काठमाडौँ, ९ मङ्सिरः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले उद्योगीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
उद्योग दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा देखिने प्रशासनिक झन्झट, प्रक्रियागत जटिलता र नीतिगत अस्पष्टता कम गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
मन्त्री साहले उद्योगी तथा व्यवसायीका समस्या पहिचान, समाधान र लगानी प्रवर्द्धनमा सहजीकरण गर्ने उद्देश्यले उद्योग मन्त्रालयमा स्वदेशी लगानीकर्ता सहजीकरण कक्षको समेत शुभारम्भ गर्नुभयो ।
त्यसअवसरमा मन्त्री साहले उद्योगीका समस्या सुन्ने, सम्बन्धित निकायसँग समन्वय गर्ने र समाधानका लागि व्यावहारिक पहल गर्ने माध्यमका रूपमा सहजीकरण विकास गरिने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले उद्योग क्षेत्रको विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना र आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने अभियानमा सरकार तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा पुकार मल्लले आर्थिक वृद्धिलाई उत्पादनशील, समावेशी र उत्थानशील बनाइने बताउनुभयो । उहाँले उद्योग क्षेत्रको योगदान बढाउन प्रतिस्पर्धात्मक क्षमता भएका क्षेत्र पहिचान, नीतिगत सुधार, लगानी विस्तार र उद्यमशीलता प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो ।
मन्त्रालयका सचिव रुद्रसिंह तामाङले उद्योग क्षेत्रका समस्या समाधानका लागि सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय तथा संवाद आवश्यक रहेको बताउनुभयो ।
उहाँले उद्योगीका सुझाव र व्यावहारिक अनुभवलाई नीतिगत सुधारसँग जोड्दै औद्योगिक तथा लगानीसम्बन्धी अवरोध हटाउन सरकारी संयन्त्रलाई प्रभावकारी बनाइने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले उद्योग स्थापना तथा सञ्चालन प्रक्रियालाई सरल, डिजिटल र स्वचालित बनाउनुपर्ने बताउनुभयो ।
उहाँले उत्पादन तथा निर्यात क्षमता वृद्धि, गुणस्तर परीक्षण र प्रमाणीकरण प्रणाली सुदृढीकरण तथा व्यापार र पारवहन पूर्वाधार विस्तारले नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन सक्ने बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले उत्पादन, लगानी र उद्यमशीलता आर्थिक समृद्धिको आधारका रूपमा रहेकाले यसको विकास र प्रवर्द्धन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष अग्रवालले उद्योगीले भोगिरहेका प्रशासनिक जटिलता, उच्च उत्पादन लागत, औद्योगिक जग्गा तथा पूर्वाधारसम्बन्धी समस्या समाधान गर्न सरकार सहजीकरणकर्ता र प्रोत्साहकका रूपमा अघि बढ्नुपर्ने बताउनुभयो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले औद्योगिक वातावरण सुधार, नीतिगत स्थायित्व, कानुनी स्पष्टता र लगानी सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
घरेलु तथा साना उद्योग महासङ्घकी अध्यक्ष शोभा गुरुङले घरेलु, साना तथा मझौला उद्यमको वास्तविक तथ्याङ्क सङ्कलन, वित्तीय पहुँच विस्तार र स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण तथा प्रवर्द्धनका लागि स्पष्ट नीतिगत, कानुनी र संस्थागत व्यवस्था आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय निर्यात गर्ने स्वदेशी कम्पनीतर्फ आरएमसी फुड्स प्रालि र बहुराष्ट्रिय कम्पनीतर्फ डाबर नेपाल प्रालिलाई सम्मानित गरिएको थियो ।
यस्तै, सबैभन्दा बढी विदेशी लगानी प्राप्त गर्ने कम्पनीका रूपमा एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी प्रालि, सबैभन्दा बढी स्वदेशी लगानी गर्ने कम्पनीका रूपमा मुक्तिनाथ दर्शन लिमिटेड तथा सफल स्टार्टअप उद्यमीका रूपमा सुष्मा शर्मालाई सम्मान गरियो ।
