थाल्नुभयो । ‘सामाजिक सञ्जालबाट पनि आम्दानी गर्न सकिन्छ’ भन्ने कुरा बुझेपछि उहाँ त्यसतर्फ अझै गम्भीर भएर लाग्नुभयो ।

सामाजिक सञ्जालमा नेत्रको यात्रा टिकटकबाट मात्र सुरु भएको होइन । उहाँ सुरुमा युट्युबमा टेकसम्बन्धी सामग्री र ब्लगिङ गर्न थाल्नुभयो । युट्युबका विभिन्न क्रियटरबाट प्रभावित भएर उहाँले टेक र ब्लगिङ च्यानल सुरु गरेको बताउनुहुन्छ । सुरुआती दिनमा दर्शक कम थिए, मिहेनतअनुसारको परिणाम पनि तत्काल देखिएन तर पनि उहाँले निरन्तरता दिन छाड्नुभएन ।

युट्युब च्यानल ‘मनिटाइज’ भएपछि पहिलोपटक आम्दानी हात पर्दा आफू निकै खुसी भएको उहाँ सम्झनुहुन्छ । त्यसपछि सामाजिक सञ्जाललाई केवल रुचिको विषय नभई व्यावसायिक सम्भावनाको क्षेत्रका रूपमा बुझ्न थाल्नुभयो । फेसबुकमा पनि सक्रियता बढाउनुभयो । त्यसपछि टिकटकमा प्रवेश गर्नुभयोे । छोटा भिडियो, लाइभ स्ट्रिमिङ र दर्शकसँगको प्रत्यक्ष संवादले उहाँको लोकप्रियता विस्तारै बढाउँदै लग्यो ।

सन् २०१९ बाट उहाँले टिकटकमा नियमित लाइभ बस्न थाल्नुभयो । सुरुमा प्रयोगका रूपमा सुरु भएको लाइभ स्ट्रिमिङपछि उहाँको आम्दानीको महत्वपूर्ण माध्यम बन्यो । टिकटक लाइभमा दर्शकले पठाउने डिजिटल गिफ्ट नै आफ्नो मुख्य आम्दानीको स्रोत रहेको नेत्र बताउनुहुन्छ ।

उहाँका अनुसार अहिले मासिक रूपमा करिब पाँचदेखि छ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ । अहिलेसम्म सामाजिक सञ्जालबाट करिब सात करोड रुपैयाँको हाराहारीमा आम्दानी गरेको उहाँको दाबी छ । “लाइभमा बसेर दर्शकसँग जोडिन्छु । दर्शकले दिने गिफ्ट नै मेरो मुख्य आम्दानीको स्रोत हो,” उहाँ भन्नुहुन्छ, “सामाजिक सञ्जाललाई सही ढङ्गले प्रयोग गर्न सक्ने हो भने यसबाट राम्रो आम्दानी गर्न सकिन्छ ।” दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म गरी करिब चार घण्टा उहाँ टिकटक लाइभमा बस्ने गर्नुहुन्छ । नियमित लाइभ होस्टिङका कारण उहाँ टिकटकको लोकप्रिय ‘लाइभ होस्ट’का रूपमा स्थापित हुनुभएको छ ।

कुनै समय परिवारको आर्थिक अवस्था कसरी सुधार गर्ने भन्ने चिन्तामा रहेका नेत्र अहिले आफ्नै कमाइबाट भौतिक रूपमा पनि स्थापित हुनुभएको छ । सन्धिखर्कमा आकर्षक डिजाइनको घर निर्माण गरेका उहाँले आवतजावतका लागि गाडीसमेत किन्नुभएको छ । केही महिनाअघि काठमाडौंको बुढानीलकण्ठमा करिब चार करोड रुपैयाँमा घर खरिद गरेको पनि उहाँ बताउनुहुन्छ तर उहाँ आफ्नो सफलतालाई घर, गाडी र पैसामा मात्र सीमित गर्न चाहनुहुन्न ।

उहाँका लागि सामाजिक सञ्जालले आर्थिक आम्दानीसँगै नाम, सम्मान र पहिचान पनि दिएको छ । “सोसल मिडियाले पैसा मात्र दिएको छैन, इज्जत, सम्मान र नाम पनि दिएको छ,” उहाँ भन्नुहुन्छ, “देश तथा विदेशमा करोडौँ दर्शकसँग जोडिन पाएको छु । त्यसैले यसलाई अझै निरन्तरता दिनेछु ।”

नेत्रले सामाजिक सञ्जालबाट प्राप्त आम्दानीलाई व्यक्तिगत जीवनमा मात्र प्रयोग गर्नुभएको छैन, विभिन्न सामाजिक तथा मानवीय काममा सहयोग गर्दै आउनु भएको छ । दीनदुःखी, बिरामी तथा समस्यामा परेका व्यक्तिलाई सहयोग गर्दै आउनुभएका उहाँले हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारका लागि करिब १३ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्नुभएको थियो । सामाजिक सञ्जालबाट कमाएको पैसाको केही हिस्सा सामाजिक सेवामा लगाउन पाउँदा आफूलाई थप सन्तुष्टि मिल्ने उहाँ बताउनुहुन्छ । नेत्रको परिचय टिकटक लाइभ होस्टमा मात्र सीमित छैन, उहाँले विभिन्न गीतका म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ ।

युट्युबबाट सुरु भएको उहाँको डिजिटल यात्रा अहिले विभिन्न सामाजिक सञ्जालका फरक–फरक प्लेटफर्मसम्म फैलिएको छ । युट्युबमा ब्लगिङ र टेक सामग्री, फेसबुकमा विभिन्न सामग्री तथा टिकटकमा छोटा भिडियो र लाइभमार्फत उहाँले फरक–फरक दर्शकसँग सम्बन्ध स्थापित गर्नुभएको छ । यसले उहाँलाई एउटा प्लेटफर्ममा निर्भर नभई डिजिटल दुनियाँका विभिन्न माध्यममा स्थापित हुन सहयोग गरेको छ ।

सामाजिक सञ्जालको दुरुपयोगले समस्या निम्त्याउन सक्छ तर त्यसैलाई सिर्जनात्मक र व्यावसायिक रूपमा प्रयोग गर्ने हो भने यही माध्यम अवसरको ढोका बन्न सक्छ भन्ने नेत्रको जीवनले देखाएको छ । उहाँको सफलताले सामाजिक सञ्जाललाई लिएर समाजमा रहेको नकारात्मक बुझाइलाई एउटा प्रश्नसमेत गरेको छ, दोष सामाजिक सञ्जालमा हो कि त्यसको प्रयोग गर्ने तरिकामा ?

नेत्रको अनुभवमा सामाजिक सञ्जाललाई समय बिताउने साधनका रूपमा मात्र होइन, सिक्ने, सिर्जना गर्ने, दर्शकसँग जोडिने र आम्दानी गर्ने माध्यमका रूपमा प्रयोग गर्न सकिन्छ । आज उहाँको मोबाइलको स्क्रिनमा देखिने लाखौँ दर्शक केवल संख्या होइनन् । ती दर्शक उहाँको वर्षौँको मिहेनत, निरन्तरता र डिजिटल यात्राका साक्षी हुन् ।

अर्घाखाँचीको एउटा सामान्य परिवारबाट डिजिटल दुनियाँमा उदाएका नेत्र भुसालको कथा अहिलेका युवाका लागि एउटा सन्देश पनि हो, सामाजिक सञ्जालमा कति समय बिताइयो भन्नेभन्दा त्यसलाई कसरी प्रयोग गरियो भन्ने कुराले भविष्य निर्धारण गर्न सक्छ ।

मोबाइलको स्क्रिनमा औँला चलाएर सुरु भएको उहाँको यात्रा आज घर, गाडी, करोडौँको आम्दानी र सामाजिक पहिचानसम्म पुगेको छ । त्यसैले सामाजिक सञ्जाल युवालाई बिगार्ने माध्यम मात्र हो भन्ने भाष्यका बीच नेत्रको कथा एउटा फरक उदाहरण बनेको छ, सही सोच, निरन्तर मेहनत र सिर्जनात्मक प्रयोग भयो भने सामाजिक सञ्जाल पनि भविष्य निर्माण गर्ने माध्यम बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना

नेपाल टेलिकमले ३० एमबीपीएस फाइबर र मेस एपी अफरको अवधि थप्यो

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

सूचना प्रविधि प्रयोगशाला

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’