सदाबहार खबरको रफ्तार ....
मंग्सिर १२, २०८३ शनिबार
November 28, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बर्दियामा स्थानीय तहमा भूमि प्रशासन सेवा विस्तारको तयारी

२०८३ मंग्सिर १२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बर्दिया, मङ्सिर १२ गते । भूमि प्रशासनसम्बन्धी सेवा नागरिकलाई आफ्नै स्थानीय तहबाट उपलब्ध गराउने सरकारी नीतिअनुसार बर्दियामा सेवा विस्तारको तयारी तीव्र पारिएको छ ।

जिल्लाका आठ स्थानीय तहमध्ये राजापुर र ठाकुरबाबा नगरपालिकाले सेवा सञ्चालनमा ल्याइसकेका छन् भने बाँकी छ स्थानीय तहले पनि मङ्सिरभित्र सेवा सुरु गर्ने तयारी गरेका छन् ।

भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने सरकारी योजनाअनुसार जिल्लामा पहिलो चरणको काम अघि बढाइएको हो । स्थानीय तहबाटै मालपोत तथा नापीसम्बन्धी सेवा उपलब्ध हुन थालेपछि सेवाग्राहीले सदरमुकाम वा सम्बन्धित कार्यालय धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको  छ ।

राजापुर नगरपालिकाले गत असोज १३ गतेदेखि भूमि प्रशासन सेवा सञ्चालनमा ल्याएको हो । नगरप्रमुख दीपेश थारूका अनुसार चार जना कर्मचारी करारमा नियुक्त गरी सेवा सुरु गरिएको थियो । नगरपालिकाले आफ्नै जनशक्तिसमेत परिचालन गरी हाल नौ जना कर्मचारीमार्फत सेवा प्रवाह गरिरहेको छ ।

नगरपालिकाले छुट्टै शाखा स्थापना गरी मालपोत तथा नापीसम्बन्धी सेवा दिइरहेको छ । भूमि प्रशासन शाखाका प्रमुख तथा सहायक प्रशासकीय अधिकृत सञ्जीव ज्ञवालीका अनुसार शाखामा दैनिक औसत पाँच जना सेवाग्राही सेवा लिन आउने गरेका छन् ।

राजापुर नगरपालिका र गेरुवा गाउँपालिका कार्यक्षेत्र रहेको भूमि प्रशासन कार्यालय राजापुरमै सञ्चालनमा रहे पनि नगरपालिकाले छुट्टै संरचना बनाएर सेवा दिन थालेको उहाँले बताउनुभयो ।

यसैगरी, ठाकुरबाबा नगरपालिकाले गत मङ्सिर २ गतेदेखि भूमि प्रशासन सेवा सुरु गरेको छ । नगरपालिकाले आफ्नै जनशक्ति व्यवस्थापन गरी सेवा सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाहीले बताउनुभयो । प्राविधिक सहयोगका लागि भूमि प्रशासन कार्यालय र नापी कार्यालय बर्दियासँग थप जनशक्ति माग गरिएको उहाँले जानकारी दिनुभयो । हाल दुवै नगरपालिकाले अनलाइन प्रणालीमा जग्गाधनी पुर्जाको विवरण प्रविष्टि भएका जग्गाधनीलाई मात्र सेवा उपलब्ध गराइरहेका छन् ।

राजापुर नगरपालिकाको भूमि प्रशासन शाखा प्रमुख ज्ञवालीका अनुसार मालपोततर्फ लिखत पारित, नामसारी, रोक्का तथा फुकुवालगायत सेवा प्रदान भइरहेका छन् । त्यसैगरी, नापीतर्फ जग्गा नापजाँच, रेखाङ्कन, कित्ताकाट, ट्रायल चेक तथा ट्रेस नक्सा उपलब्ध गराउने काम भइरहेको छ ।

भूमि प्रशासन कार्यालय बर्दियाका प्रमुख धर्मराज बिनाडीका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पत्राचारअनुसार स्थानीय तहले एक महिनाभित्र सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था छ । मन्त्रालयले गत कात्तिक १६ गते जारी गरेको सूचनाबमोजिम मङ्सिर १६ गतेभित्र जिल्लाका सबै स्थानीय तहमा सेवा सुरु गर्ने लक्ष्यसहित समन्वय भइरहेको उहाँले बताउनुभयो ।

बर्दियाका आठवटै स्थानीय तहमा सेवा सञ्चालनका लागि भूमि प्रशासन कार्यालयले सहजीकरण गरिरहेको छ । सेवा सुरु गर्न बाँकी स्थानीय तहसँग निरन्तर समन्वय भइरहेको प्रमुख बिनाडीले जानकारी दिनुभयो ।

बढैयाताल गाउँपालिकाले पनि मङ्सिरभित्रै सेवा सञ्चालन गर्ने तयारी गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारूका अनुसार सेवा प्रवाहका लागि आवश्यक कर्मचारी माग गर्दै मन्त्रालयमा पत्राचार गरिएको छ ।

नापी कार्यालय बर्दियाले स्थानीय तहमा नापीसम्बन्धी सेवा सञ्चालनका लागि समन्वय गरिरहेको छ । सेवा सुरु हुन बाँकी पालिकामा सेवा सञ्चालनका विषयमा निरन्तर छलफल भइरहेको नापी कार्यालयका सहायक प्रमुख नापी अधिकृत कृष्णप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार हाल फोनमार्फत समन्वय भइरहेको छ भने आगामी साता सबै पालिकामा पुगेर आवश्यक सहजीकरण गर्ने तयारी गरिएको छ ।

यसअघि भूमि प्रशासन कार्यालयले गत मङ्सिर ३ गते जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै सेवा सञ्चालनका लागि आवश्यक समन्वय र सहजीकरण गर्न पाँच जना कर्मचारीलाई ‘फोकल पर्सन’ तोकेको थियो । पहिलो चरणमा मन्त्रालयसँग भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनका लागि सम्झौता गरेका देशभरका १३३ स्थानीय तहमध्ये बर्दियाका राजापुर र ठाकुरबाबा नगरपालिकाले कार्यालयको पत्राचारअघि नै सेवा सुरु गरिसकेको प्रमुख बिनाडीले बताउनुभयो ।

पहिलो चरणमा स्थानीय तहले अनलाइन प्रणालीमा जग्गाधनी पुर्जाको नम्बर प्रविष्टि भएका जग्गाधनीलाई आधारभूत सेवा उपलब्ध गराउने छन् । यसअन्तर्गत जग्गाधनी पुर्जा वितरण, पुर्जामा भएका सामान्य त्रुटि सच्याउने, नामसारी तथा अंशबण्डालगायत सेवा प्रवाह गरिनेछ ।

भूमि प्रशासन कार्यालयका अनुसार हाल सबै जग्गाको विवरण अनलाइन प्रणालीमा प्रविष्ट भइसकेको छैन । प्रविष्ट हुन बाँकी विवरण अद्यावधिक गर्ने काम भइरहेको छ ।

त्यसैगरी, भूमि प्रशासनसम्बन्धी सबै कागजात र अभिलेखसमेत स्थानीय तहमा हस्तान्तरण भइसकेका छैनन् । स्थानीय तहको संस्थागत क्षमता र जनशक्तिको दक्षता अभिवृद्धि हुँदै गएपछि क्रमशः थप सेवा हस्तान्तरण गरिने प्रमुख बिनाडीले बताउनुभयो ।

सरकारी रणनीतिअनुसार आगामी दिनमा भूमि प्रशासनसम्बन्धी सबै सेवा स्थानीय तहबाटै सञ्चालन गर्ने लक्ष्य रहेको छ । त्यसपछि भूमि प्रशासन कार्यालयले समन्वय, अनुगमन तथा निरीक्षण गर्ने र स्थानीय तहबाट सम्भव नभएका काममा सहयोग गर्ने भूमिका निर्वाह गर्ने उहाँले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता

सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम

तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द

उपत्यकाका यी क्षेत्रमा बिहान १० देखि दिउँसो ३ बजेसम्म बिजुली बन्द हुने

सप्तरीमा एक हजार मतदाता थपिए

बागमतीका तीन जिल्लामा गाँजाखेतीविरुद्ध प्रहरी अभियान तीव्र

बाँकेमा अझै सुरु भएन धान खरिद प्रक्रिया

हेंवाखोलामा डाइभर्सन नबन्दा साना सवारीसाधन ठप्प, स्थानीयलाई दोब्बर दूरीको सास्ती

चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

काठमाडौँ उपत्यकामा २४ घण्टामा ८८४ सवारी चालक कारबाहीमा

आज देशभरको मौसम मुख्यतया सफा रहने