सदाबहार खबरको रफ्तार ....
मंग्सिर ११, २०८३ शुक्रबार
November 27, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

शान्तिरक्षक फर्कंदै, दक्षिणी लेबनानको सुरक्षा अन्योलमा

२०८३ मंग्सिर ११, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नकौरा (लेबनान), ११ मङ्सिर (रासस/एपी) :दक्षिणी लेबनानमा करिब पाँच दशकदेखि तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम शान्ति सेना (युनिफिल) आगामी डिसेम्बरको अन्त्यदेखि फिर्ता हुने भएपछि क्षेत्रको सुरक्षा व्यवस्थाबारे अन्योल बढेको छ । इजरायली सेनाको कब्जा, हिजबुल्लाहको निःशस्त्रीकरण विवाद र लेबनानी सेनाको सीमित क्षमताका कारण शान्तिरक्षकको बहिर्गमनपछि सुरक्षा रिक्तता उत्पन्न हुने चिन्ता छ ।

युनिफिलले जनवरी १ देखि आफ्ना सात हजार पाँच सय शान्तिरक्षकलाई चरणबद्ध रूपमा फिर्ता लैजाने तयारी गरेको छ । कमान्डर मेजर जनरल डियोडाटो अबग्नाराका अनुसार युनिफिलको जिम्मेवारी हिजबुल्लाहलाई निःशस्त्रीकरण गर्नु नभई लेबनानी सेनालाई दक्षिणी क्षेत्रमा नियन्त्रण स्थापित गर्न सहयोग गर्नु हो । उहाँले शान्तिरक्षक गएपछि सुरक्षा रिक्तता हुन नदिनु महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

लेबनानले युनिफिलको उपस्थिति कायम राख्न चाहे पनि राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले गत वर्ष सन् २०२६ को अन्त्यमा यसको कार्यादेश समाप्त गर्ने निर्णय गरेको थियो । पछिल्ला युद्धमा द्वन्द्व रोक्न नसके पनि दक्षिणी लेबनानका बासिन्दाले शान्तिरक्षकको उपस्थितिले सुरक्षा अनुभूति गराएको बताएका छन् ।

इजरायलले दक्षिणी लेबनानको ठूलो भूभाग कब्जा गरेको र दर्जनौँ गाउँ ध्वस्त पारेको छ । कब्जामा रहेका क्षेत्रमा करिब ११ हजार मानिस अझै बसोबास गरिरहेका छन् । उनीहरूलाई अन्य क्षेत्रसँग जोड्न युनिफिलको सुरक्षा अनुरक्षण आवश्यक पर्ने गरेको छ । हिजबुल्लाहलाई निःशस्त्रीकरण गरेपछि इजरायली सेना फिर्ता गर्ने लेबनान र इजरायलबीचको सहमति पनि कार्यान्वयन हुन सकेको छैन ।

लेबनानी राष्ट्रपति जोसेफ आउनले युनिफिलको कार्यादेश विस्तार गर्नुपर्ने बताउनुभएको छ । फ्रान्सले नयाँ अन्तर्राष्ट्रिय सुरक्षा बल गठन गर्ने प्रस्ताव तयार गरिरहेको छ भने अमेरिकाले नागरिक सुरक्षा बल वा निजी सुरक्षा ठेकेदार परिचालन गर्ने विकल्प अघि सारेको छ । लेबनानले भने निजी सुरक्षा बल र इजरायली सेनासँग प्रत्यक्ष सैन्य समन्वयको विरोध गरेको छ ।

यसैबीच, हिजबुल्लाहको निःशस्त्रीकरण पनि चुनौतीपूर्ण बनेको छ । लेबनानी सेनाले गत जनवरीमा लिटानी नदीको दक्षिणी क्षेत्रमा हिजबुल्लाहका हतियार हटाउने काम पूरा भएको घोषणा गरे पनि समूहले देशका अन्य क्षेत्रमा रहेका हतियार त्याग्न अस्वीकार गर्दै आएको छ । बलपूर्वक निःशस्त्रीकरण गर्न खोजिए प्रतिरोध गर्ने चेतावनीसमेत उसले दिएको छ ।

हिजबुल्लाहले राष्ट्रसङ्घबाट स्वीकृत अन्तर्राष्ट्रिय सुरक्षा बलको उपस्थितिलाई स्वीकार गर्न सकिने बताए पनि निजी सुरक्षा ठेकेदार वा इजरायली कब्जालाई सहयोग गर्ने शक्तिको विरोध गरेको छ । इजरायलको सैन्य उपस्थिति र हिजबुल्लाहको हतियारसम्बन्धी विवाद समाधान नभएकाले युनिफिलको बहिर्गमनपछि दक्षिणी लेबनानको सुरक्षा कसले सम्हाल्ने भन्ने प्रश्न अनुत्तरित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दक्षिण सुडानका प्रमुख चार क्षेत्रमा सङ्कटकाल हटाइयो

समुद्री सीमा विवादमा कम्बोडिया र थाइल्यान्ड सहमत

चीन र रुस इरानसँग धेरै कम संलग्न छन् : ट्रम्प

ट्राबुको ब्राजिलको अर्थमन्त्री नियुक्त

युरोपमा सैन्य आक्रमण रोक्न पुटिनलाई ट्रम्पको आग्रह

भारतमा नियमित संसद् अधिवेशन नबोलाएको विपक्षीको प्रश्न

अमेरिकामा मुद्रास्फीति बढ्यो, ब्याजदर थप वृद्धि हुन सक्ने सङ्केत

पुटिनको वार्षिक पत्रकार सम्मेलन डिसेम्बर १० मा

आणविक क्षमता विस्तार गर्न किमको निर्देशन

बैङ्ककको तेल प्रशोधन केन्द्रमा विस्फोट

इन्डोनेसियाको खानीमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो, १३ अझै बेपत्ता

नरसंहार फैसलाका ‘अनुचित’ पक्ष नमान्ने : म्यान्मा