नेपाली कांग्रेसमा अहिले तेह्रौं महाधिवेशनबाट आएका नेताहरुले पार्टी सत्ता चलाइरहेका छन् । शेरबहादुर देउवा सभापति छन् । उनैसँग चुनावी प्रतिष्पर्धा गरेका रामचन्द्र पौडेल र कृष्ण सिटौला आफुलाई सभापतिभन्दा कम आँक्दैनन् । कांग्रेसको जीवनलाई नियाल्दा उ इतिहासकै गम्भीर र संक्रमणकालीन समयमा देखिन्छ ।
२०७२ साल फागुनबाट चार वर्षका लागि सभापतिमा निर्वाचित देउवा निर्धारित समयमा महाधिवेशन गराउनेभन्दा विधानको व्यवस्थालाई ढाल बनाउँदै कार्यकाल लम्ब्याउने निर्णय गराइरहेका छन् । त्यसमा केन्द्रीय समिति ताली पिटेर बस्छ । सबै दूधका साक्षी बिरालो बनेका छन् ।
पछिल्लो संसदीय निर्वाचनले पार्टीको हैसियत कट्टीमुनी ह्वाङगै बनाइदिँदा कसैमा जिम्मेवारीबोध देखिन्न । कसले कसलाई अपजसको माला भिराउने भन्ने खेलमा दुई वर्ष बित्थामा गुज्रिसकेको छ । परिणाम सदन र सडक दुबैतिर कांग्रेस निष्प्रभावी छ । नैतिक मूल्य सकाएपछि विरोधकै आवाजले पनि आफैलाई गिज्याउँदो रहेछ । नेतृत्वको हालत ठीक यही छ ।
हुनत पार्टी सत्तामा रहनेहरु पार्टी संस्थापकहरुसँग लामो सानिध्यमा रहेका नेताहरु छन् । बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्यायलगायत नेताको निकट रहेर काम गरेकाहरु नै छन् ।
कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाका त उनीहरु शिष्य नै हुन् । अधिकांश भट्टराई र कोइरालाले पार्टी र मुलुकको सत्ता चलाउँदाका सारथि हुन् । ती दुई नेताले पार्टी र सरकार चलाउँदाका विकृत पाटोलाई बोक्ने र मलजल गर्ने पनि यिनै हुन् । राम्रालाई छाडेर नराम्रा प्रवृत्ति र पद्धति अँगाल्ने दोष पनि यिनैको टाउकोमा छ । पार्टी सत्ताको घात प्रतिघातका प्रसारकको त आरोप नै छ ।
टिप्पणी गर्नेहरु वर्तमानको कांग्रेस नेतृत्व अघिल्ला पुस्ताका आर्जनमा रजाईं गर्नेहरु हुन् भन्छन् । बनाउनेभन्दा भत्काउने, समेट्नेभन्दा टुक्र्याउने शैली अख्तियार गर्दाको परिणाम नै वर्तमान कांग्रेसको आकार हो भन्छन् । यि भनाइलाई अतिशयोक्तिपूर्ण मान्नुपर्ने देखिन्न । पछिल्लो कांग्रेसको पार्टी सत्तामा रहने मध्ये एक जना सुशील कोइराला पनि हुन् । तर उनको देहान्त भैसकेको छ । माथिका गुणहरुको कारक र भागशान्तिचाहिं उनले पनि यथोचित बाँड्नै पर्छ ।
राणासँग लडेर देशभर एकछत्र स्थापना गरेको साख पञ्चायतसँग ३० वर्ष जुध्दा जुध्दा आधा आकारमा सीमित भयो । पञ्चायतको पतनपछि थालिएको सत्तायात्राले पार्टीलाई जनताको बीचमा लैजानेभन्दा अधोगति मै पुर्याइदियो । सत्ताका लागि के गरिएन ? प्राडोपजेरो, सुरासुन्दरी, सांसद किनबेच, राज्यको ढुकुटीमा संस्थागत प्रहार । न्यायालयको मानमर्दन, सरकारका संरचनामा योग्यभन्दा आसेपासेको भर्ती, शासकीय पदहरुको सुक्रीबिक्री । यि सबै वर्तमानका नेतृत्वधारी नेताबाट नेपाली राजनीतिले पाएको दाइजो हो । जसमा आजको दुई तिहाईधारी कम्युनिष्ट राज चुर्लुम्म डुबुल्की मारिरहेको छ ।
देशैभर जरा गाडेर फैलिएको दुई तिहाईयुक्त कांग्रेस आज रुख काटिएर छाडिएको गिँड आकारमा छ । आफ्ना हर्कत र व्यवहारले जनताबाट टाढिँदा पनि होश फिरेको छैन । गूटग्रस्त धमिराले कांग्रेसको आत्मा निलिसकेको छ । चारतारे झण्डा र रुख प्रतीक कांग्रेसको जीवन जनजनबाट मेटाउन नेतृत्व र उनका शिक्षा पाएकाहरु नै काफी छन् । विभिन्न दरबारमा विभक्त गूट र तिनका उपासकले पार्टी जीवन जर्जर छ ।
आजको कांग्रेस शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला, कोइरालाको मूल गूटमा विभक्त छ । तिनका पनि हाँगाहरु छन् । मूल गूटको प्राण त्यहीं टिकेको छ । तिनमा केसी, महत, सिंह, निधि, खड्का, खाँण, थापा, गच्छेदारलगायतका उपगूट छन् । अब त झन् यो गूटभन्दा पनि गिरोहका रुपमा विकास भैरहेका छन् पछिल्ला दिनमा । यो रोग केन्द्रमा मात्र छैन । जिल्ला र स्थानीय तहसम्मै जरा गाडेर फैलिएको छ ।
बाह्रौं महाधिवेशन यता कांग्रेसको जीवन निष्प्राणतुल्य छ । सुशील कोइराला सभापति हुँदा उनैसँग पराजित देउवाले टाँङ अँड्याएर कामै गर्न दिएनन् । बल्ल बल्ल बनाइएका केहि संरचनामा पनि ६० र ४० प्रतिशतको भागबण्डाले पार्टीलाई दुई गूटको छायाँमा परिणत गरिदियो । यसैको परिणाम उपगूटका रुपमा गिरोहहरु जन्मिए ।
संस्थाहरु जित्नेले चलाउने, हार्नेले सघाउने सिद्धान्तमा चले मात्र जिवन्त हुन्छ । प्रजातन्त्रमा आन्तरिक प्रतिष्पर्धा स्वाभाविक हो । हार्नेले जित्नलाई कामै गर्न नदिने हो भने त्यस्तो घरमा एउटै चुलोमा भात खानुको के तूक ? कोइरालाले न त विभागहरु बनाउन सके न त सचिवालय वा भ्रातृ संगठनहरुको जिवन्तता नै । उनले सभापतिको पगरी त गुथिरहे तर पार्टी संगठन निष्प्राणतुल्य नै थियो ।
कुम्हालेको चक्र झै तेह्रौं महाधिवेशनमा देउवा पार्टीको सभापतिमा निर्वाचित भए । उनले रामचन्द्र पौडेललाई दोस्रो चरणमा हराएर जितका लागि चाहिने ५१ प्रतिशत मत कटाए । तर देउवा आज त्यहि रोगको शिकार भएका छन् । जुन सुशीलका समयमा आफुले गरेका थिए ।
पौडेल समूह हिजोको त्यहि हर्कत देखाउँदै लेनादेनाको खोजी गरिरहेको छ । आफ्नो कार्यकाल सकिन लाग्दासम्म पनि केन्द्रीय समितिलाई पूर्णता दिन नसक्ने देउवाले विभाग र सचिवालय त कसरी निर्माण गर्लान् ? पौडेल समूहलाई पनि चेत भया कि, लबस्तरो ढंगले भागबण्डाको जुन माग गरिएको छ, भोलि यो आफ्ना अगाडी पनि गलपासो बन्ने निश्चित छ ।
संरचना कब्जाको लालसाले सबै भ्रातृ संस्था निकम्म्मा बनाइएका छन् । नेविसंघ, तरुण दल, महिला संघदेखि अरु आवद्धसंस्थाहरुको संरचना कसले कब्जा गर्ने भन्ने एकमात्र ध्येय छ । तत्तत् संस्थाका हित होइन आफ्नो जि हजुरी गर्ने दासहरुको खोजी भैरहेको छ । कुनै भ्रातृ संस्थाको साख बाँकी रहेको छैन ।
महाधिवेशनको समय आयो भने त्यो रणभूमिका परिणत हुन्छ । आफै आफैमा काटमार र हानाहान । हुँदाहुँदा कांग्रेससँग आवद्ध भनिएका पेशागत शुभेच्छुक संस्थाहरुको हालत उस्तै बनाइएको छ । कांग्रेसभित्र विचार, बहस, छलफल र प्रशिक्षण शून्यझै भएको छ । वैचारिक प्रशिक्षणभन्दा धनोपार्जन मूल ध्येय छ ।
२०७४ सालमा सम्पन्न तीन तहको निर्वाचनमा टिकट बाँडिएका पात्रहरुको अनुहार हेर्दा पार्टी राज्यको ढुकुटी दोहन गरेर पैसा थुपार्ने पैसावाल, ठेकेदार, बिचौलियाहरुको अखडा बन्ने बाटोमा देखिन्छ । सर्वत्र निराशा बोकिरहेका समयमा कांग्रेस चौधौं महाधिवेशनको मुखमा ठिंग उभिएको छ । गन्तव्य हराएको बसाहझै चौरास्तामा उभिएको यस पार्टीको सामुन्ने जुन संक्रमण देखिँदै छ, के वर्तमानको कांग्रेसले त्यसलाई चिरेर सुनौलो भविष्यसहितको यात्रा तय गर्न सक्ला ?
वर्तमानको नेतृत्व त ब्याज खाएरै आफ्नो समय गुजार्दै छ । तर भविष्य खोज्ने कांग्रेसीहरु यो चित्र टुलुटुलु हेरिमात्र रहनेछन् कि, हस्तक्षेप गर्ने हैसियत राख्छन् ? गूटबाट गिरोहमा गरिणत हुँदै गरेको रोगलाई अंकमाल गर्नेछन् कि जरैदेखि काट्ने कसम खान्छन् ? भावी नेतृत्वका लागि आशा गरिएका गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रदीप पौडेललगायतको युवा पुस्ता कांग्रेसमा फैलँदै गएको क्यान्सर रोक्ने आँट गर्न सक्छ ?