सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णाली प्रदेशले आफ्नो पार्टीलाई मत नदिए पनि सरकारले यस क्षेत्रको विकासलाई प्राथमिकता दिने बताएका छन् ।
रास्वपाको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै लामिछानेले राजनीति निर्वाचनमा मत प्राप्त गर्ने उद्देश्यले मात्रै गर्न नहुने बताए । उनले आफूहरू कर्णालीमा भोटको सौदा गर्न नआएको उल्लेख गर्दै गत निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार सफलता हासिल गर्न नसके पनि कर्णालीको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले निर्वाचनमा कुनै क्षेत्रबाट मत प्राप्त भएन भन्दैमा त्यस क्षेत्रलाई विकासबाट पछाडि पार्न नमिल्ने धारणा राखे । कर्णाली लामो समयदेखि विकासका दृष्टिले पछाडि परेको उल्लेख गर्दै उनले यस क्षेत्रलाई विकासको मूल प्रवाहमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए ।
लामिछानेले प्रशिक्षण कार्यक्रम चलिरहँदा आफू कर्णालीका गाउँबस्तीमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूका समस्या तथा आवश्यकता सुन्ने पनि बताए । जनताका कुरा सुन्न जाँदा पार्टीका नेता तथा कार्यकर्तालाई साथमा नलैजाने उनको भनाइ थियो । यसबाट आफूले स्थानीय नागरिकका वास्तविक समस्या र अपेक्षा प्रत्यक्ष रूपमा बुझ्न चाहेको संकेत गरेका छन् ।
रास्वपाले कर्णालीलाई विशेष प्राथमिकतामा राख्दै प्रदेशस्तरीय प्रशिक्षण अभियान यहीँबाट सुरु गरेको हो । दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, संगठन सुदृढीकरण, नेतृत्व विकास तथा निर्वाचन तयारीलगायत विषयमा छलफल हुने कार्यक्रम छ ।
प्रशिक्षणमा कर्णालीका विभिन्न जिल्ला, प्रदेश तथा स्थानीय तहका करिब ३०० नेता तथा कार्यकर्ता सहभागी हुने जनाइएको छ । पार्टीले कर्णालीका १० जिल्लामध्ये आठ जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ भने डोल्पा र हुम्लामा अधिवेशन हुन बाँकी रहेको छ ।
प्रशिक्षण अभियानलाई अन्य प्रदेशमा पनि विस्तार गर्ने रास्वपाको तयारी छ ।
