सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

आणविक हतियार र दुई युद्धको मुद्दासहित ट्रम्पले सी र पुटिनसँग भेटवार्ता गर्दै

२०८३ मंग्सिर ३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सेन्जेन (चीन), ३ मङ्सिर (रासस/एपी) :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनका राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग त्रिपक्षीय भेटवार्ता गर्दै हुनुहुन्छ । आणविक हतियार नियन्त्रण तथा युक्रेन र इरानमा जारी युद्ध अन्त्य गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको यस भेटबाट ठोस उपलब्धि हासिल हुने सम्भावना भने कम रहेको विज्ञहरूले बताएका छन् ।

आफूलाई कुशल वार्ताकारका रूपमा प्रस्तुत गर्दै आउनुभएका ट्रम्पले चीन र रुसका नेतासँगको भेटलाई आणविक हतियार नियन्त्रणका नयाँ नियम निर्माण गर्ने तथा दुई युद्ध समाधान गर्ने अवसरका रूपमा लिनुभएको छ । त्रिपक्षीय बैठकअघि उहाँले सी र पुटिनसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । गत वर्ष अलास्कामा भएको वार्ता असफल भएपछि ट्रम्प र पुटिनबीच पहिलोपटक भेट हुन लागेको हो ।

अमेरिका र युक्रेनबीचको सम्बन्ध तनावपूर्ण बन्दै गए पनि ट्रम्पले पुटिनसँगको आफ्नो व्यक्तिगत सम्बन्धको प्रशंसा गर्दै आउनुभएको छ । यसैबीच, युक्रेनले रुसी ड्रोन आक्रमणविरुद्ध प्रयोग गर्दै आएको अमेरिकी सैन्य उपग्रह प्रणाली स्टारसिल्डको सेवा स्पेसएक्सले बेलाबेलामा सीमित गरेको छ । कम्पनीका प्रमुख एलन मस्क पनि एसिया भ्रमणमा सहभागी हुनुहुन्छ ।

अमेरिका र रुसबीचको अन्तिम आणविक हतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ गत फेब्रुअरीमा समाप्त भएको थियो । ट्रम्पले चीनलाई समेत समेटेर नयाँ तथा आधुनिक सन्धि गर्न चाहनुभएको छ । तर चीनसँग ६०० भन्दा बढी आणविक वारहेड रहेको अनुमान छ भने अमेरिका र रुससँग पाँच–पाँच हजारभन्दा बढी छन् । यस्तो अवस्थामा चीनले हतियारको सीमा स्वीकार गर्न कम चासो देखाएको विज्ञहरूको भनाइ छ ।

आम्र्स कन्ट्रोल एसोसिएसनका कार्यकारी निर्देशक डेरिल किमबलले त्रिपक्षीय भेटले आणविक हतियार कटौतीका लागि निरन्तर वार्ताको प्रक्रिया सुरु गर्न सक्ने बताउनुभएको छ । उहाँले एउटै बैठकबाट नाटकीय उपलब्धिको अपेक्षा गर्न नसकिने स्पष्ट पार्नुभएको छ ।

रुसी राष्ट्रपति कार्यालयका सल्लाहकार युरी उसाकोभले त्रिपक्षीय वार्तामा युक्रेन युद्धबारे छलफल हुने सम्भावना रहेको बताउनुभएको छ । ट्रम्पले इरानको द्वन्द्व पनि वार्ताको विषय बनाउन चाहनुभएको छ । तर युक्रेन र उसका युरोपेली सहयोगीहरूले त्रिपक्षीय वार्ताले आफूहरूलाई निर्णय प्रक्रियाबाट बाहिर राख्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । जर्मन चान्सलर फ्रेडरिक मेर्जले गत वर्षको अलास्का बैठकजस्तै अवस्था दोहोरिन सक्ने आशङ्का व्यक्त गर्नुभएको छ ।

सी र पुटिनबीचको सम्बन्ध भने थप घनिष्ठ देखिएको छ । बुधबार एपेक सम्मेलनमा सीले पुटिनलाई ‘पुरानो मित्र’ र पुटिनले सीलाई ‘प्रिय मित्र’ भन्नुभएको थियो । सन् २०२२ मा युक्रेनमाथि रुसको आक्रमणपछि चीनले रुसलाई आर्थिक सहयोग गर्दै आएको छ । सीले चीन–रुस सम्बन्धले विश्वमा स्थिरता र निश्चितता प्रदान गरेको बताउनुभएको छ ।

ट्रम्पले सीसँग आफ्नो व्यक्तिगत सम्बन्ध राम्रो रहेको बताउँदै आउनुभएको छ । यस वर्ष दुवै नेताबीच चारपटक भेट हुने कार्यक्रम छ । उहाँले भेनेजुएला र इरानविरुद्ध सैन्य कारबाही गरे पनि नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने आकांक्षा व्यक्त गर्दै आउनुभएको छ ।

यसैबीच, अमेरिका र चीनबीच कृत्रिम बौद्धिकता (एआई), उन्नत कम्प्युटर चिप्स र व्यापारमा प्रतिस्पर्धा बढिरहेको छ । चीनले विश्वसँग ठूलो व्यापार बचत कायम राखेको छ भने अमेरिकासँगको व्यापार असन्तुलन पनि प्रमुख विवादका रूपमा रहेको छ ।

एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले गत साता पदबाट राजीनामा दिएको तथा एलिस हुआङसँगको विवाहबाह्य सम्बन्ध स्वीकार गरेको समाचारले पनि चिप्ससम्बन्धी विवादलाई चर्चामा ल्याएको छ । एलिस हुआङको कम्पनीले चीनलाई एनभिडियाका उन्नत चिप्समा पहुँच पुर्‍याउन सहयोग गरेको बताइएको छ । उहाँ चिनियाँ सरकारकी एजेन्ट भएको आरोप भने बेइजिङले अस्वीकार गरेको छ । चीनसँगको सम्बन्ध बिग्रन नदिन ट्रम्पले उन्नत चिप्समा उसको पहुँच रोक्ने कडा प्रतिबन्ध लगाउन हिचकिचाउनुभएको छ ।

एपेक सम्मेलनअघि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रियरले चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग भेट गर्नुभएको थियो । अमेरिकी अधिकारीहरूले चीनले अमेरिकी कृषि उत्पादन खरिद बढाउने र इलेक्ट्रोनिक्सका लागि आवश्यक दुर्लभ पृथ्वीका खनिजको निर्यात प्रतिबन्ध खुकुलो पार्ने प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन नगरेको बताएका छन् ।

गत वर्ष अमेरिका र चीनबीच भएको व्यापार युद्धविराम आगामी जनवरी १० सम्म कायम रहने व्यवस्था छ । अर्कोतर्फ, ट्रम्प प्रशासनले युक्रेन युद्ध अन्त्य गर्न रुसमाथिका व्यापारिक प्रतिबन्ध हटाउने सम्भावनालाई पनि प्रोत्साहनको माध्यमका रूपमा अघि सारेको छ । यसैबीच, अमेरिकी आक्रमण जारी रहेका बेला पनि चीन र रुसले व्यापारमार्फत इरानलाई सहयोग गर्दै आएका छन् । इरानसँगको द्वन्द्वले ऊर्जा मूल्य बढाउनुका साथै विश्वव्यापी आर्थिक वृद्धिमा नकारात्मक प्रभाव पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल