यसपटकको उपनिर्वाचनमा एकसाथ एउटा प्रतिनिधिसभा, तीनवटा प्रदेश सभा, एउटा उपमहानगरपालिकाको मेयर, तीनवटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्ष र बाँकी ४३ वटा वडाध्यक्ष पद दाउमा भएकाले यो सानोतिनो मध्यावधि निर्वाचनजस्तै थियो । फेरि के सत्तारुढ दल, के प्रतिपक्षी दल, के आफूलाई वैकल्पिक शक्तिका रूपमा स्थापित हुन अघि सरेका दल, सबैले यस निर्वाचनमा जिउज्यानले आफ्नो सबै शक्ति होमे ।
सत्तारुढ नेकपाले यसलाई आफ्नो सफल कार्यकालप्रति जनताको अनुमोदन पाउने अर्थमा व्याख्या ग-यो भने प्रमुख प्रतिपक्षले यसलाई जनताले आफूलाई जिताएर सरकारलाई सबक सिकाउने अर्थमा प्रचारित ग-यो । साझा पार्टीले त मूलधारका राजनीतिक दलसँग जनता आजित भइसकेकाले आफूहरूलाई विजयमाला पहि-याएर इतिहास रच्ने ढंगले प्रचार गर्यो ।
तर, परिणामले यीमध्ये कसैको दाबीलाई पनि अनुमोदन गरेन । पहिला, सत्तारुढ नेकपाकै चर्चा गरौँ । दाउमा रहेको ५२ पदमध्ये ३० पदमा जितेर र आफ्नो प्रमुख प्रतिस्पर्धी दल कांग्रेसलाई १३ स्थानमा खुम्च्याउन सफल भएर पनि यो दलमा विजयको अनुभूति आएन । किनकि बाहिर नदेखाए पनि यो दल आफ्नो गढ मानिएको भक्तपुरको प्रदेश सभा सदस्य पद र धरान उपमहानगरपालिकाको मेयर पद कांग्रेसको हातमा सुम्पनुपर्ने अवस्थामा पुग्यो ।
हुन त निर्वाचन परिणामलाई लिएर यस पार्टीको आधिकारिक धारणा आइसकेको छैन, तथापि त्यसका केही नेताका अभिव्यक्तिमा अनौठो विरोधाभास देखिन्छ । कोही जितको संख्यात्मक पक्ष औँल्याएर पार्टीको लोकप्रियता बढेको भन्न अघि सरेका छन् र भक्तपुर र धरानको पराजयमा उम्मेदवार चयनको प्रभाव, पार्टी एकीकरणको संक्रमण र स्थानीय तहका कामलाई दोष दिन्छन् । त्यहीँ कोही कास्की र दाङको जितमा पार्टीको लोकप्रियताभन्दा पनि सहानुभूतिको भूमिका देख्छन् तथा भक्तपुर र धरानको पराजयलाई ‘ब्लो अप’ गरेर पार्टीको लोकप्रियता घटेको भन्छन् । एउटै पार्टीभित्र यो विपरीत विश्लेषणको अन्तर्यमा सत्ताको निकटता र दूरीले काम गरेको प्रतीत हुन्छ ।
जहाँसम्म कांग्रेसको सन्दर्भ छ, यो निर्वाचनले सत्तारुढ दललाई जनताले पराजित गरेर सबक सिकाउँछन् भन्ने उसको दाबीमा कुनै दम देखिएन । ५२ सिटमध्ये ३० सिट नेकपालाई सुम्पेर १३ मा चित्त बुझाउनुपर्ने उसको अवस्थाले त्यो कुरा बोलेन । यो बेग्लै कुरा हो कि भक्तपुरको प्रदेश सभा सदस्य र धरानको मेयरको जितले उसका लागि ‘कोरामिन’को काम गरेको छ । त्यसको बलमा त उसका प्रवक्ताले बर्लिनको पर्खाल ढल्यो सम्म भन्न भ्याए । तर, निर्वाचन परिणामप्रति पार्टी सन्तुष्ट छैन भन्ने कुराको पुष्टि स्वयं सभापति देउवाको नेकपाले बम पडकाएर चुनाउ जित्यो भन्ने अभिव्यक्तिले दिन्छ । अझ खुलेर त त्यस पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल बोले । निर्वाचन परिणामको समीक्षा गर्दै उनले जनता सरकारसँग असन्तुष्ट भए पनि कांग्रेस भरोसा गर्न योग्य भएन भन्ने संकेत हो सम्म भने ।
यस निर्वाचनमा सबैभन्दा ठूलो दुर्गति त आफूलाई वैकल्पिक राजनीतिका प्रणेता हुँ भन्ने साझा पार्टीको भयो, जसले निर्वाचन लडेको कुनै क्षेत्रमा पनि हजारको आँकडा पार गर्न सकेन । आफ्नो यो दुर्गतिको कुण्ठा त्यस पार्टीका प्रमुख रवीन्द्र मिश्रले सामाजिक सञ्जालमा मत परिणामले व्यापक भ्रष्टता, अक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसद्को खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन गरिदिएको भनेर मतदाताप्रति तितो पोखेर व्यक्त गरे । वास्तवमा समस्या आफूमा थियो तर उनी दोष मतदाताले देखाएको ऐनालाई दिएर उम्कन खोजे ।
अब एकपटक निर्वाचन परिणामको गणितले दिएको सन्देशतर्फ हेरौँ । यस निर्वाचनलाई राजनीतिक दलहरूले राष्ट्रिय मुद्दामा केन्द्रित गर्न खोजे पनि जनताले त्यसतर्फ बाल दिएनन् । तिनको मतदान व्यवहार हेर्दा तिनले अघिल्ला प्रतिनिधिको कार्य सम्पादन र तत्तत् ठाउँका स्थानीय मुद्दालाई नै निर्णयको आधार बनाएको देखिन्छ । पंक्तिकारको यस आँकलनको पुष्टि कांग्रेसले जितेको सात ठाउँमा नेकपाले जितेको र नेकपाले जितेको ६ ठाउँमा कांग्रेसले जितेकोबाट हुन्छ । यो तब सम्भव हुन्छ, जब मतदाता अघिल्लो प्रतिनिधिको कामबाट सन्तुष्ट हुँदैनन् ।
मतदाताको यो मतदान व्यवहारले के सन्देश दिन्छ भने उनीहरू कुनै राजनीतिक दलका दास होइनन् र ती आफ्नो मर्जीका मालिक हुन् । यसको सबैभन्दा प्रस्ट र सबैले सुन्ने गरी सन्देशचाहिँ भक्तपुर, भरतपुर र धरानले दियो । विचार गरौँ त, जुन धरान र भरतपुरमा एमाले र माओवादी बेग्लाबेग्लै चुनाव लड्दा पनि एमालेले जितेको थियो, आज त्यही ठाउँमा पार्टी एकीकरणपश्चात् पनि पराजय झेल्नुप-यो । अझ भक्तपुरले त पार्टी एकीकरणपश्चात् पनि दुवैको मत र मनसमेत नमिलेको हो कि भन्नेसम्म पनि देखायो ।
यसपटकको निर्वाचन परिणाम सबै दलका लागि ‘वार्निङ बेल’ साबित भयो र त्यसले दिएको सन्देशलाई आत्मसात् गरेर ती सच्चिन सके भने तिनको र मुलुकको एकसाथ कल्याण हुने थियो
यसपटक दुई ठूला पार्टीको जित–हारमा उम्मेदवार चयनले पनि प्रभाव पा-यो । जनतामा लोकप्रियलाई गुटगत रुझानका कारण पन्छाउनाले पनि जित हारमा परिणत भएको देखिन्छ । प्युठानको एउटा वडामा वाम गठबन्धनको मोहमा राष्ट्रिय जनमोर्चालाई उम्मेदवारी सुम्पेको ठाउँमा नेकपाका बागी उम्मेदवारले बाजी मार्नुले उम्मेदवारको जनाधारलाई बेवास्ता गर्न हुने रहेनछ भन्ने पाठ सिकाएको छ । कास्की र दाङमा उपयुक्त उम्मेदवार चयन भएका कारण नेकपाले मतदाताको समानुभूतिलाई समेत पुँजीकृत गर्न सक्यो र जित सुनिश्चित ग-यो ।
कुरा जे होस्, नेकपाले २०१६ सालदेखि आजसम्मको निर्वाचनमा कहिल्यै नहारेको धरानमा किन हारियो, र भक्तपुर र भरतपुरमा के बितल प-यो र हारियो, त्यसको निर्मम समीक्षा गर्न जरुरी छ । त्यस्तै कांग्रेसले पनि त्यही तीन सिट नेकपासँग खोस्न सकियो भन्नेमा मात्र रमाउनुभन्दा समग्र निर्वाचनमा किन परिणाम आफ्नो पक्षमा ल्याउन सकिएन, त्यसको खोज गर्न जरुरी छ । मतदाताको यही प्रवृत्ति दोहोरियो भने अर्को आमनिर्वाचनमा पनि विपक्षमै बस्नुपर्ने खण्ड आउन सक्छ भन्ने उसले बुझ्न जरुरी छ ।
समग्रमा हेर्दा यो निर्वाचनले मुलुकको आगामी राजनीतिक दिशाबारे केही स्पष्ट सन्देश दिएको देखिन्छ । पहिलो कुरा, जसले जे भने पनि आगामी दिनमा समेत मतदाताको रोजाइमा कि कम्युनिस्ट कि कांग्रेस नै हुने रहेछन् । मतदाताले यिनै दुईलाई एकअर्काको विकल्प मानेका रहेछन् ।
एउटासँग विश्वास खण्डित भो भने जनताले आफ्नो विश्वास अर्कोमा खन्याउने रहेछन् । र, यही प्रवृत्ति रह्यो भने मुलुक दुई दलीय व्यवस्था वा दुई दलीय गठबन्धनको व्यवस्थातर्फ अभिमुख हुने रहेछ । दोस्रो कुरा, संघीय समाजवादी र नयाँ शक्तिसँग एकीकरण गरेर प्राविधिक रूपमा मात्र होइन, साँच्चै राष्ट्रिय दल बन्ने जतिसुकै प्रयत्न गरे पनि अशोक राई वा बाबुराम भट्टराई होइन, मतदाताले पत्याउने त उपेन्द्र यादवलाई नै रहेछन् र त्यस पार्टीको ट्याग फोरम र मधेसकेन्द्रित नै रहने भयो भन्ने कुरा समाजवादी पार्टीले मधेसमा मात्र जितेकोबाट पुष्टि भयो ।
तेस्रो कुरा, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण नहुन्जेल यिनले प्रमुख दुई दलबाट सत्ताको चाबी खोस्ने र गठबन्धन सरकार निर्माण गर्ने हैसियत बनाउन सक्ने रहेनछन् भन्ने पनि यिनको भोट आपसमा बाँडिएर पराजित हुनुपरेकोबाट साबित भयो । चौथो कुरा, हिन्दुत्व र राजतन्त्रको ‘अजेन्डा’ अब नेपाली मतदातामाझ बिक्रीको माल रहेन भन्ने तथ्य सबै ‘ब्रान्ड’का राप्रपाको यो निर्वाचनमा भएको कन्तबिजोगबाट प्रमाणित भयो । र पाँचौँ कुरा, सहरमा, सामाजिक सञ्जाल एवं मिडियामा मात्र हल्लिखल्ली गरेर वैकल्पिक शक्तिका रूपमा जनताले पत्याउने रहेनछन् भन्ने कुरो साझा, विवेकशील र जनमत पार्टीलाई जनताले गरेको बेवास्ताले पुष्टि ग-यो ।
या त यो विकल्प खोज्ने वेला भइसकेको रहेनछ, या संगठनात्मक आधार बेगरको दाबी प्रतिदाबीको निर्वाचनमा कुनै महत्व हुँदो रहेनछ भन्ने देखियो । यसपटकको निर्वाचन परिणाम सबै दलका लागि ‘वार्निङ बेल’ साबित भयो र त्यसले दिएको सन्देशलाई आत्मसात् गरेर ती सच्चिन सके तिनको र मुलुकको एकसाथ कल्याण हुने थियो । यो लेख नयाँपत्रिकामा प्रकाशित भएको छ ।
