सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कर तिर्नेलाई सम्मान, लगानीकर्तालाई अन्योल

२०८३ मंग्सिर २, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ —  भाटभटेनी सुपरमार्केटका लागि गत वर्षको भदौ एउटा असाधारण परीक्षा थियो । सडकमा जेन–जी पुस्ताको प्रदर्शन भइरहेको थियो । देशको राजनीतिक भविष्य अनिश्चित थियो । त्यसैबीच भाटभटेनीका स्टोरहरू आगजनी र तोडफोडको निसानामा परे । १२ वटा स्टोर पूर्ण रूपमा क्षतिग्रस्त भए ।

उक्त प्रदर्शनमा भाटभटेनीको ११ अर्ब रुपैयाँ बराबरको सम्पत्ति क्षति भयो र ५ हजारभन्दा बढी कर्मचारीको काम प्रभावित भयो । तैपनि संस्थाले एक जना कर्मचारीलाई पनि निकालेन । क्षतिग्रस्त सुपरस्टोर पुनर्निर्माण गरिरहँदा पनि कर्मचारीलाई तलबभत्ता दिइनै रह्यो । आजको दिनसम्म आइपुग्दा भाटभटेनीका १२ स्टोरमध्ये १० फेरि सञ्चालनमा आइसकेका छन् । आउँदो पुससम्म हेटौंडा र दमकका सुपरस्टोर पुनः सञ्चालन गर्ने तयारी छ । पुनर्निर्माणमा मात्रै करिब १५ अर्ब लाग्ने संस्थाको अनुमान छ । पहिलेभन्दा भवनहरू अत्याधुनिक बनाइएकाले निर्माण लागत बढेको भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलले बताए ।

त्यही भाटभटेनी सुपरमार्केटलाई ‘राष्ट्रिय कर दिवस २०८३’ को अवसरमा मंगलबार सरकारले ‘एक्सेप्सनल बिजनेस रेजिलियन्स’ सम्मान दिएको छ । ‘विधागत रूपमा हामी धेरै वर्षदेखि नम्बर वान नै छौं । अब देशकै नम्बर वान करदाता बन्ने हाम्रो उद्देश्य हो,’ भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत पौडेलले भने ।

उनका अनुसार भाटभटेनीले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४ करोड ६१ लाख रुपैयाँ कुल कर तिरेको थियो । यो संस्थाले करिब १० हजार जनालाई रोजगारी दिएको छ ।

सरकारले सबैभन्दा बढी कर तिरेको आधारमा नभई प्रतिकूल परिस्थितिका बाबजुद व्यवसाय टिकाइराखेको भन्दै भाटभटेनीलाई सम्मान गरेको हो । यो सम्मानले एउटा गम्भीर प्रश्न उठाएको छ । नेपालमा व्यवसाय चलाउनु भनेको बजारमा प्रतिस्पर्धा गर्नु र नाफा कमाउनु मात्र हो कि राजनीतिक अस्थिरता, नीतिगत अनिश्चितता र सम्पत्तिको सुरक्षासम्बन्धी जोखिमसँग पनि निरन्तर जुध्नु हो ?

मंगलबार ‘राष्ट्रिय कर दिवस तथा कर सप्ताह’ का अवसरमा आन्तरिक राजस्व विभागले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गर्दा यो प्रश्न अझ सान्दर्भिक बनेको छ । विभागले आव २०८१/८२ मा सबैभन्दा बढी आयकर तिरेको भन्दै निकायतर्फ सूर्य नेपाल र व्यक्तिगत आयकरतर्फ राजबहादुर शाहलाई सम्मान गरेको छ । बैंकिङ, रेमिट्यान्स, ऊर्जा, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रका कम्पनी पनि सम्मानित भए ।

सम्मानित संस्थाहरूको व्यवसाय फरक भए पनि उनीहरूलाई जोड्ने साझा विषय औपचारिक अर्थतन्त्रका हिस्सा हुनु हो । तर कर तिर्ने क्षमता र लगानी गर्ने आत्मविश्वास एउटै कुरा होइनन् । लामो समयदेखि निजी लगानीको गति अपेक्षाअनुसार बढ्न सकेको छैन । करदाता सम्मान कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले लगानीका लागि आर्थिक सूचकहरू अनुकूल रहे पनि लगानी बढ्न नसकेको बताए । मुलुकमा ७ देखि १० प्रतिशतसम्मको आर्थिक वृद्धिदर धान्ने करिब ३० अर्ब डलर बराबरको विदेशी मुद्रा सञ्चिति रहेको उनको भनाइ छ ।

‘ब्याजदर कम र स्थिर छ, तरलता पर्याप्त छ, मुद्रास्फीति नियन्त्रणमा छ र उच्च आर्थिक वृद्धि धान्ने विदेशी मुद्रा सञ्चिति पनि छ,’ अर्थमन्त्री वाग्लेले भने, ‘यति अनुकूल माहोल हुँदाहुँदै पनि किन लगानीको मात्रा बढाउन सकिरहेका छैनौं भन्ने विषयमा सामूहिक मन्थन आवश्यक छ ।’

तर उद्योगीहरू बजारको अनिश्चितता, प्रशासनिक झन्झट, नीतिगत परिवर्तन, उच्च लागत र कमजोर पूर्वाधारको गुनासो गर्छन् । सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्र चुनौतीपूर्ण घडीमा रहेको भन्दै करका दरहरू पुनरावलोकन गर्न जोड दिए । दक्षिण एसियाकै तुलनामा नेपालमा करको दर उच्च रहेको र त्यसले व्यवसायीहरूलाई थप आर्थिक भार पारेको उनको भनाइ थियो । सम्मानित कम्पनीमध्ये सूर्य नेपाल र आईएमई समूहका प्रतिनिधिले पनि यही कुरा दोहोर्‍याए ।

नयाँ लगानीकर्ताका लागि यी समस्या व्यवसायको लागत मात्र होइन, लगानी गर्ने वा नगर्ने निर्णयलाई प्रभावित गर्ने जोखिम पनि हुन् । यही कोणबाट हेर्दा कर दिवसको सम्मानित सूचीले नेपालको निजी क्षेत्र कति विविध छ र त्यसलाई विस्तार गर्न राज्यले कस्तो वातावरण बनाउनुपर्छ भन्ने प्रश्न अघि सार्छ ।

सूर्य नेपाल प्रालि निजी क्षेत्रका औद्योगिक तथा बहुराष्ट्रिय लगानीमा सञ्चालित ठूला कम्पनीमध्ये एक हो । सन् १९८६ देखि सञ्चालनमा रहेको यो कम्पनी मुख्यतः चुरोट उत्पादकका रूपमा चिनिए पनि बिस्कुट, अगरबत्ती र कन्फेक्सनरी व्यवसायमा पनि छ ।

लगानीसम्बन्धी कतिपय विद्यमान नियम कानुनहरू लगानीमैत्री नभएको, दोहोरो अर्थ लाग्नेलगायत अवस्थामा रहेकाले त्यसलाई संशोधन गर्न निजी क्षेत्रले पटकपटक आग्रह गरे पनि सरकारी पक्षबाट खासै सुनुवाइ नभएको सूर्य नेपालका उपाध्यक्ष रवि केसीले बताए । ‘सरकारले नीतिगत काम पनि गरिरहेको छ, तर त्यो पर्याप्त छैन, अहिलेको अवस्थामा नेपालमा स्वदेशी तथा विदेशी लगानी बढाउन व्यापक रूपमा नीतिगत सुधार गर्नुपर्छ,’ उनले भने, ‘यद्यपि दक्षिण एसियामै उच्च कर हुँदा पनि हामी सधैं सरकारको साथमा छौं ।’कान्तिपुर दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य

आरोहण प्रभावित हुँदा राजस्वबारे अन्योल

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

एमालेको विशेष संकल्प : लोकतन्त्रको पुनर्बहालीदेखि पार्टी शुद्धीकरणसम्म

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

ट्रम्प, सी र पुटिनबिच आज शिखर वार्ता हुँदै

दानबहादुरको मुद्दालाई अग्राधिकार

स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना

बैंकमा पैसा थुप्रियो, मुद्दती निक्षेप घट्यो

शिक्षकको क्षमता विस्तार पढाउन जानुअघि तीन महिनाको तालिम अनिवार्य

स्थानीय तहका प्रवक्ता नै सूचनाबारे बेखबर