चितवन, ८ मङ्सिरः क्यान्सरका बिरामी बढ्दै गएकाले समयमै रोग पहिचान र उपचारका लागि नर्सहरूलाई अङ्कोलोजी नर्सिङ तालिम आवश्यक रहेका विज्ञहरूले जोड दिएका छन् ।
अङ्कोलोजी नर्सिङ अध्ययन एवं तालिम गरेकाहरूले समयमै क्यान्सर पहिचान र उपचारका लागि आवश्यक सुझाव दिन सहज हुने गर्दछ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष प्रा डा योगेन्द्रप्रसाद सिंह क्यान्सरका बिरामीको गुणस्तरीय उपचार र हेरचाहका लागि अङ्कोलोजी नर्सिङको दायरा फराकिलो बनाउनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चिकित्सक विभिन्न विधामा विशेषज्ञ बन्दै गएको अवस्थामा नर्सलाई विशेष विषयमा दक्ष बताउनुपर्छ ।”
क्यान्सर उपचारमा नर्सको भूमिका अझ प्रभावकारी बनाउन आवश्यक रहेको उहाँको भनाइ छ । हाल क्यान्सर अस्पतालको नर्सिङ कलेजमा अङ्कोलोजी नर्सिङसम्बन्धी अध्ययन तथा तालिम हुँदै आएको भए पनि त्यसलाई अस्पतालमा मात्र सीमित नराखी देशव्यापी बनाउनुपर्ने उहाँको भनाइ छ ।
उहाँले क्यान्सरको हेरचाह यहाँ मात्रै नभएर काठमाडौँ, पोखरा, विराटनगरलगायत देशका धेरै भागमा आवश्यक रहेको बताउनुभयो । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले क्यान्सर रोगको उपचार र बिरामीको हेरचाहलाई थप प्रभावकारी बनाउन देशभरका नर्सलाई अङ्कोलोजी नर्सिङ तालिम आवश्यक रहेको बताउनुभयो । तालिम उपलब्ध गराउन सकिए समयमा रोगको पहिचान र उपचारमा सहज हुने उहाँको भनाइ छ ।
क्यान्सर अस्पतालको नर्सिङ क्याम्पस प्रमुख लक्ष्मी न्यौपानेले चिकित्सकको विशेषज्ञता विस्तार हुँदै गएसँगै नर्सिङ क्षेत्रमा पनि विषयगत विशेषज्ञता विकास गर्नुपर्ने र त्यसको नेतृत्व बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले गर्नुपर्ने बताउनुहुन्छ ।
क्यान्सर अस्पतालमा भारतका सीमावर्ती क्षेत्रबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् । यस अस्पतालले देशकै क्यान्सर उपचारको नेतृत्व गर्दै आएको छ ।
