सदाबहार खबरको रफ्तार ....
श्रावण ७, २०८१ सोमबार
July 22, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेसनल मेडिकल कलेजमा विद्यार्थी कुटिए

२०७६ मंग्सिर ७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारले तोकेभन्दा बढी शुल्क उठाउने वीरगन्जको नेसनल मेडिकल कलेजमा आन्दोलित विद्यार्थी कलेजभित्रै कुटिएका छन् । शुल्क फिर्ताको माग गर्दै शुक्रबार साँझ केहीबेर कलेज अगाडि विरोध प्रदर्शन गर्ने क्रममा एमबिबिएस पहिलो वर्षका विद्यार्थी कुटिएका हुन् ।

केही विद्यार्थीलाई हातमा लिएर कलेज प्रशासनले योजनाबद्ध आक्रमण गरेको पीडित विद्यार्थीले बताएका छन् । केही सिनियर विद्यार्थीले बिहीबार पनि उनीहरूलाई मध्यरातसम्म होस्टेल छिर्न दिएका थिएनन् ।

एक महिनादेखि आन्दोलित नेसनलका विद्यार्थी पछिल्लो समय रिले अनसनमा छन् । सुरुमा सरकारी प्रशासन र बाउन्सर लगाएर आन्दोलन दबाउन लागेको कलेजले अहिले केही सिनियर विद्यार्थी प्रयोग गरेर दमन गर्न थालेको उनीहरूको गुनासो छ ।

‘केही सिनियर विद्यार्थीले परीक्षाको मुखमा आन्दोलन नगर भन्दै हामीलाई केही दिनदेखि दबाब दिइरहेका छन् । परीक्षा त हाम्रो पनि छ, लाखौँ खर्चेर पढ्न आएका हामीलाई पनि आन्दोलन गर्ने रहर होइन । कलेजको अत्याचारविरुद्ध लड्न बाध्य भएका हौँ,’ विद्यार्थी धनबहादुर तामाङले भने, ‘न्यायको यो लडाइँमा सिनियरको साथको अपेक्षा राख्दा थप अन्याय भएको छ । केही व्यक्ति कलेज प्रशासनबाट योजनाबद्ध प्रयोग भएकोमा हामीलाई डर छ,’ उनले भने ।

उता, चितवन मेडिकल कलेजले जिल्ला प्रशासनको रोहवरमा गरेको सहमति कार्यान्वयन नगरेपछि विद्यार्थीले पुनः आन्दोलन गर्ने भएका छन् । बढी शुल्क समायोजन या फिर्ता गर्ने सहमति गरे पनि कलेजले कार्यान्वयन गरेको छैन । विद्यार्थीले शुल्क फिर्ताको दबाबका लागि आइतबार आन्दोलन गर्दै छन् । चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता नरेश भट्टले आइतबार बृहत् र्‍याली आयोजनाको तयारी भइरहेको बताए । ‘सो र्‍यालीमा विद्यार्थीको न्यायका लागि टोलटोलका युवाले पनि साथ दिनेछन्’, भट्टले भने । चितवन मेडिकलले प्रतिविद्यार्थी २ लाखसम्म बढी शुल्क उठाएको विद्यार्थीको आरोप छ ।

युनिभर्सल मेडिकल कलेजका विद्यार्थी पनि एक हप्तादेखि रिले अनशनमा छन् । कलेजको एकेडेमिक कोठाहरूमा तालाबन्दीसमेत गरेका छन् । केही दिनदेखि कलेज प्रशासनले विद्यार्थीलाई वार्ताबाट समाधान निकाल्ने भन्दै आस देखाइरहेको छ । तर, दबाब कमजोर बनाउने रणनीति हुन सक्ने भन्दै विद्यार्थीले वार्तासँगै आन्दोलन पनि जारी राखेका छन् । ‘केही दिनदेखि कलेज प्रशासनसँग वार्तामा पनि बसिरहेका छौँ, उसले जायज माग भए सम्बोधन गर्ने भनेको छ,’ एक विद्यार्थीले भने, ‘छलछाम गरे झन् कडा आन्दोलन गर्छौँ ।’

विगतमा जिल्ला प्रशासनको रोहवरमा विद्यार्थीसँग सहमति गरेर पनि बढी शुल्क फिर्ता नगरेको गण्डकी मेडिकल कलेजले पनि फेरि वार्ता गरौँ भन्दै विद्यार्थीलाई काठमाडौं बोलाएको छ । पछिल्लोपटक शिक्षा मन्त्रालयले रकम फिर्ता गर्न दिएको समय सकिन चार दिन बाँकी छँदा कलेजले वार्ताका लागि काठमाडौं बोलाएको एक विद्यार्थीले बताए । केही साथी काठमाडौं आएको पनि उनले बताए । विद्यार्थी र कलेज प्रशासनबीच शुक्रबार छलफलसमेत भएको छ । तर, टुंगोमा नपुगेको ती विद्यार्थीले बताए । ‘प्रशासनले ३–४ दिनभित्रै निकास निकाल्ने बताएको छ । उसले विश्वविद्यालयले लिन भनेका केही शीर्षक हामीलाई देखाएको छ । तर, त्यसमा हामीले सहमति जनाएका छैनौँ,’ उनले भने । विश्वविद्यालयले लिन भनेको भन्दै कलेजले देखाएको शीर्षकबारे त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त बाँस्कोटालाई भेटेर एकपटक छलफल गर्ने उनले बताए । यो खबर नयाँपत्रिकामा प्रकाशित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रिविमा पनि मौका परीक्षा

बंगलादेशको आरक्षण कोटा खारेज

नयाँ रणनीतिसाथ बस र यात्रु खोजिँदै

आन्दोलन चर्किएपछि ८ सय नेपाली विद्यार्थीले छाडे बंगलादेश

ओलीको पक्षमा दुई तिहाइ निश्चित

उच्च अदालतको कार्यसम्पादन वृद्धि

एक वर्षमा थपियो ३ खर्ब ५८ अर्ब २ करोड ऋण

सत्तासमीकरणको मर्मविपरीत पाण्डे सरकार

राजस्व र अनुदान संकलनमा सरकार असफल

केपी ओली सरकारः प्रधानमन्त्री दुई वर्षमा, मन्त्री एक वर्षमा फेरिने

बाढीपहिरो न्यूनीकरणका उपाय

पिआर लिएको आरोपमा उच्चपदस्थ छानबिनमा