सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

ट्रम्प, सी र पुटिनबिच आज शिखर वार्ता हुँदै

२०८३ मंग्सिर ३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, मङ्सिर ३ गते । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच बिहीबार चीनको सेन्जेनमा ऐतिहासिक शिखर वार्ता हुँदै छ । यो शीर्ष वार्तालाई विश्व समुदायले निकै उत्सुकतापूर्वक प्रतीक्षा गरेको छ । यसअघि बुधबार रात्रिभोजमा तीनै जना नेताबिच भेटवार्ता भएको छ ।

चीनको सेन्जेनमा बुधबारदेखि सुरु भएको बुधबार एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनले विश्वका तीन शीर्ष नेताहरूलाई एकै ठाउँमा जुटाएको हो । चीनका राष्ट्रपति सी चिनफिङसहित एसिया प्रशान्त क्षेत्रका नेताहरूले खुला व्यापार, निष्पक्ष प्रतिस्पर्धा र समावेशी विकासलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ । उहाँहरूले व्यापार तथा लगानीका अवरोध घटाउँदै क्षेत्रीय सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सेन्जेनमा आयोजित एपेक व्यवसायी सम्मेलनमा राष्ट्रपति सीले चीनले बजार पहुँच विस्तार र भन्सार शुल्क घटाउँदै व्यापारसम्बन्धी नियममा सुधार गर्ने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय व्यापारमा स्थिरता र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । अमेरिका र चीनबिच भन्सार शुल्क तथा उन्नत प्रविधिको पहुँचलाई लिएर मतभेद कायम रहेका बेला सीले खुला व्यापारको पक्षमा धारणा राख्नुभएको हो । यसैबिच क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले चीनसँग पारस्परिक कर घटाउने सहमति गर्नुभएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले प्रतिबन्ध, शुल्क र निर्यात नियन्त्रणको प्रभावकारितामाथि प्रश्न उठाउँदै एसिया प्रशान्त क्षेत्रसँग आर्थिक सम्बन्ध विस्तार रुसको प्राथमिकता रहेको बताउनुभयो । रुसले सन् २०३५ मा एपेकको अध्यक्षता गर्ने प्रस्तावसमेत गरेको छ ।

एपेकका २१ सदस्यले विश्वको ६० प्रतिशत आर्थिक गतिविधि र आधा व्यापार हिस्सा ओगट्छन् । रुसका राष्ट्रपति पुटिनले अमेरिकाका राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सीसँग हुने त्रिपक्षीय शिखर सम्मेलनले प्रमुख शक्तिबिचको सम्बन्ध सुधार्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त गर्नुभएको छ ।

बुधबार एपेक शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले बिहीबार हुने तीन देशका नेताबिचको पहिलो त्रिपक्षीय बैठक अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । पुटिनले वर्तमान विश्वमा बढ्दो सैन्य तथा राजनीतिक जोखिम र विश्व अर्थतन्त्रमा देखिएको विभाजनबिच आपसी सहकार्य र संवादको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विभाजनभन्दा एकता, आधिपत्यभन्दा समानता, अलगावभन्दा साझेदारी र अल्टिमेटमभन्दा संवादलाई प्राथमिकता दिनु पर्छ ।” सन् २०२२ मा युक्रेनमाथि रुसले आक्रमण गरेपछि मस्कोमाथि पश्चिमी मुलुकहरूले लगाएको आर्थिक प्रतिबन्ध असफल भएको पुटिनले दाबी गर्नुभयो । रुसले ती प्रतिबन्धको सामना गर्दै सम्मानपूर्वक आफ्नो अवस्था कायम राखेको उहाँको भनाइ थियो ।

फिलिपिन्ससँग सहकार्य

अमेरिकाका राष्ट्रपति ट्रम्पले फिलिपिन्ससँग रक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने बताउनुभएको छ । उहाँले फिलिपिन्सको पहिलो आधुनिक आणविक ऊर्जा परियोजनामा अमेरिकी प्रविधि उपयोग गर्न सकिने उल्लेख गर्नुभयो । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले बुधबार मनिलास्थित राष्ट्रपति भवनमा ट्रम्पलाई सैनिक टुकडी र ब्यान्डसहित स्वागत गर्नुभएको थियो । राष्ट्रपति ट्रम्प चीनको सेन्जेन आउने क्रममा फिलिपिन्स पुग्नुभएको अमेरिकी निजी टेलिभिजन संस्था सिएनएनले जनाएको हो ।

अमेरिका र फिलिपिन्सबिच आपसी समझदारी र सहकार्य हुँदै आएको छ । राष्ट्रपति मार्कोसको कार्यकालमा अमेरिकी सेनाको पहुँच र संयुक्त सैन्य अभ्यास विस्तार भएको छ । गत अप्रिलमा १७ हजारभन्दा बढी सैनिक सहभागी १९ दिने संयुक्त अभ्यास गरिएको थियो ।

ट्रम्प र सानेबिच भेटवार्ता

अमेरिकाका राष्ट्रपति ट्रम्प र जापानका प्रधानमन्त्री साने ताकाइचीबिच भेटवार्ता भएको छ । जापानको विदेश मन्त्रालयका अनुसार दुवै नेताबिच फिलिपिन्सको मनिलामा आयोजित रात्रिभोजका क्रममा कुराकानी भएको हो ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले आयोजना गर्नुभएको रात्रिभोजमा भएको भेटमा दुवै नेताले इन्डो–प्यासिफिक क्षेत्रका विषयमा निकट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जापानी विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री साने बुधबार एपेक शिखर सम्मेलनमा सहभागी हुन चीनको सेन्जेन जानुभएको छ । प्रधानमन्त्री बनेपछि उहाँको यो पहिलो चीन भ्रमण हो । जापानी सरकारका मुख्य प्रवक्ता मिनोरु किहाराले अमेरिका–चीन, चीन–रुस तथा अमेरिका–चीन–रुस सम्बन्धलाई जापानले नजिकबाट नियालिरहेको बताउनुभएको छ । उहाँले जापानको राष्ट्रिय हित र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरताका लागि अमेरिका–जापान गठबन्धन बलियो हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।गोरखापत्र दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य

आरोहण प्रभावित हुँदा राजस्वबारे अन्योल

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

एमालेको विशेष संकल्प : लोकतन्त्रको पुनर्बहालीदेखि पार्टी शुद्धीकरणसम्म

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

दानबहादुरको मुद्दालाई अग्राधिकार

स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना

बैंकमा पैसा थुप्रियो, मुद्दती निक्षेप घट्यो

शिक्षकको क्षमता विस्तार पढाउन जानुअघि तीन महिनाको तालिम अनिवार्य

कर तिर्नेलाई सम्मान, लगानीकर्तालाई अन्योल

स्थानीय तहका प्रवक्ता नै सूचनाबारे बेखबर