काठमाडौं । चालु आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा हुने कर्जा प्रवाह गत वर्षको तुलनामा बढेको छ । चालु आर्थिक २०८३/८४ को तीन महिना अर्थात् साउनदेखि असोजसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशत अर्थात् एक खर्ब ८४ अर्ब १९ करोडले बढेर ६० खर्ब ४१ अर्ब २५ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १.५ प्रतिशत अर्थात् ८२ अर्ब ९३ करोडले मात्रै बढेको थियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको तथ्यांकअनुसार वार्षिक बिन्दुगत आधारमा २०८३ असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.३ प्रतिशतले बढेको छ । २०८३ असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा त्यस्तो अंश क्रमशः ६२.८ र ३७.२ प्रतिशत थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा ३.२ र विकास बैंकहरूको ३.१ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरूको १.२ प्रतिशतले घटेको छ । २०८३ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को सुरक्षणमा १५.५ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६२.७ प्रतिशत रहेको छ । २०८२ असोज मसान्तमा त्यस्तो धितोमा प्रवाहित कर्जा अंश क्रमशः १५.० र ६४.३ प्रतिशत थियो ।
आर्थिक वर्ष २०८३/८४ को तीन महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये खनिज क्षेत्रतर्फको कर्जा १७.८, यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रतर्फको कर्जा १२.४, धातुजन्य उत्पादन, यन्त्र र विद्युतीय सामान उत्पादन तथा मर्मत क्षेत्रतर्फको कर्जा १०.७, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.४, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.९, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.९, यातायात, निर्माण क्षेत्रतर्फको कर्जा ३.८, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.३, कृषि क्षेत्रतर्फको कर्जा २.५ प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा ०.७ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये विपन्न वर्ग कर्जा १५.१, माग तथा अन्य चालु पुँजी कर्जा ५.२, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.५, ट्रष्ट रिसिट (आयात) कर्जा २.९, मार्जिन प्रकृतिको कर्जा २.९, आवधिक कर्जा २.६, अधिविकर्ष कर्जा १.५ र हायर पर्चेज कर्जा १.२ प्रतिशतले बढेको छ भने क्यास क्रेडिट कर्जा १.८ प्रतिशतले घटेको छ ।
५६ खर्ब बराबरको तरलता व्यवस्थापन
केन्द्रीय बैंकका अनुसार सो अवधिमा कुल ५५ खर्ब ९५ अर्ब २० करोड बराबरको तरलता प्रशोचन (कारोबारमा आधारित) भएको छ । अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणमार्फत् पटक–पटक गरी १३ खर्ब ७५ अर्ब ९५ करोड तरलता प्रशोचन गरिएको थियो । २०८३ असोज मसान्तमा निक्षेप संकलन बोलकबोलमार्फत् छ खर्ब ६५ अर्ब ८० करोड र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत् चार खर्ब अर्ब गरी कुल १० खर्ब ६५ अर्ब ८० करोड प्रशोचन गरेको तरलता केन्द्रीय बैंकमा बक्यौता रहेको छ ।
समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर दुर्ई अर्ब २५ करोड खुद खरिद गरी तीन खर्ब ४४ अर्ब ९४ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब ८६ करोड खुद खरिद गरी दुई खर्ब ६२ अर्ब १४ करोड तरलता प्रवाह गरेको थियो । समीक्षा अवधिमा अमेरिकी डलर ९२ करोड बिक्री गरी एक खर्ब ४१ अर्ब २७ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर एक अर्ब १२ करोड बिक्री गरी एक खर्ब ५८ अर्ब सात करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।हिमालय टाइम्स
