सदाबहार खबरको रफ्तार ....
मंग्सिर १३, २०८३ आइतबार
November 29, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

आयुर्वेद चिकित्सालयमा पञ्चकर्म र फिजियोथेरापी सेवा लिने बढ्दै

२०८३ मंग्सिर १२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दमौली, तनहुँ, मङ्सिर १२ गते ।  चिसो मौसम सुरु भएसँगै बाथरोग, पक्षघात (प्यारालाइसिस) तथा हड्डी खिइने समस्याको उपचारका लागि यहाँस्थित प्रदेश आयुर्वेद चिकित्सालयमा सेवाग्राहीको सङ्ख्या बढ्न थालेको छ । चिकित्सालयले पञ्चकर्म र फिजियोथेरापीमार्फत उपचार सेवा प्रदान गर्दै आएको छ ।

चिकित्सालयमा पञ्चकर्मअन्तर्गत पूर्वकर्मका रूपमा स्नेहन र स्वेदन, शिरोधारा तथा बस्तीकर्मलगायतका सेवा उपलब्ध छन् । त्यस्तै, विभिन्न शारीरिक समस्याबाट प्रभावित बिरामीलाई लक्षित गरी फिजियोथेरापी सेवा पनि सञ्चालनमा रहेको छ ।

चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंका अनुसार दैनिक महिला तथा पुरुष गरी करिब ४० जनाले पञ्चकर्मअन्तर्गतका सेवा लिइरहनुभएको छ । फिजियोथेरापी सेवाअन्तर्गत दैनिक २० देखि ३० जनासम्मलाई सेवा दिन सकिने क्षमता रहेको उहाँले जानकारी दिनुभयो ।

चिसो मौसममा बाथरोग, पक्षघात तथा हड्डी खिइनेजस्ता समस्या भएका बिरामी उपचारका लागि आउने गरेका छन् । नियमित उपचार तथा सेवाप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको पाइएको छ । उपचार सेवा लिएका बिरामीमा सुधार देखिने क्रम बढ्दै गएको र यसले आयुर्वेदिक उपचारप्रति सर्वसाधारणको विश्वाससमेत बढाएको उहाँले उल्लेख गर्नुभयो ।

चिकित्सालयले पञ्चकर्म र फिजियोथेरापी सेवालाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको छ । पञ्चकर्मअन्तर्गतका विभिन्न उपचार विधि र फिजियोथेरापीले शारीरिक दुखाइ, चलायमानतामा समस्या तथा विभिन्न मासपेशी र स्नायुसम्बन्धी समस्याबाट प्रभावित बिरामीलाई उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

स्नेहनमा शरीरमा तेल वा औषधिजन्य पदार्थको प्रयोग गरी उपचार गरिन्छ भने स्वेदनमा उपयुक्त विधिबाट शरीरलाई स्वेदित गरिन्छ । शिरोधारामा निधारको भागमा निश्चित प्रक्रियाअनुसार औषधिजन्य तरल पदार्थको धारा प्रवाह गरिन्छ । त्यस्तै, बस्तीकर्म आयुर्वेदको पञ्चकर्मअन्तर्गत पर्ने उपचार विधि हो । ती सेवा बिरामीको स्वास्थ्य अवस्था र आवश्यकताका आधारमा प्रदान गरिने चापागाईंले बताउनुभयो ।

चिकित्सालयमा नश्यकर्म सेवा लिइरहेका पूर्ण विकले सेवा सुरु गरेपछि नाकसम्बन्धी समस्या कम हुँदै गएको बताउनुभयो । चिसो मौसमको सङ्क्रमणपछि नाकमा समस्या देखिएपछि आफू नश्यकर्म सेवा लिन चिकित्सालय आउन थालेको उहाँले जानकारी दिनुभयो । सेवा लिन थालेपछि समस्यामा क्रमिक सुधार हुँदै गएको उहाँको अनुभव छ ।

चिकित्सालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा नौ हजार ५०५ जनाले पूर्वकर्म तथा पञ्चकर्म सेवा लिएका थिए । सोही अवधिमा दुई हजार २४० जनाले फिजियोथेरापी सेवा लिएको र ९७ जनाले शिरोधारा सेवा प्राप्त गरेको जानकारी दिइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

किस्ट अस्पतालद्वारा मेदान्तासँगको सहकार्यमा विशेषज्ञ स्वास्थ्य सेवा दिइँदै

झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमामा आवद्ध

कर्णालीका दुर्गम बस्तीमा आँखा तथा कान उपचार सेवा पुर्‍याउँदै नेत्रज्योति सङ्घ

सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित

बैजापुरमा निःशुल्क आँखा शिविर, २१८ जनाको जीवनमा फर्कियो उज्यालो

स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसदमा दर्ता गर्ने तयारी

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

सातै प्रदेशमा प्रादेशिक ‘ट्रमा सेन्टर’ स्थापना गर्छाैँः स्वास्थ्यमन्त्री मेहता

खसीको हड्डीको सुप यस्ता स्वास्थ्य समस्या भएकाले खानु हुन्न, जान्नुहाेस्

विपन्न परिवारमा कुपोषण समस्या

काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो

साउदी अरबद्वारा नेपाल रेडक्रसलाई आठ हजार थान कम्बल हस्तान्तरण