
काठमाण्डौः सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् ।
किर्ते र ठगीको मुद्दा खेपिरहेका राज्यमन्त्री रावलले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष आइतबार राजीनामापत्र बुझाएका हुन् । सत्तारूढ नेकपाको तर्फबाट कञ्चनपुर तीन (क) प्रदेश सभाबाट निर्वाचित रावल गत वर्ष असोजमा राज्यमन्त्री नियुक्त भएका थिए ।
रावलले मुख्यमन्त्री समक्ष बुझाएको राजीनामा आइतबारै स्वीकृत भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
नेपालमा संघियता लागु भएसँगै प्रदेश सरकार गठन भएपछि पदबाट हट्ने उनी दोस्रो मन्त्री हुन् । एक महिलासँगको अवैध सम्बन्धलाई लिएर प्रदेशका तत्कालीन सामाजिक विकासमन्त्री दीर्घ सोडारी गत वर्ष २७ कात्तिकमा बर्खास्त भएका थिए ।
जनज्योति बहुमुखी क्याम्पस सञ्चालन गरिरहेको जनज्योति एजुकेसन फाउन्डेसनका नामको सेयर बिक्रीमा किर्ते र ठगी गरेको भन्दै रावलसहित ३६ जनाविरुद्ध गत वर्ष साउनमा कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिन गरिरहेको छ ।
रावलसहित ३६ जनाविरुद्ध १५ करोड ६७ लाखको बिगोदाबीसहित अदालतमा मुद्दा दर्ता
फाउन्डेसनका नामको सेयर बिक्रीमा किर्ते र ठगी गरेको भन्दै उनीसहित ३६ जनाविरुद्ध १५ करोड ६७ लाख रुपैयाँ बिगोदाबीसहित अदालतमा मुद्दा दायर भएको थियो । नेकपा भीमदत्त नगरपालिका सचिवसमेत रहेका तारादत्त जोशीसहित १० जनाले ठगी र किर्ते गरेको अभियोगमा गत वर्ष साउनमा मुद्दा दर्ता गरेका थिए ।
कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीको समेत मिलेमतोमा नक्कली कागजात बनाई पैसा लिएर सेयर नामसारी गरेको आरोप लगाइएको हो । यही मुद्दाका आधारमा विभागले समेत रावलमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा छानबिन गरिरहेको बताइएको छ । यो खबर नयाँपत्रिकामा प्रकाशित भएको छ ।