सदाबहार खबरको रफ्तार ....
मंग्सिर ७, २०८३ सोमबार
November 23, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

जीवाश्म इन्धनको विवादले जलवायु वार्ता निष्कर्षविहीन

२०८३ मंग्सिर ७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

अन्ताल्या, ७ मङ्सिर (रासस/एपी) :जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा सहमति जुट्न नसक्दा टर्कीमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) साझा निष्कर्षविहीन बनेको छ । सम्मेलनको अन्तिम दस्तावेजमा कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धनको उल्लेख गर्ने कि नगर्ने भन्ने विवादले वार्ता टुङ्गोमा पुग्न सकेन ।

वार्षिक जलवायु सम्मेलनले जलवायु परिवर्तनविरुद्ध मुलुकहरूले चाल्नुपर्ने कदम समेटिएको ‘कभर डिसिजन’ नामक साझा दस्तावेज जारी गर्ने प्रयास गरेको थियो । तर, टर्कीले प्रस्तुत गरेको मस्यौदामा जीवाश्म इन्धनसम्बन्धी स्पष्ट प्रतिबद्धता नसमेटिएपछि धेरै देशले त्यसप्रति असन्तुष्टि जनाए ।

आयरल्यान्डका जलवायु, ऊर्जा तथा वातावरणमन्त्री डाराग ओ’ब्रायनले युरोपेली सङ्घ (इयु) का २७ सदस्य राष्ट्रका तर्फबाट बोल्दै प्रस्तावित दस्तावेजले जलवायु परिवर्तन सामना गर्न आवश्यक कार्य र महत्वाकांक्षा समेट्न नसकेको बताउनुभयो । जीवाश्म इन्धनको उल्लेखबिनाको जलवायुसम्बन्धी निर्णय स्वीकार गर्न नसकिने उहाँको भनाइ थियो ।

पानामाकी प्रमुख जलवायु वार्ताकार एना एगुइलारले विज्ञान र वास्तविकताले माग गरेको कदम चाल्नुको सट्टा पुराना प्रतिबद्धता दोहोर्‍याउने काम भएको टिप्पणी गर्नुभयो । कार्बन कब्जा तथा भण्डारण प्रविधिमा अत्यधिक निर्भर रहेको र यसअघि भएका सहमतिका भाषासमेत कमजोर बनाइएको उहाँको भनाइ थियो । उहाँले यसलाई जलवायु न्यायको विषयसमेत बताउनुभयो ।

मार्सल टापुकी जलवायु दूत तथा प्रमुख वार्ताकार क्याथी जेतनिल–किजिनरले विश्वले उत्सर्जन घटाउन, जनताको सुरक्षा गर्न र जलवायु वित्त उपलब्ध गराउन तत्काल कदम चाल्ने अपेक्षा गरेको बताउनुभयो । जीवाश्म इन्धनको विस्तारलाई प्रोत्साहन गर्ने र गलत समाधान प्रस्तुत गर्ने प्रस्ताव स्वीकार गर्न नसकिने उहाँको भनाइ थियो ।

संयुक्त अधिराज्यका प्रमुख जलवायु वार्ताकार केट ह्युजेसले प्रस्तावित दस्तावेजले जलवायु विज्ञान र कार्यान्वयनको गतिलाई पछाडि धकेल्ने बताउनुभयो । जलवायु कार्यमा सामूहिक महत्वाकाङ्क्षा बढाउनुपर्ने बेला प्रस्तावले त्यसलाई कमजोर बनाएको उहाँको टिप्पणी थियो ।

तर, पलाउका वातावरणमन्त्री स्टिभन भिक्टरले प्रस्तावित दस्तावेजमा केही कमजोरी भए पनि स्वच्छ विद्युतीकरण, समुद्री संरक्षण र जलवायु वित्तजस्ता सकारात्मक विषय समेटिएकाले त्यसलाई समर्थन गरेको बताउनुभयो । कार्बन कब्जासम्बन्धी प्रावधानमा असहमति भए पनि अन्य विषयलाई बेवास्ता गर्न नहुने उहाँको भनाइ थियो । साझा कभर डिसिजन पारित नभए पनि अन्य कार्ययोजना स्वीकृत भएकाले सम्मेलनलाई पूर्ण असफलता भन्न नमिल्ने उहाँले उल्लेख गर्नुभयो ।

कोप–३१ वार्ताका अध्यक्ष तथा अस्ट्रेलियाका जलवायु तथा ऊर्जा मन्त्री क्रिस बोवेनले साझा दस्तावेजमा सहमति हुन नसकेकोप्रति निराशा व्यक्त गर्नुभयो । केही मुलुकका जीवाश्म इन्धनसम्बन्धी अडान निकै कडा रहेकाले सहमति जुटाउन कठिन भएको उहाँले बताउनुभयो । यद्यपि, वास्तविक विश्वमा जीवाश्म इन्धनबाट स्वच्छ ऊर्जातर्फको परिवर्तन अपरिहार्य रहेको र त्यो प्रक्रिया अघि बढिरहेको उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ट्रम्पसँग भेट नभएपछि किमको जोड सार्वभौमिकतामा

किएभ क्षेत्रमा रुसी आक्रमणमा १४ जनाको मृत्यु

अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित

फ्रान्समा अश्रुग्यासको प्रजनन स्वास्थ्यमा असरबारे चिन्ता

क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव

कोप–३१ को अस्तव्यस्त समापन, जलवायु सम्झौतामा सहमति जुटेन

जीवाश्म इन्धन विवादले कोप–३१ अन्योलमा

इजरायलमा सरकार गठनका लागि नेतान्याहु–इसेनकोट वार्ता

अमेरिकाबाट निष्कासित २५ जना आप्रवासी लाइबेरियामा

भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो