काठमाडाैं- भिड नियन्त्रणमा मात्र खटाउने गरी नेपाल प्रहरीमा शक्तिशाली गण स्थापनाको प्रक्रिया अघि बढेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को कमान्डमा एक हजार जनशक्ति रहने गरी ‘द्रुत कारबाही गण’ स्थापना गर्न लागिएको हो । गणका लागि दरबन्दी थपसम्बन्धी प्रस्ताव गृह मन्त्रालयले सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ ।
विगतमा भिड नियन्त्रणमा भएका कमजोरीबाट सिकेर विशेष तालिमसहितको गण स्थापना गर्न लागिएको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष मातहत हुने यस्तो गण स्थानीय प्रहरीले सहयोग मागेको अवस्थामा खटिन्छ । गृह मन्त्रालयका एक अधिकारीका अनुसार केन्द्रीय रिजर्भ फौजका रूपमा यसलाई विकास गर्ने अवधारणा छ ।
प्रहरीमा समग्रमा एक हजार ६७८ दरबन्दी थपको प्रस्ताव अघि बढेको छ । नयाँ कार्यालयका रूपमा भने गण मात्र स्थापना गर्न लागिएको छ । बाँकी दरबन्दी हालै कार्यालयमा थप्न लागिएको एक उच्च प्रहरी अधिकारीले बताए । केन्द्रीय अनुसन्धान ब्युरो, स्टाफ कलेज, साइबर ब्युरो, विधि विज्ञान प्रयोगशालालगायत निकायमा दरबन्दी थप्न लागिएको छ । सुरुमा प्रहरीले दुई हजार १९४ दरबन्दी थपको प्रस्ताव गरेको थियो । पछि संशोधन गरी एक हजार ६७८ मा सहमति जुटेको हो । यसमा ठुलो बजेट पनि आवश्यक हुने भएकाले अर्थ मन्त्रालयको सहमति महत्वपूर्ण हुनेछ । अर्थसँग पनि प्रारम्भिक छलफल गरेरै प्रस्ताव अघि बढेको स्रोत बताउँछ ।
नियमित शान्तिसुरक्षा र भिड नियन्त्रणमा हाल एउटै फौज खटिने गरेको छ । जसले गर्दा भिड नियन्त्रणमा कमजोरी बाहिरिँदै आएको छ । अर्कोतर्फ फिल्डमा पनि समन्वय राम्रो हुने गरेको छैन । गत वर्षको जेन–जी अन्दोलनमा पनि त्यो समस्या देखिएको थियो । २३ भदौमा भिड नियन्त्रणमा कमजोर भएकै कारण अत्यधिक बल प्रयोग हुन गएको प्रहरी अधिकारी बताउँछन् ।
हाल सामान्य प्रदर्शनमा पनि अर्धसैन्य संरचनाको सशस्त्र प्रहरी बललाई खटाउनुपर्ने अवस्था छ । अब, प्रहरीको द्रुत कारबाही गणले पनि नसकेको अवस्था मात्र सशस्त्र प्रहरी खटाउने गरी गृह मन्त्रालयले रणनीति बनाइरहेको छ । जनशक्ति थपसँगै भिड नियन्त्रणसँग सम्बन्धित सामग्री खरिदमा पनि गृह र प्रहरीबिच छलफल चलिरहेको छ । नयाँपत्रिका
