काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तह चुनाव केन्द्रित १३ बुँदे निर्वाचन तयारीसम्बन्धी कार्ययोजना प्रस्ताव गरेको छ । एमालेले पार्टीलाई बलियो, व्यवस्थित र जनमुखी शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित केन्द्रीय तहदेखि टोल तहसम्मै संगठन परिचालन गर्ने योजना अघि सारिएको हो । काठमाडौंमा बुधबारदेखि सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलामा पार्टी महासचिव शंकर पोखरेलले पेस गरेको प्रस्तावित कार्ययोजनामा निर्वाचनमा पार्टीका उम्मेदवारको विजय सुनिश्चित गर्ने र जनविश्वास पुनःस्थापित गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।
प्रस्तावित कार्ययोजनामा स्थानीय निर्वाचनको मुख्य आधार मानिएका पालिका, वडा र टोल कमिटीको अवस्थाको समीक्षा गरी निष्क्रिय कमिटीलाई सक्रिय बनाइने उल्लेख छ । वडा र पालिका अधिवेशनको तालिका सार्वजनिक गरी कार्यकर्ताको भावनाअनुरूप योग्य र क्रियाशील नेतृत्व चयनका लागि सहजीकरण गर्ने प्रस्तावित कार्ययोजनामा उल्लेख छ । प्रत्येक वडामा मतदाता संख्या, पार्टी सदस्य, समर्थक, शुभेच्छुक, जनसंगठन र स्थानीय मुद्दाहरूको अद्यावधिक अभिलेख तयार पार्ने भनिएको छ ।
टोलस्तरमा सम्पर्क व्यक्ति तोकेर घरदैलो अभियानलाई तीव्र बनाउने कार्ययोजनामा समेटिएको छ । जनमत सर्वेक्षण तथा कार्यकर्ता र बौद्धिक क्षेत्रको राय-सुझाव संकलन गरी सोही आधारमा छुट्टाछुट्टै निर्वाचन रणनीति बनाउने प्रस्ताव गरिएको छ । उम्मेदवार छनोटमा पहुँच र गुटगत प्रभावलाई निरुत्साहित गर्ने कार्ययोजनामा दाबी गरिएको छ । निर्वाचन परिचालनलाई प्रभावकारी बनाउन प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्म निर्वाचन परिचालन कमिटी गठन गरिने उल्लेख छ । कमिटीअन्तर्गत प्रचारप्रसार, डिजिटल प्रचार, मतदाता सम्पर्क, जनसंगठन परिचालन, आर्थिक तथा स्रोत व्यवस्थापन, कानुनी सहायता र अनुगमन लगायतका उपसमिति सक्रिय बनाउने उल्लेख छ । एमालेले स्थानीय जनताका दैनिक सरोकार र आवश्यकता समेटेर कार्यान्वयनयोग्य प्रतिबद्धतापत्र तयार पार्ने योजना पनि अघि सारेको छ । विपक्षी दलका कमजोरीमाथि तथ्यपूर्ण रूपमा आफ्ना नीति र विकासका उपलब्धि जनतासमक्ष पुर्याउने तथा डिजिटल प्लेटफर्मको अधिकतम् प्रयोग गर्ने कार्ययोजनामा उल्लेख छ । त्यस्तै, डिजिटल माध्यमबाट हुने भ्रामक प्रचारको तथ्यगत प्रतिवाद गर्न संयन्त्र निर्माण गरिने प्रस्ताव गरिएको छ ।
मूल ढोकाबाटै सिंहदरबार पस्छौँ : अध्यक्ष ओली
अध्यक्ष केपी शर्मा ओलीले एमाले पुनः सरकारमा फर्किने दाबी गर्नुभएको छ । बुधबार सुरु पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पहिला पनि कसैको दया, माया र कृपाले नभई संघर्ष र जनताको समर्थनबाट सत्तामा पुगेको र अब फेरि पनि सरकारमा फर्कने दाबी गर्नुभएको हो । एमाले फेरि सरकारमा फर्किएर देशको विकास तथा समृद्धिका कामलाई अगाडि बढाउने दाबी गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले दया, माया, कृपाले बाँचेको पार्टी होइन । संघर्षको मैदानबाट, संघर्षको मैदानबाट आएर, लडेर, जितेर कसैको कृपाले हामी सरकारमा गएका थिएनौँ । सरकारको नेतृत्व कृपाले, जनताको कृपाले गएका हौँ । अरू कुनै प्रतिक्रियावादी शक्तिहरू, जनविरोधी शक्तिहरू, देशद्रोही शक्तिहरूका कृपा र आशीर्वाद अथवा नेपालको अहित चाहनेहरूका कृपा, आशीर्वादमा नेकपा एमाले सरकारमा गएको होइन । फेरि एमाले सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ ।’
एमालेमाथि सरकारी निर्मम हमला महँगो पर्ने चेतावनी
अध्यक्ष ओलीले सरकार एमालेप्रति निर्मम भएर दमनमा उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन नेता/कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सरकारले एमालेमाथि निर्मम हमला गरिरहेको आरोप लगाउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘सरकारबाट एमालेमाथि निर्मम हमला भएको छ । देशभरी लखेटीलखेटीकन सडकबाट मात्रै होइन, सडकबाट भागेर घर-घरभित्र, पसलभित्र गएर लुक्दा पनि तानेर ल्याएर, कहिलेको प्रतिशोध साँधेको ? आइन्दा हाम्रो कार्यकर्ता पंक्तिलाई त्यस ढंगको व्यवहार गर्न खोजियो भने त्यसको मूल्य धेरै महँगो पर्नेछ । अबको प्रतिरोध लाखका लाख विरोधमा उत्रिनुपर्छ । सबै तयार हुनु । यो सरकारले कुन बेला के गर्छ भर छैन ।’
ओलीको दाबी,‘आइजिपीले म, प्रचण्ड र देउवालाई थुनिदिन्छु भनेका छन्’
पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले आफूसहित पूर्व-प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थुनिदिने चेतावनी दिएको दाबी गर्नुभएको छ । यस्तो बोली होसमै बोलेको हो कि बेहोसमा हो ? भनेर प्रश्नसमेत गर्दै ओलीले भन्नुभयो, ‘आइजिपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा हो बोलेको सुन्छु म । आइजिपीको बोली त्यस्तो हुन्छ ? म केपी ओलीलाई थुनिदिन्छु, शेरबहादुरलाई थुनिदिन्छु, प्रचण्डलाई थुनिदिन्छु । केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् ? हामी राणा शासनका विरुद्ध लडेर आएका हौँ, पञ्चायती शासनका विरुद्ध लडेर आएका हौँ, निरंकुश राजतन्त्रका विरुद्ध लडेर आएका हौँ । अनि ६ महिनेको जागिर खाने एउटा सिपाहीले भन्छ, फलानालाई थुनिदिन्छु । ठट्टा मजाक गरेको हो ?’
सीमा विवादमा प्रधानमन्त्री बालेन्द्रको अभिव्यक्ति जानीजानी आएको जिकिर
अध्यक्ष ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले जानीजानी नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति दिएको टिप्पणी गर्नुभएको छ । एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘संसद्मा प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिए । उनले जानीजानी बोलेको हो भन्ने देखिन्छ । संसद्को रेकर्डबाट हटाइएन । सभामुखले पनि रेकर्डबाट हटाउन के–के गर्नुभयो ? के को लागि कहिलेको लागि लागि रेकर्ड राख्न खोजेको हो ?’
देश आतंकको छायामुनि रहेको टिप्पणी
अध्यक्ष ओलीले ‘जेन-जी’ आन्दोलनका नाममा गत वर्ष भदौको तोडफोडलाई मान्यता दिनका लागि संवैधानिक बाटोबाट फागुन २१ गते निर्वाचनको मञ्चन गरिएको टिप्पणी गर्नुभएको छ । वर्तमान सरकार अहिले अधोगतितर्फ गइरहेको दाबी गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘गत वर्षजस्तो अनधिकृत, हिंसात्मक, आतंककारी, अलोकतान्त्रिक तरिकाबाट सत्ता उलटफेर गर्ने, आगजनी, लुटपाट, तोडफोडबाट लोकतन्त्र मास्ने, संविधान मास्ने र त्यसपछि ती क्रियाकलापहरूलाई मान्यता दिने खालका क्रियाकलापहरू, कामहरू नेपालको इतिहासमै भएका थिएनन् । त्यसलाई मान्यता दिनका लागि एउटा संवैधानिक बाटो निर्वाचनको मञ्चन पनि गरियो ।’ अहिले देश राजनीतिक रूपमा एउटा आतंकको छायामुनि रहेको टिप्पणी गर्दै ओलीले भन्नुभयो, ‘देश भय र त्रासको वातावरणमुनि, असंवैधानिक, गैरकानुनी क्रियाकलापहरूको पेलाइमा, स्वेच्छाचारी शासनको अन्तर्गत चलिरहेको छ । फाँसीवादतर्फ दमनकारी, प्रतिशोधी व्यवहार अगाडि बढिरहेको छ ।’
पार्टी शुद्धीकरण र सुदृढीकरणबारे यस्तो छ एमालेको प्रस्ताव
एमाले महासचिव पोखरेलले पछिल्लो समयमा पार्टी जीवनमा अनुशासन, जीवनशैली र आचरणका क्षेत्रमा गम्भीर विचलन देखिन थालेको बताउनुभएको छ । पार्टीको राष्ट्रिय भेलामा महासचिव पोखरेलले शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीबारे पेस गरेको कार्यपत्रमा विचलनले कार्यकर्ता पंक्तिमा गहिरो चिन्ता र चासो व्यक्त भएको बताउनुभएको हो । ‘पार्टीप्रतिको जनविश्वास जोगाउन, संगठनलाई सुदृढ बनाउन र कम्युनिष्ट आचरणलाई व्यवहारमा स्थापित गर्न पार्टी शुद्धीकरण अभियान आवश्यक छ भन्ने निष्कर्षसहित दशौँ महाधिवेशनपश्चात् एजेण्डा बनाएर नै छलफलसमेत गरिएको थियो । तर, त्यसलाई व्यवहारमा लैजान सकिएन । परिणामस्वरूप पार्टीमा समस्या बढ्दै जाने स्थिति उत्पन्न भएको छ’, पोखरेलले प्रस्तुत कार्यपत्रमा भनिएको छ ।
शुद्धीकरणको उद्देश्य कसैलाई निषेध गर्ने नभएको उल्लेख गर्नुभएका पोखरेलले एकै प्रकृतिको घटनामा दोहोरो मापदण्डको प्रयोग भएको देखिन नहुने स्पष्ट पार्दै भन्नुभएको छ, ‘यथार्थतामा पार्टीको आदर्श, अनुशासन, नैतिकता र जनविश्वासलाई पुनर्स्थापित गर्नु नै शुद्धीकरणको उद्देश्य हो र हुनुपर्दछ । पार्टीभित्र देखिएका कमजोरी सच्याउँदै, जनतासँगको सम्बन्ध सुदृढ बनाउँदै र सामूहिकतामा आधारित पार्टी संस्कृति विकास गर्दै अघि बढ्नु आजको आवश्यकता हो । यसका लागि पार्टीले निम्न विषयमा विशेष ध्यान दिनुपर्छ ।’ साथै,महासचिव पोखरेलले नेता कार्यकर्तामा जनमुखी जीवनशैली र आचरण, नैतिक र चारित्रिक सदाचार, आधारभूत वर्ग र समुदायमुखी सम्बन्ध, कमरेडली भावनासहितको पार्टी संस्कृति, अनुशासनहीनता, गुटबन्दी र अन्तर्घातको अन्त्य, आर्थिक पारदर्शिता र सम्पत्ति स्वघोषणा, अनुगमन र छानविन प्रणालीको विकास गर्नुपर्ने बताउनुभएको छ । ज्येष्ठ नागरिक सुविधाअन्तर्गत हालै कैदमुक्त हुनुभएका एमाले नेता टोपबहादुर रायमाझी पार्टीको राष्ट्रिय भेलामा सहभागी हुनुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल चलान हुनुभएका रायमाझी ६५ वर्ष उमेर पूरा भएपछि २५ प्रतिशत कैद छुट पाउँदै गत २६ कात्तिकमा डिल्लीबजार कारागारबाट मुक्त हुनुभएको थियो ।हिमालय टाइम्स
