सदाबहार खबरको रफ्तार ....
मंग्सिर ७, २०८३ सोमबार
November 23, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

जलवायु सम्मेलन निष्कर्षविहीन बनेपछि महासचिव गुटेरेसद्वारा निराशा व्यक्त

२०८३ मंग्सिर ७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

संयुक्त राष्ट्रसंघ, ७ मङ्सिर (रासस/सिन्ह्वा) ः संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले टर्कीको अन्ताल्यामा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी ३१औँ अन्तर्राष्ट्रिय सम्मेलन साझा निष्कर्षमा पुग्न नसकेकोप्रति गहिरो निराशा व्यक्त गर्नुभएको छ ।

आइतबार जारी वक्तव्यमा महासचिव गुटेरेसले जलवायु सङ्कटको गम्भीरतालाई सम्बोधन गर्न आवश्यक सामूहिक प्रतिबद्धता र निर्णयमा सदस्य राष्ट्रहरूबीच सहमति कायम हुन नसकेको उल्लेख गर्नुभएको छ ।

उहाँले जलवायु सङ्कटले माग गरेको गम्भीरतालाई आत्मसात् गर्दै सरकारहरूले आवश्यक कदम चाल्ने अपेक्षा गरेका सबैको निराशाप्रति आफू सहमत रहेको बताउनुभएको छ ।

सम्मेलनका अध्यक्ष मुरात कुरुमले आइतबार आयोजित समापन सत्रमा प्रस्तावित अन्ताल्या सम्झौतामा सदस्य राष्ट्रहरूबीच सहमति कायम हुन नसकेको जानकारी गराउनुभएको थियो । यसअघि शुक्रबार सम्पन्न हुनुपर्ने सम्मेलन निर्धारित समयभन्दा करिब दुई दिन ढिलोसम्म सञ्चालन भए पनि सहमति जुट्न सकेको थिएन । आइतबार सम्झौताको तेस्रो मस्यौदासमेत सार्वजनिक गरिएको थियो ।
महासचिव गुटेरेसले सम्मेलनमा सहमति कायम हुन नसके पनि जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक तथ्यहरूमा कुनै अस्पष्टता नरहेको स्पष्ट पार्नुभएको छ ।

उहाँका अनुसार विश्वको तापक्रमले निरन्तर नयाँ कीर्तिमान कायम गरिरहेको, जलवायुजन्य चरम घटनाहरू तीव्र बन्दै गएको र हरितगृह ग्यासको उत्सर्जन अझै उच्च रहेको छ । जलवायु सङ्कट सम्बोधनमा हुने प्रत्येक ढिलाइले आगामी चुनौतीलाई थप जटिल र खर्चिलो बनाउने उहाँको भनाइ छ ।

विश्व तापक्रम वृद्धिलाई औद्योगिक क्रान्तिअघिको तुलनामा १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य हासिल गर्न कठिन हुँदै गएको उल्लेख गर्दै उहाँले तापक्रम वृद्धिको निर्धारित सीमा नाघ्ने अवस्था सम्भव भएसम्म छोटो र न्यून राख्ने अवसर तीव्र रूपमा साँघुरिँदै गएको चेतावनी दिनुभएको छ ।

महासचिव गुटेरेसले जलवायु सङ्कटको सामना गर्न विश्व समुदायले अझ प्रभावकारी र तत्काल कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ ।उहाँले जलवायु सङ्कटको प्रमुख कारकका रूपमा रहेको जीवाश्म इन्धनमाथिको निर्भरता क्रमशः अन्त्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । कोइला, तेल र ग्यासको निरन्तर प्रयोगले जलवायु अस्थिरता बढाउनुका साथै अर्थतन्त्रलाई मूल्यवृद्धिको जोखिममा पारिरहेको र ऊर्जा सुरक्षामा समेत चुनौती थपिरहेको उहाँले उल्लेख गर्नुभएको छ ।

जीवाश्म इन्धनसँग सम्बन्धित शक्तिशाली व्यावसायिक स्वार्थ समूहहरूले वैज्ञानिक तथ्यलाई प्रभावित पार्ने, नीतिगत निर्णयमा ढिलाइ गराउने तथा जलवायु संरक्षणका प्रयासमा अवरोध सिर्जना गर्ने गरेको आरोपसमेत उहाँले लगाउनुभएको छ ।

दुबईमा सम्पन्न २८औँ जलवायु सम्मेलनमा सबै देशले न्यायोचित, व्यवस्थित र समतामूलक ढङ्गले जीवाश्म इन्धनको प्रयोगबाट क्रमशः बाहिरिने सहमति गरेको स्मरण गराउँदै उहाँले उक्त प्रतिबद्धताको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ ।

१.५ डिग्री सेल्सियसको तापक्रम सीमा नाघ्ने अवस्थाको अवधि र प्रभाव न्यूनीकरण गर्न यसै दशकभित्र हरितगृह ग्यास उत्सर्जनमा तीव्र तथा उल्लेखनीय कटौती गर्नुपर्ने उहाँको धारणा छ । यसका लागि प्रमुख उत्सर्जक राष्ट्रहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने, विकसित देशहरूले जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्नुपर्ने र सबै राष्ट्रले आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्ने उहाँले बताउनुभएको छ ।
त्यसैगरी, विकसित मुलुकहरूले जलवायु अनुकूलनका लागि उपलब्ध गराउने वित्तीय सहयोग तीन गुणा वृद्धि गर्ने प्रतिबद्धता पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । जलवायु सङ्कट सिर्जना गर्न न्यून योगदान रहेका विकासशील तथा कमजोर राष्ट्रहरूले यसको गम्भीर परिणाम एक्लै भोग्नुपर्ने अवस्था आउन नहुने उल्लेख गर्दै उहाँले यसलाई जलवायु न्यायको महत्त्वपूर्ण विषयका रूपमा प्रस्तुत गर्नुभएको छ ।

महासचिव गुटेरेसका अनुसार जलवायु संरक्षणका वास्तविक उपलब्धि सम्मेलनका छलफल र प्रतिबद्धतामा मात्र सीमित नभई तिनको व्यावहारिक कार्यान्वयनबाट मापन हुनुपर्छ । जीवाश्म इन्धनमाथिको निर्भरता घटाउने, स्वच्छ ऊर्जाको प्रयोग विस्तार गर्ने, विद्युत् प्रसारण प्रणालीको विकास तथा आधुनिकीकरण गर्ने, मिथेन उत्सर्जन न्यूनीकरण गर्ने, वन क्षेत्रको पुनस्र्थापना गर्ने र विकासशील मुलुकसम्म जलवायु वित्तको पहुँच सुनिश्चित गर्ने कार्यलाई उहाँले महत्त्वपूर्ण उपलब्धिका रूपमा औँल्याउनुभएको छ ।

उहाँले नागरिक समाज, युवा पुस्ता, आदिवासी समुदाय, वैज्ञानिक तथा जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेका समुदायलाई जलवायु संरक्षणका प्रयासमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ ।

जलवायु सङ्कटले सरकारहरूबीच सहमति कायम हुने प्रतीक्षा नगर्ने उल्लेख गर्दै महासचिव गुटेरेसले वैज्ञानिक तथ्यको प्रचारप्रसार, सरकार तथा निजी क्षेत्रको जवाफदेहिता र जलवायु न्यायका पक्षमा निरन्तर आवाज उठाउन विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकार गठनका लागि आइसेनकोटको द्रुत मतदान रणनीति

ट्रम्पसँग भेट नभएपछि किमको जोड सार्वभौमिकतामा

जीवाश्म इन्धनको विवादले जलवायु वार्ता निष्कर्षविहीन

किएभ क्षेत्रमा रुसी आक्रमणमा १४ जनाको मृत्यु

अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित

फ्रान्समा अश्रुग्यासको प्रजनन स्वास्थ्यमा असरबारे चिन्ता

क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव

कोप–३१ को अस्तव्यस्त समापन, जलवायु सम्झौतामा सहमति जुटेन

जीवाश्म इन्धन विवादले कोप–३१ अन्योलमा

इजरायलमा सरकार गठनका लागि नेतान्याहु–इसेनकोट वार्ता

अमेरिकाबाट निष्कासित २५ जना आप्रवासी लाइबेरियामा

भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत