सदाबहार खबरको रफ्तार ....
मंग्सिर ११, २०८३ शुक्रबार
November 27, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक पर्यटनमा उत्साह

२०८३ मंग्सिर ११, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जनकपुरधाम, ११ मङ्सिरः त्रेतायुगीन रामायणकालीन सभ्यतासँग जोडिएका दुई ऐतिहासिक धार्मिक नगरी जनकपुरधाम र अयोध्याबीच अब रेलमार्गबाट प्रत्यक्ष सम्पर्क स्थापित भएको छ । माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्यालाई जोड्ने रेल सेवाले नेपाल–भारतबीच सदियौँदेखि कायम धार्मिक, सांस्कृतिक तथा भावनात्मक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने जनकपुरधामवासीको अपेक्षा छ ।

रामायणमा वर्णित राम–सीताको प्रेम, आदर्श, त्याग र समर्पणसँग जोडिएका यी दुई ऐतिहासिक सहरबीच रेल सेवा सञ्चालन हुनुलाई सामान्य यातायात सुविधाका रूपमा मात्र हेरिएको छैन । यसलाई दुई देशको साझा धार्मिक सभ्यता, सांस्कृतिक विरासत र जनस्तरको आत्मीय सम्बन्धलाई थप मजबुत बनाउने महत्वपूर्ण माध्यमका रूपमा लिन सकिन्छ । रेल सेवाले दुवै देशका श्रद्धालु तथा पर्यटकलाई सहज आवागमनको अवसर प्रदान गर्नुका साथै धार्मिक पर्यटन, स्थानीय व्यापार र आर्थिक गतिविधिमा नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ ।

जनकपुरधाम र अयोध्या धार्मिक आस्थाका दृष्टिले नेपाल र भारतका महत्वपूर्ण तीर्थस्थल हुन् । जनकपुरधामलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान् रामको जन्मभूमिका रूपमा श्रद्धापूर्वक स्मरण गरिन्छ । यी दुई सहरबीचको सम्बन्ध धार्मिक ग्रन्थ, परम्परा र सांस्कृतिक मान्यतामा मात्र सीमित छैन, दुवै देशका नागरिकको भावनासँग पनि गहिरोसँग जोडिएको छ । अब रेलमार्गबाट प्रत्यक्ष जोडिएपछि रामायणकालीन धार्मिक स्थलको दर्शन गर्न चाहने श्रद्धालुका लागि यात्रा थप सहज हुने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा गत मङ्सिर ७ गते नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा हरियो झण्डा देखाएर उक्त रेल सेवाको शुभारम्भ गर्नुभएको थियो । जनकपुरधाम र अयोध्याबीच धार्मिक यात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयू–कमला एक्सप्रेस रेल सेवा यही शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने तयारीमा छ ।

उद्घाटन भएको एक साताभित्रै रेलसेवा व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार अयोध्याबाट शनिबार बिहान जनकपुरधाम आइपुग्ने रेलको व्यावसायिक सञ्चालनका लागि टिकट बुकिङ खुला गर्ने तयारी भइरहेको छ । टिकटको भाडादर निर्धारण गर्ने विषयमा छलफल भइरहेको र केही प्राविधिक काम बाँकी रहे पनि जनकपुरधाम रेल्वे स्टेसनबाटै टिकट खरिद गर्न सकिने व्यवस्था मिलाउन लागिएको उहाँले बताउनुभयो ।

अनलाइनबाट टिकट लिन चाहने यात्रुले भारतकै टिकट प्रणालीमार्फत टिकट बुक गर्न सक्नेछन् भने नेपालबाटै टिकट लिन चाहने यात्रुले जनकपुरधाम रेल्वे स्टेसनमा पुगेर टिकट खरिद गर्न सक्नेछन् । यस व्यवस्थाले नेपाली यात्रुलाई टिकट प्राप्त गर्न सहज हुने विश्वास गरिएको प्रबन्ध सञ्चालक पराजुलीको विश्वास छ । उहाँका अनुसार रेलमा यात्रा गर्न नेपाली नागरिकले नेपाल सरकारबाट जारी गरिएका परिचयपत्रमध्ये कुनै एक अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ । यात्रुले नेपाली नागरिकता, राहदानी वा मतदाता परिचयपत्रका आधारमा टिकट लिनसक्ने व्यवस्था गरिएको छ ।

जनकपुरधाम–अयोध्या रेलमा कुल १७ वटा डिब्बा रहनेछन् । जसमा वातानुकूलित द्वितीय श्रेणीका दुई, वातानुकूलित तृतीय श्रेणीका तीन, तृतीय इकोनोमी श्रेणीका तीन, शयनयान श्रेणीका सात र एसएलआरका दुई डिब्बा समावेश छन् । विभिन्न श्रेणीका डिब्बा समावेश गरिएकाले यात्रुले आफ्नो आवश्यकता र सुविधाअनुसार यात्रा गर्न सक्नेछन् ।

निर्धारित समयतालिकाअनुसार प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्याका लागि रेल प्रस्थान गर्नेछ भने सोमबार अयोध्याबाट जनकपुरधाम फर्कनेछ । साप्ताहिक रूपमा सञ्चालन हुने यस सेवाले विशेषगरी माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्याको दर्शन गर्न चाहने दुवै देशका तीर्थयात्रीलाई सहजता प्रदान गर्ने छ ।
करिब ६०४ किलोमिटर दूरी तय गर्ने रेलले भारतको बिहार तथा उत्तर प्रदेशका विभिन्न प्रमुख सहर हुँदै जनकपुरधामलाई अयोध्यासँग जोड्नेछ । रेलमार्गमा जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्याधामलगायत स्थानमा व्यावसायिक बिसौनी रहने प्रबन्ध सञ्चालक पराजुलीले बतानुभयो । ती स्थानबाट यात्रु चढ्न तथा ओर्लन सक्ने व्यवस्था गरिएको छ । यसले जनकपुरधाम र अयोध्यालाई मात्र नभई रेलमार्गमा पर्ने विभिन्न सहरका यात्रुलाई समेत लाभ पु¥याउने अपेक्षा गरिएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जितेन्द्र महासेठले जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । उहाँका अनुसार माता सीताको जन्मभूमि र भगवान् रामको जन्मभूमिबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित हुनु दुवै देशका श्रद्धालुका लागि ऐतिहासिक अवसर हो । उहाँले यस सेवाले जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । रामायणसँग जोडिएका धार्मिक स्थलबीच सहज आवागमन हुन थालेपछि भारतका विभिन्न क्षेत्रबाट जनकपुरधाम आउने पर्यटकको सङ्ख्या बढ्नसक्ने उहाँको भनाइ छ । उहाँले रेल सेवाले धार्मिक पर्यटनसँगै नेपाल–भारतबीच जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पु¥याउने र मधेस प्रदेशको कृषि, उद्योग, व्यापार तथा पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

धार्मिक पर्यटकको आगमन बढेपछि स्थानीय होटल व्यवसायी, यातायात व्यवसायी, खानपान तथा हस्तकला व्यवसायमा आबद्ध समुदायले प्रत्यक्ष लाभ लिन सक्ने उहाँले उल्लेख गर्नुभयो । पर्यटकको आवागमनले स्थानीय उत्पादनको बजार विस्तार हुनुका साथै रोजगारीका नयाँ अवसरसमेत सिर्जना हुन सक्ने उहाँको विश्वास छ । जनकपुरधाम धार्मिक आस्थाको केन्द्र मात्र नभई मिथिला सभ्यता, कला, संस्कृति र परम्पराको विशिष्ट पहिचान बोकेको सहर पनि हो । यहाँको जानकी मन्दिर, राम मन्दिर, विवाहमण्डप, धनुषाधाम, पोखरी तथा विभिन्न धार्मिक सम्पदाले जनकपुरधामको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई उजागर गर्दै आएका छन् ।

कानुन व्यवसायी राजकुमार महासेठले जनकपुरधाम–अयोध्या रेल सेवाले दुवै देशका धार्मिक पर्यटकीय गन्तव्यमा पर्यटकको आवागमन बढाउने बताउनुभयो । उहाँका अनुसार जनकपुरधामस्थित जानकी मन्दिर, राम मन्दिर, धनुषाधाम, विवाहमण्डप तथा मिथिलाको मौलिक कला, संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्न रेल सेवाले सहयोग पु¥याउनेछ । उहाँले रेल सेवाले भारतसँग नेपालको धार्मिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई थप उचाइ दिने विश्वास व्यक्त गर्नुभयो । जनकपुरधाममा आउने पर्यटकलाई धार्मिक स्थलको दर्शनसँगै मिथिलाको कला, संस्कृति, खानपान र परम्परागत जीवनशैलीको अनुभव गराउन सके पर्यटनको सम्भावना अझ विस्तार हुने उहाँको भनाइ छ ।

मिथिला चित्रकला, लोकगीत, लोकनृत्य, परम्परागत हस्तकला, विवाह संस्कार तथा विभिन्न सांस्कृतिक पर्व जनकपुरधामका महत्त्वपूर्ण पर्यटकीय आकर्षण हुन् । रेलमार्गबाट पर्यटकको आवागमन बढेपछि यी मौलिक सम्पदाको प्रचारप्रसार र बजार विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको उहाँको कथन छ । धार्मिक पर्यटकको सङ्ख्या बढेसँगै जनकपुरधामको होटल तथा आवास व्यवसाय, रेस्टुरेन्ट, यातायात, हस्तकला, स्थानीय उत्पादन र पर्यटन पथप्रदर्शन क्षेत्रमा आर्थिक गतिविधि विस्तार हुने सम्भावना छ । पर्यटकको बसाइ अवधि बढाउन सकिए स्थानीय व्यवसायीले प्रत्यक्ष लाभ लिनसक्ने कानून व्यवयासी महासेठले बताउनुभयो ।

रेल सेवाबाट आउने पर्यटकलाई लक्षित गरी धार्मिक भ्रमण प्याकेज, स्थानीय सांस्कृतिक कार्यक्रम, मिथिला भोजन, हस्तकला प्रदर्शनी तथा पर्यटकीय गन्तव्यको भ्रमण व्यवस्था गर्न सकिनेछ । यसले पर्यटन व्यवसायलाई व्यवस्थित बनाउनुका साथै स्थानीय युवाका लागि रोजगारीका अवसरसमेत सिर्जना गर्न सक्ने उहाँको भनाइ छ । कानुन व्यवसायी महासेठले पर्यटकको आगमन बढेपछि स्थानीय होटल व्यवसायी, यातायात व्यवसायी, पर्यटक पथप्रदर्शक तथा हस्तकला क्षेत्रमा आबद्ध समुदायले प्रत्यक्ष लाभ लिन सक्ने बताउनुभयो । त्यसका लागि पर्यटकमैत्री पूर्वाधार, सरसफाइ, आवास, सुरक्षा, सूचना तथा यातायात व्यवस्थापनमा सुधार गर्नुपर्ने उहाँको सुझाव छ ।

जनकपुरधाम र अयोध्या रामायणसँग सम्बन्धित दुई महत्वपूर्ण धार्मिक केन्द्र हुन् । यी दुई सहरबीच प्रत्यक्ष रेलसम्पर्क स्थापित हुँदा रामायण सर्किटको अवधारणालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । जनकपुरधाममा विवाहपञ्चमी, रामनवमी, जानकी नवमी तथा अन्य धार्मिक पर्वका अवसरमा भारतका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा श्रद्धालु आउने गरेका छन् । त्यसैगरी अयोध्यामा पनि विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिका अवसरमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन हुने गरेको छ ।

दुवै सहरबीच रेल सेवा सञ्चालन भएपछि तीर्थयात्रीले एउटै यात्रामा दुवै धार्मिक स्थलको दर्शन गर्ने अवसर पाउनेछन् । यसले धार्मिक यात्रालाई सहज बनाउनुका साथै दुवै देशका धार्मिक तथा सांस्कृतिक संस्थाबीच सहकार्य र सम्पर्क विस्तार गर्ने सम्भावना पनि बढाएको अधिकारकर्मी सिजेन्द्र सदाको भनाइ छ । रामायणसँग सम्बन्धित अन्य धार्मिक तथा ऐतिहासिक स्थललाई समेत एउटै पर्यटन मार्गमा जोड्नसके नेपाल र भारतबीच धार्मिक पर्यटनको दायरा अझ विस्तार हुन सक्ने उहाँले बताउनुभयो ।

नागरिक समाजका अगुवा रेखा झालले लामो समयदेखि पहल हुँदै आए पनि सञ्चालन हुन नसकेको रेल सेवा अहिले कार्यान्वयनको चरणमा पुग्नु सकारात्मक उपलब्धि भएको बताउनुभयो । उहाँले रेल सेवालाई नियमित र प्रभावकारी बनाउन दुवै देशका सरकारबीच आवश्यक नीतिगत निर्णय, प्रशासनिक समन्वय तथा पूर्वाधार व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार रेल सेवा सञ्चालन हुनु महत्वपूर्ण उपलब्धि भए पनि यसको दीर्घकालीन सफलता नियमित सञ्चालन, यात्रुको सुरक्षा, सहज टिकट व्यवस्था र प्रभावकारी व्यवस्थापनमा निर्भर रहनेछ । धार्मिक पर्यटनबाट स्थानीय समुदायले लाभ लिन सक्ने वातावरण बनाउन सरकार तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।

हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । यही रेल सञ्जाललाई आधार बनाएर व्यावसायिक रूपमा जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालन गर्न लागिएको हो । जनकपुरधामलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान् रामको जन्मभूमिका रूपमा मानिँदै आएको छ । यी दुई ऐतिहासिक सहरबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित भएपछि धार्मिक पर्यटनको नयाँ सम्भावना खुल्ने र रामायणसँग जोडिएका धार्मिक तथा सांस्कृतिक गन्तव्यबीचको सम्बन्ध थप बलियो हुने अपेक्षा गरिएको छ ।

नयाँ रेल सेवाले श्रद्धा र संस्कृतिका दुई ऐतिहासिक केन्द्रबीच पर्यटकको आवागमन सहज बनाउनुका साथै स्थानीय आर्थिक गतिविधि र नेपाल–भारतको जनस्तरको सम्बन्धलाई समेत नयाँ गति दिने स्थानीय व्यवसायी अम्बुप्रसाद साहको विश्वास छ । यसले धार्मिक आस्थालाई पर्यटन, व्यापार र आर्थिक समृद्धिसँग जोड्न सकिए जनकपुरधामले अन्तर्राष्ट्रिय पर्यटन बजारमा थप पहिचान स्थापित गर्ने अवसर पाउनेछ । यसका लागि रेल सेवा नियमित र भरपर्दो बनाउने, यात्रुको सहज आवागमन सुनिश्चित गर्ने, पर्यटकीय पूर्वाधार सुधार गर्ने तथा दुवै देशका सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्नुपर्ने साहले बताउनुभयो ।
—

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भैरहवा हवाइमार्ग दुईतर्फी बनाउने सहमतिले पर्यटन र अर्थतन्त्रमा नयाँ आशा

निर्माण थालेको डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना

बढ्यो सुनको भाउ, चाँदीको कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

राष्ट्र बैंकद्धारा आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

प्याराग्लाइडिङमा रमाउँदै पर्यटक

लमजुङका ग्रामीण क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

तनहुँ जलविद्युत् आयोजनाः प्रसारण लाइन निर्माणका लागि धमाधम रुख कटान

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित गरिँदै