काठमाडौं। प्रधान सेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका अनुपजंग थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधान सेनापति सिग्देलले उनलाई रथी दर्जाको दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
नेपाल सरकार, मन्त्रिपरिषद्को मङ्सिर ४ गतेको निर्णयअनुसार थापा उपरथीबाट रथीमा पदोन्नति भएका थिए। रथीमा पदोन्नति भएसँगै थापाले नेपाली सेनाको बलाधिकृत रथी (बलाध्यक्ष रथी-सैनिक संरचनाअनुसार दोस्रो वरीयताको महत्त्वपूर्ण जिम्मेवारी) को भूमिका सम्हाल्नेछन्।
सोही समारोहमा प्रधान सेनापति सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका मनोज थापालाई पनि दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। साथै, प्राविधिक महासेनानीबाट सहायक रथी (ब्रिगेडियर जनरल) मा बढुवा भएका तीन जना अधिकृतहरू-जगत शाह, पंकज रावल र शितल बानियाँलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
यसैगरी, प्राविधिक प्रमुख सेनानीबाट महासेनानी (कर्णेल) दर्जामा पदोन्नति भएका अरविन्द श्रेष्ठलाई पनि सोही अवसरमा दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहमा नेपाली सेनाका रथीवृन्द, उच्च अधिकृतहरू तथा पदोन्नति भएका अधिकृतहरूका परिवारजनको समेत उपस्थिति रहेको थियो। पदोन्नतिसँगै उनीहरूलाई सेनाको विभिन्न विभाग तथा पृतनाहरूमा नयाँ जिम्मेवारीसमेत तोकिएको निर्देशनालयले उल्लेख गरेको छ।

