काठमाडौँ, ९ मङ्सिरः हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको संरक्षण गर्ने उद्देश्यले ४९.९४ मिलियन अमेरिकी डलरको ‘जिएलओएफ सञ्जिवनी परियोजना’ सञ्चालन गर्न लागिएको छ ।
यस परियोजनाका लागि हरित जलवायु कोषबाट ३६.१६ मिलियन अमेरिकी डलर अनुदान, नेपाल सरकारबाट ११.३२ मिलियन अमेरिकी डलर सह–वित्तीय योगदान, युएनडिपीबाट २.१४ मिलियन अमेरिकी डलर र निजी क्षेत्रका साझेदारहरूबाट ०.३२ मिलियन अमेरिकी डलरको योगदान प्राप्त हुनेछ ।
सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने यस परियोजनाबाट प्रत्यक्ष रूपमा तीन लाख ८५ हजारभन्दा बढी मानिस लाभान्वित हुने परियोजनाले जनाएको छ । जसमध्ये ५५ प्रतिशत महिला छन् । साथै, तल्लो तटीय जलाधार क्षेत्रमा बसोबास गर्ने करिब २० लाख थप मानिसले अप्रत्यक्ष रूपमा सुरक्षा लाभ प्राप्त गर्ने बताईएको छ ।
परियोजनाको आज आयोजित उद्घाटन कार्यशालामा जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव नवीनराज सिंहले परियोजनाको समयमै र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न एकीकृत र सहकार्यमा आधारित दृष्टिकोणलाई प्राथमिकता दिइने बताउनुभयो । “यस प्रयासअन्तर्गत हामी ‘जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र’लाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्नुका साथै जलविद्युत् विकासकर्ता, व्यापक निजी क्षेत्र र अन्य प्रमुख सरोकारवालासँगको सहकार्यलाई सुदृढ बनाउने लक्ष्य राख्छौँ, ताकि परियोजनाले दिगो र दीर्घकालीन प्रभाव दिन सकोस्,” उहाँले भन्नुभयो ।
हिमाली क्षेत्रमा तीव्र गतिमा तापक्रम वृद्धि भइरहेको छ, जसले हिमनदी पग्लिने क्रमलाई तीव्र बनाउनुका साथै उच्च हिमाली क्षेत्रमा रहेका तालहरूको विस्तार गरिरहेको छ । यस परिवर्तनले विपद् आएपछि मात्र प्रतिक्रिया जनाउने परम्परागत अभ्यासबाट अघि बढ्दै दीर्घकालीन जोखिम न्यूनीकरणका लागि सक्रिय पहल गर्नुपर्ने राष्ट्रिय आवश्यकतालाई उजागर गरेको छ ।
विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए तापनि नेपालले जलवायु परिवर्तनका गम्भीर असरहरू भोगिरहेको छ । यसको पछिल्लो उदाहरण रसुवा–भोटेकोशी क्षेत्रमा हालै आएका आकस्मिक बाढीहरू देखिएको अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालले बताउनुभयो । यस संयुक्त पहलमार्फत अर्थ मन्त्रालय ‘जिएलओएफ’ जोखिम न्यूनीकरणका प्रयासहरूलाई व्यापक राष्ट्रिय विकास प्राथमिकता तथा जवाफदेहिताका ढाँचासँग समन्वय गर्दै आफ्ना जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छ,” उहाँले भन्नुभयो ।
यसैगरी, नेपालका लागि युएनडिपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले दुई महिनाअघि रसुवा–भोटेकोशी र गण्डकी जलाधार क्षेत्रमा देखिएका विनाशकारी बाढीहरूले जलवायुसम्बन्धी चरम जोखिमहरू कति छिटो मानवीय र आर्थिक विपत्तिमा परिणत हुन सक्छन् भन्ने स्मरण गराएको उल्लेख गर्नुभयो ।
“यसले हामीलाई एउटा सरल तर महत्वपूर्ण सन्देश पनि दिएको छः अर्को विपद्को प्रतीक्षा गरेर हामी बस्न सक्दैनौँ,” उहाँले भन्नुभयो, “परियोजनाको सबैभन्दा महत्वपूर्ण रणनीतिक मूल्य यही हो । यसले हामीलाई विपद्पछि प्रतिक्रिया जनाउने अवस्थाबाट जोखिमको पूर्वानुमान गर्ने, त्यसलाई न्यूनीकरण गर्ने र विपद् आउनुअघि नै विकासका लगानीहरूको संरक्षण गर्ने दिशामा अघि बढ्ने अवसर प्रदान गर्दछ ।”
हरित जलवायु कोष (जिसिएफ) सचिवालयका जलवायु लगानी प्रमुख बप्पोन फखरुद्दिनले यसलाई विस्तारयोग्य परियोजनाका रूपमा लिनुपर्ने र यसले सीमापार लचिलोपनसम्बन्धी विविध सहकार्यलाई सक्षम बनाउने धारणा व्यक्त गर्नुभयो । साथै यसले राष्ट्रिय पारिस्थितिक प्रणालीभित्र जीविकोपार्जन, वित्त, व्यवसाय र साझेदारीका क्षेत्रमा थप व्यापक अवसरहरू सिर्जना गर्ने उहाँको भनाई थियो ।
परियोजनाको प्रमुख घटकका रूपमा उच्च हिमाली क्षेत्रमा रहेका चारवटा हिमतालको पानीको सतह घटाउने योजना रहेको छ । जसअनुसार डोना, लुम्दिङ छ्यो र तल्लो बरुण हिमतालहरुको पानीको सतह तीन÷तीन मिटर तथा हङ्गु ‘दुई’ हिमतालको पानीको सतह एक मिटरले घटाइनेछ ।
हिमतालको पानीको सतह घटाउने कार्यबाहेक परियोजनाले जलवायु जोखिमसम्बन्धी सूचना तथा योजनालाई सुदृढ बनाउने, जलविज्ञान तथा मौसमसम्बन्धी अनुगमन प्रणाली विस्तार गर्ने र पूर्वसूचना प्रणाली स्थापना तथा सुधार गर्नेछ । साथै, तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम न्यूनीकरण गर्न प्रकृतिमा आधारित समाधान तथा सुरक्षात्मक पूर्वाधारको विकास र कार्यान्वयन पनि गरिनेछ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेतीले पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउनु भनेको विज्ञानमा आधारित सूचना जोखिममा रहेका समुदायसम्म पर्याप्त समय अगावै पु¥याउनु भएको बताउनुभयो ।
“जसले गर्दा जोखिम विपद्मा परिणत हुनुअघि नै उनीहरूले समयमै आवश्यक कदम चाल्न सकून् । उत्थानशीलता निर्माण गर्न सरकार, विकास साझेदार, निजी क्षेत्र र स्थानीय समुदायलाई एकै ठाउँमा ल्याउने समग्र समाजको दृष्टिकोण आवश्यक छ,” उहाँले भन्नुभयो, “सामूहिक रूपमा काम गरेर हामी जोखिमलाई उत्थानशीलतामा रूपान्तरण गर्न र सुरक्षित तथा जलवायु परिवर्तनप्रति थप उत्थानशील नेपाल निर्माण गर्न सक्छौँ” ।
जल तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बरालले हिमाली क्षेत्र तीव्र गतिमा परिवर्तन भइरहेका कारण हिमतालहरू ‘टिक टिक’ गरिरहेका टाइम बमजस्तै भएको बताउनुभयो । “सानो बाँध फुट्दा पनि सयौँ अर्ब डलर बराबरको क्षति हुन सक्छ । त्यसैले उचित सुरक्षा सावधानी अपनाउँदै तथा वातावरणीय र सामाजिक सुरक्षाका मापदण्डहरूको पालना गर्दै हिमतालको पानीको सतह तत्काल घटाउन आवश्यक छ, ताकि यसको कार्यान्वयन अझ प्रभावकारी हुन सकोस्,” उहाँले भन्नुभयो ।
समुदायस्तरमा स्थानीय सरकार तथा परियोजनाका लागि छनोट गरिएका नगरपालिकाहरूले कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । उनीहरूले जोखिममा रहेका समुदायलाई पूर्वसूचनाका आधारमा आवश्यक प्रतिक्रिया जनाउन सहयोग गर्ने बतार्ईएको छ ।
परियोजनाका लक्षित स्थानीय तहमध्ये एक नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले समुदायलाई थप सुरक्षित र उत्थानशील बनाउने महत्वपूर्ण अवसरका रूपमा परियोजनाको स्वागत गर्नुभयो । “यसको कार्यान्वयनमा हाम्रो पूर्ण प्रतिबद्धता तथा योगदान रहनेछ । सूचित भू–उपयोग योजना, गहन अनुसन्धान र स्थानीय समुदायको सक्रिय सहभागितामार्फत यस परियोजनाले सुरक्षित बस्ती सुनिश्चित गर्न, जीविकोपार्जन सुधार गर्न तथा जलविद्युत् र पर्यटन विकासका नयाँ अवसरहरू सिर्जना गर्न सहयोग पु¥याउन सक्छ,” उहाँले भन्नुभयो ।
‘जिएलओएफ सन्जिवनी परियोजना’ जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत रहेको जल तथा जलस्रोत अनुसन्धान केन्द्रमार्फत कार्यान्वयन हुनेछ । यसमा चुरे तथा जलाधार संरक्षण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहकार्य रहेको छ । साथै यसका प्रमुख साझेदारहरूमा अर्थ मन्त्रालय, नेपाल पर्यटन बोर्ड र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल पनि रहेका छन् ।
