मोरङ। मोरङको केराबारी गाउँपालिका– ७, दाहालचोकनजिक शान्तिमार्ग टोलका ५० वर्षीय उत्तमकुमार लिम्बू श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन्।
गत कात्तिक ८ गते राति करिब पौने १२ बजे ४८ वर्षीया श्रीमती सञ्चमाया राई लिम्बूको मृत्यु भएको भन्दै उत्तमकुमारले आफन्त र समाजलाई खबर गरेका थिए। मृत्यु स्वाभाविक भएको बताएपछि सामाजिक रीतिअनुसार उनको दाहसंस्कारसमेत गरिएको थियो।
तर, माइती पक्षले मृत्युको घटनाप्रति शंका व्यक्त गर्दै प्रहरीलाई जानकारी गराएपछि शवको कानुनी परीक्षण गरिएको थियो। पोस्टमार्टम रिपोर्टमा सञ्चमायाको मृत्यु घाँटी थिचेर भएको हुन सक्ने उल्लेख भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
प्रहरीका अनुसार मदिरा सेवनपछि विवाद हुँदा श्रीमतीलाई धकेलेको र त्यसपछि मृत्यु भएको उत्तमकुमारले बयान दिएका छन्। तर, उनको बयान पोस्टमार्टम रिपोर्ट तथा घटनास्थलबाट संकलित प्रमाणसँग मेल नखाएको प्रहरीले जनाएको छ।
घटनाको २४ दिनपछि इलाका प्रहरी कार्यालय बेलबारीले उत्तमकुमारलाई मंसिर १ गते पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ। मृतकका माइती पक्षले पनि उनीविरुद्ध किटानी जाहेरी दिएका छन्।
