सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

२०८३ मंग्सिर ३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, मङ्सिर ३ गते । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि सञ्चालन गरेको एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा सहभागीमध्ये करिब ५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

आयोगले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा सहभागी २० हजार ५७९ मध्ये १० हजार ३२१ विद्यार्थीले उत्तीर्ण हुने मापदण्ड पूरा गरेका हुन् । आयोगका कार्यकारी उपाध्यक्ष प्राडा. देवेन्द्र बहादुर खत्रीले परीक्षामा उत्तीर्ण हुन ५०औँ पर्सेन्टाइल अर्थात् न्यूनतम ५६.२५ अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिदैँ परीक्षामा सर्वाधिक अङ्क प्राप्त गर्ने विद्यार्थीले १८७.५ अङ्क प्राप्त गरेको जानकारी दिनुभयो ।

चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा. खत्रीले सार्वजनिक बिदाका कारण एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्न केही ढिलाई भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्ष एमबीबीएस अध्ययनका लागि २१ हजार २९३ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमा २१ हजार ११६ नेपाली र १७७ विदेशी विद्यार्थी थिए ।

एमबीबीएस अध्ययनका लागि यस वर्ष दुई हजार ७४५ सिट निर्धारण गरिएको छ । प्रवेश परीक्षामा उत्तीर्ण भएका सबै विद्यार्थीले एमबीबीएस अध्ययन गर्न पाउने होइनन् । उत्तीर्ण विद्यार्थीमध्ये प्राप्ताङ्कका आधारमा कायम हुने योग्यताक्रम र सिट सङ्ख्याका आधारमा भर्ना प्रक्रिया अघि बढ्नेछ । आयोगले यस वर्ष चिकित्सा शिक्षाको स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रममा कुल नौ हजार ६९१ सिट निर्धारण गरेको छ ।

गत वर्ष नौ हजार २७३ सिट रहेकामा यस वर्ष ४१८ सिट थप गरिएको हो । शिक्षण संस्थाहरूले विभिन्न शैक्षिक कार्यक्रममा १२ हजार ७१२ सिट माग गरे पनि आयोगले अनुगमन तथा मूल्याङ्कनपछि नौ हजार ६९१ सिट मात्रै स्वीकृत गरेको थियो ।

आयोगका कार्यकारी उपाध्यक्ष प्राडा. खत्रीले शिक्षण संस्थाले माग गरेअनुसार सबै सिट स्वीकृत नगरी मापदण्ड र आवश्यक पूर्वाधारका आधारमा मात्रै सिट निर्धारण गरिएको बताउनुभयो । उहाँका अनुसार सिट निर्धारण गर्दा अनुगमन टोली तथा सिट निर्धारण समितिको सिफारिसलाई आधार बनाइएको छ । एमबीबीएसको प्रवेश परीक्षा कात्तिक १४ गते सञ्चालन भएको थियो ।

आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशक प्राडा. दीपेन्द्र श्रेष्ठले शिक्षण संस्थामा उपलब्ध पूर्वाधार, जनशक्ति र शैक्षिक वातावरणको अवस्था मूल्याङ्कन गरेर मात्रै सिट निर्धारण गरिएको जानकारी दिनुभयो । यस वर्ष चिकित्सा शिक्षाको स्नातक तहमा सबैभन्दा बढी आवेदन बिएस्सी नर्सिङमा परेको थियो । प्राडा.श्रेष्ठका अनुसार बिएस्सी नर्सिङ र मिडवाइफ्री समूहमा २२ हजार ३४८ जनाले आवेदन दिएका थिए । दोस्रो स्थानमा एमबीबीएस रहेको थियो ।

त्यसैगरी बीडीएसमा १२ हजार ८४० जनाको आवेदन परेको थियो । समग्रमा चिकित्सा शिक्षाको स्नातक तहका विभिन्न कार्यक्रममा ७७ हजार ११८ जनाले प्रवेश परीक्षाका लागि आवेदन दिएका थिए । तीमध्ये २३९ जनाको आवेदन विभिन्न कारणले रद्द भएको थियो ।

उपलब्ध नौ हजार ६९१ सिटका लागि आवेदन दिने विद्यार्थीको सङ्ख्याका आधारमा चिकित्सा शिक्षामा प्रतिस्पर्धा निकै चर्को देखिएको छ ।  प्राडा.श्रेष्ठले एमबीबीएसको नतिजा सार्वजनिक भएसँगै अब योग्यताक्रम निर्धारण, सिट बाँडफाँट तथा विद्यार्थी भर्नाको प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो । गोरखापत्र दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य

आरोहण प्रभावित हुँदा राजस्वबारे अन्योल

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

एमालेको विशेष संकल्प : लोकतन्त्रको पुनर्बहालीदेखि पार्टी शुद्धीकरणसम्म

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

ट्रम्प, सी र पुटिनबिच आज शिखर वार्ता हुँदै