सदाबहार खबरको रफ्तार ....
श्रावण ७, २०८१ सोमबार
July 22, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बीपी वृक्षको कहानी : शब्द श्रद्धाञ्जली बीपीप्रति

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कांग्रेसरुपी बोट वृक्ष बीपी लगायतले बहुत ठुलो दुःख, कष्ट गरेर रोपेका, हुर्काएका, बढाएका र फैलाएका हुन् । कांग्रेसरुपी वृक्षलाई वैचारिक मलजलले सिंचन गरेर बीपीले आफ्नो वर्चस्व अरु नेताको दाँजोमा सैद्धान्तिक रूपमा अग्लो बनाउन योगदान गरे, तसर्थ बीपीको कांग्रेस भनेर सम्बोधन गर्न मान्छेहरु निको सम्झन्छ्न् । ठिक मान्छन् । यो बृक्षले थुप्रैपटक थुप्रै चोट आँधी, हुरी, झरी, बादल, असिना, पानी, हिउँ तुसारो, प्रचण्ड ताप र शिशिर बेहोरेको आफ्नै दुःख सुखको कथा छ । असह्य झटटी, ढुङ्गाको प्रहार खेपेको कहानी छ । तीर हानेर निर्ममतापुर्वक यो रुखलाई क्षत विक्षत बनाउन नखोजिएको पनि होइन । जरैदेखि उखाल्न यामानको शक्तिशाली डोजर नचलाइएको पनि होइन तर यसका जरा त्यति कमजोर थिएनन् । देशको पूर्व मेचीदेखि पश्चिम महाकाली, उत्तरको सगरमाथादेखि दक्षिणको तराईसम्म यसले आफ्नो आयाम जरामार्फत यो माटोलाई भित्रैदेखि समाएको थियो । मजबूत तवरले पक्रेको थियो । यसको चुरो यति बलियो थियो कि यसका हाँगाबिगा हजारौं पटक लुछ्दा, काटदा पनि मरेन, झन् दरो र अडिलो भएर बस्यो । हरेक प्रहार र दुःख कष्ट आफ्नो नियति सम्झ्यो तर ढलेन, झुकेन, मरेन । रुखो नै माटोमा पनि मौलाउने, हत्तपत्त नमर्ने, नर्सरी राखेर यसको बीउ बिजन उमार्नु नपर्ने, हाँगा काटे अर्थात हाँगाले माटो भेटेमात्रै पनि त्यहीँबाट जरा हाल्ने रुखको नाममा यो परिचित छ । धेरै गोडमेल गर्नु नपर्ने, मलखाद खासै नभए पनि बाचिरहने अलि अनौठो बनस्पति हो यो । थुप्रै थुप्रैपटक फल फलाएको पनि थियो । धेरैलाई आश्रय दिएको पनि थियो । कतिले आश्रय लिने क्रममा यसको हाँगामा बसेर अन्तिममा त्यही हाँगा काटेर निस्के । कतिले रुख नै धोद्रो हुने गरि यसको मेरुदण्डमा आफ्नो चुच्चोले ठुगे, धरासयी बनाए । यो वृक्षमा असाध्यै मिठा मिठा फल फले तर यसको फल कमैले मात्रै चाख्न पाए, जतिले चाखे तिनले आफूमात्रै चाखेनन्, आफ्ना सन्तान दर सन्तान सबैको लागि पुग्नेगरी ढुकुटीमा भण्डारण गरेर राखे तर सम्पुर्ण नेपाली जनतालाई बाँडेर दिन मन पराएनन् । त्यसको फल आज कांग्रेस जुन रुप, स्थिति र अवस्थामा छ, भोग्दै छ ।

इतिहासमा भएका कमजोरीको परिणाम वर्तमान र भविष्यमा क्रमशः मिल्दै जान्छ । यो वृक्ष रोप्ने बेला हुर्काउने बढाउने, सिंचाइ गर्नेबेला यसका हकवालाहरुले सबैको लागि छहारी र सबैले यसको फल चाख्न पाउने कल्पना र सपना देखेका थिए, देखाएका थिए । सबैको साझा र बराबरी भनेका थिए । तर जो जो यसको ब्यवस्थापक बने, मुलतः ती प्रायःले अपवाद बाहेक वृक्षमा फलेको फल आफैँले खाए र आफ्नालाई मात्रै खुवाए, अरुलाई दिएनन् । यसका वास्तविक हकदार विविध कारणले दायाँ बायाँ भएको बेला यसको फल जंगली जनवारहरुले पनि लुडयाउन भ्याए । त्यो बेलादेखि भत्कोश लागेको हो अलि अलि भनेर भन्ने मान्छेहरु साक्षी प्रमाण नै पेश गर्छन् । खैर जे होस्, यो वृक्षले धेरै कालसम्म अनवरत फल दिइ नै रह्यो । कसैले यसलाई बोधी वृक्ष कै रूपमा ग्रहण गरे । यो बोधी वृक्ष नै भएकोले यसलाई जोगाउन समय क्रममा हम्मे हम्मे नै नभएको पनि होइन । अहिले जस्तो सिसीटिभी त्यतिबेला थिएन, जो यसको निगरानी गर्न सुरक्षा गरेर बस्थे, ती कतिपय लोभी पापी ब्यापारीको कब्जामा पर्थे र यसको फल आफू गुटमुटु पारेर लान्थे र ठुलो ब्यापारी बन्थे । रातारात करोडौंको मालिक बने । यसले धेरैलाई घाम पानी हावाहुरीबाट बचायो, शितलता दियो पनि, धेरैको तिर्खा मेटायो । यो बृक्षको अक्सिजन लिएर मान्छेहरुले जीवन जिए र यो धर्तीमा निर्वाध भोगचलन गरे । कतिले यो वृक्षको माया पनि गरे, कतिले माया पाए तर माया दिएनन् । माया पाउनेहरुले माया दिन नसक्नु चै घात हो । घात प्रतिघातको शिकार हुँदै यो वृक्ष आजसम्म जीवित नै छ तर अब योसँग न अरुलाइ दिने उmर्जा छ, न अरुले उmर्जा नै यसलाई दिन यसको यौवन फर्काउन चार्ज नै गर्छन् । बरु यसलाई काटेर बाल्न, लुछ्न, धुलोपिठो पार्न यसमा ओतलाग्नेहरु ज्यान छोडेर लागिपरेका छन् । यसको सुकेका हाँगा भाचेर आआफ्नो चुलो बाल्न हिजो यसको ओतमा आफुलाई सुरक्षित ठान्नेहरुको प्रतिस्पर्धा छ । पात झरेर रुख खंग्रङ्ग सुकेको छ, जरा मक्किन लागिसके । यसलाई मलजल गरेमा यो रुख फेरि पलाउने, हरियो हुने र छायाँ छहारी दिने गुण भएको बनस्पति हो । एउटा हाँगाले माटो पायो भनेमात्रै पनि त्यहीँ जरा हाल्ने जातको वृक्षको रूपमा यो परिचित छ । तर कुनै नयाँ हाँगा पलायो भने त्यो लुछ्न, त्यसको मुन्टो भाँच्न यसका अंशियारहरुको भिडन्त नै चल्छ । यसको संरक्षण गर्न भन्दा यसको हांगा, जरा, पात लुछ्न र यसलाई आफ्नो जीविकाको माध्यम बनाउन यसका अंशियारहरु बहादुरी प्रदर्शन गर्छन् ।

एउटा ठुलो इतिहास र गर्वले शीर ठाडो हुने गौरवमय अतीत भएको यो वृक्षबारेमा थाहा नपाउने र नजान्ने मान्छे कमै छन् । डाँडाको टुप्पोमा भिमकाय शरीर बोकेर फैलिएको यसको फैलावट देश देशावरसम्म फैलिएको थियो र छ । यसको कृति र यश आज पनि सम्झेर कतिपय मान्छे गर्वले छाती ठोक्छन् र छाती चौडा भएको गर्वानुभुति गर्छन् । यही वट वृक्षको लागि सारा जवानी र जीन्दगी समर्पण गर्ने मान्छेहरुको भिड बाक्लै छ । आफ्नो श्री सम्पत्ति, जायजेथा सबै सबै लगानी गर्ने मान्छेहरु पनि छन् । यसलाई माया गर्ने, यसको मायामा अझै वशिभूत हुने मान्छेहरु पनि नभएका होइनन् तर तिनीहरू छायाँमा छन्, औकातबिहीन छन् । अन्यायपुर्वक कुनामा पछारिएका छन् । यसको संरक्षण गर्न हार गुहार गर्छन् तर सुनीदिने कोही छैनन् ।

बीपी जो यो वृक्षका सबैभन्दा ठुलो महान र असल प्रवर्द्धक हुन्, उनी आफू प्रधानमन्त्री हुँदा जनतालाई आफ्नोजस्तो हैसियत १५ वर्षभित्र बनाउने सपना देखेर संकल्पमा तल्लिन थिए । आज कुनै प्रधानमन्त्री, मन्त्री या नेताले आफ्नो जस्तै आर्थिक हैसियत सबै नेपालीको बनाउँछु भनेर घोषणा गर्ने हिम्मत र आँट गर्न सक्छन् ? बीपी सबैले औषधिमुलो सजिलै गर्न पाउन् भन्ने इरादा राख्थे तर आजका कांग्रेस नेता कार्यकर्ता जनता धरौटी राखेर आफ्नो स्वास्थ्य उपचार विदेशको महँगो अस्पतालमा गर्नुलाई समाजवाद सम्झन्छन् । बीपीले परिकल्पना गरेको समाजवादभित्र देशमा असमान शिक्षा प्रणाली किमार्थ स्विकार्य थिएन तर कांग्रेसहरु शिक्षा र स्वास्थ्यमा खुला आर्थिक, सामाजिक निति लागु गर्दै आय आर्जनको उत्तम र भव्य विकल्प मानेर ब्यावसाय बनाइ समाजवादको कुरुप अभ्यास गरेर धनी बनेका छन् । पैसा कमाउने मेशिन र कारखाना भएका छन् स्वास्थ्य केन्द्र र शिक्षालयहरु । बीपीले प्रधानमन्त्री हुँदा आफ्नो र मन्त्री मण्डलका सदस्यहरुको तलब र सुबिधामा भारी कटौती गरेर देशलाई कम आर्थिक भार पार्न योगदान गरे तर तिनका चेला चपेटाले कांग्रेस रुपी वृक्षका हाँगा हाँगामा भ्रष्टाचारको फल झुन्ड झुन्डमा फलाए । मानौँ भ्रष्टाचार कांग्रेसको आदर्श हो र भ्रष्टाचारीहरु कांग्रेसका आदर्श पुरुष ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रचण्ड-सत्ताच्युतपछिको वाम-आन्दोलन : हरि रोका

आज मेरो मनमा के छ ? – केपी शर्मा ओली

प्रचण्डपथमा रास्वपा – जैनेन्द्र जीवन

प्रचण्डको जादु र रास्वपाको घट्दो साख : श्यामप्रसाद मैनाली

संकटले जन्माएको स्वाभाविक गठबन्धन : गोपाल खनाल

दुई दलीय प्रणालीको बहस – इन्द्र अधिकारी

नेपाल-चीन सीमाका मुख्य मामिला – बुद्धिनारायण श्रेष्ठ

समीकरणको नीति, निष्ठा र नियत – अच्युत वाग्ले

केका लागि सत्ता परिवर्तन ? – श्यामप्रसाद मैनाली

विकास कसरी सम्भव हुन्छ ? – लोकराज बराल

प्रहरी अनुसन्धानमा राजनीतिक प्रपञ्च : राजेन्द्रसिंह भण्डारी

विस्फोटको अवस्थामा छन् कांग्रेसका भ्रातृसंस्था – एनपी साउद