नयाँदिल्ली : प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को आइतबारदेखि सुरु हुने भारतको राजकीय भ्रमणलाई नयाँदिल्लीले विशेष कूटनीतिक महत्व दिएको छ। प्रधानमन्त्री शाहको स्वागतका लागि विमानस्थलदेखि राष्ट्रपति भवनसम्म विशेष तयारी गरिएको छ भने ठाउँ–ठाउँमा दुवै देशका झन्डा राखिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणमा भारतले देखाएको स्वागत सत्कार र उच्चस्तरीय आतिथ्यलाई दुई देशबीचको सम्बन्धमा नयाँ राजनीतिक संवाद सुरु गर्ने प्रयासका रूपमा हेरिएको छ।
प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ। नेपालका प्रधानमन्त्रीलाई स्वागत गर्न भारत सरकारले राज्यमन्त्री तहका अधिकारी खटाउनु कूटनीतिक दृष्टिले अर्थपूर्ण मानिएको छ।
यसअघि भारतीय प्रधानमन्त्री मोदीले चीनका राष्ट्रपति सी जिनपिङ भारत भ्रमणमा आउँदा विमानस्थलमै पुगेर स्वागत गरेका थिए। त्यसैले विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुखको स्वागतमा भारतले अपनाउने प्रोटोकललाई सम्बन्धको प्राथमिकता र राजनीतिक महत्वसँग जोडेर हेर्ने गरिएको छ।
सन् २००६ यता नेपाली प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री स्वयं विमानस्थल पुगेर स्वागत गरेको एउटा उल्लेखनीय उदाहरण तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भ्रमण हो। सन् २००६ जुनमा तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंह विमानस्थलमै पुगेर कोइरालालाई स्वागत गरेका थिए।
त्यसयता नेपाली प्रधानमन्त्रीको स्वागतमा भारतीय मन्त्री, राज्यमन्त्री वा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू विमानस्थल पुग्ने गरेका छन्। सन् २०२३ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा तत्कालीन विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन्। अहिले प्रधानमन्त्री शाहको स्वागतमा पनि राज्यमन्त्रीलाई नै जिम्मेवारी दिइएको छ।
राजकीय भ्रमणको प्रोटोकल र विशेष आतिथ्य
भारतले प्रधानमन्त्री शाहको भ्रमणलाई राजकीय भ्रमणको औपचारिक स्वरूप दिएको छ। भ्रमणका क्रममा राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट, प्रधानमन्त्री मोदीसँग हैदराबाद हाउसमा द्विपक्षीय वार्ता, संयुक्त पत्रकार सम्मेलन र भारतीय प्रधानमन्त्रीद्वारा आयोजित दिवाभोजको कार्यक्रम रहेको छ।
प्रधानमन्त्री आइतबार दिउँसो ३ः४५ मा नेपाल एयरलाइन्सको जहाजबाट नयाँ दिल्ली आउँदैछन्। भारतीय विदेशमन्त्री एस. जयशंकरले पनि शाहसँग भेट गर्ने छन्। आइतबार नयाँदिल्ली पुगेपछि शाहको पहिलो औपचारिक राजनीतिक भेट जयशंकरसँग होटल ताजमै हुने भारतस्थित नेपाली दूतावासकी प्रवक्ता अम्बिका जोशीले बताए।
सोमबार राष्ट्रपति भवनमा औपचारिक स्वागत तथा सम्मान कार्यक्रम हुनेछ। त्यसपछि शाहले राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने छन्। प्रधानमन्त्री मोदीसँगको वार्तापछि दुई देशबीच विभिन्न समझदारी तथा सम्झौतामा हस्ताक्षर र आदानप्रदान हुनेछ। भारतले यी कार्यक्रममार्फत शाहको भ्रमणलाई औपचारिक कूटनीतिक भेटघाटभन्दा माथि उठाएर दुई देशबीचको उच्चस्तरीय राजनीतिक सम्बन्ध विस्तारको अवसरका रूपमा प्रस्तुत गर्न खोजेको छ।
स्वागतको तहसँगै राजनीतिक सन्देश
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुवै देशले नजिकबाट नियालिरहेका छन्। नेपालमा नयाँ राजनीतिक नेतृत्व स्थापित भएको र शाहले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक कार्यशैली अपनाउँदै आएको पृष्ठभूमिमा भारतले उनीसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्न खोजेको देखिन्छ। भारतका लागि शाहसँगको सम्बन्ध नयाँ राजनीतिक परिस्थितिमा नेपालसँगको साझेदारीलाई पुनः व्यवस्थित गर्ने अवसर पनि हो। नेपालमा नयाँ नेतृत्वसँग कार्यगत सम्बन्ध स्थापित गर्नु, आर्थिक सहकार्य विस्तार गर्नु र द्विपक्षीय विश्वास बलियो बनाउनु भारतीय चासोका विषय हुन्। ‘सबै विषयमा छलफल हुनेछ, हाम्रा लागि यो एक महत्वपूर्ण भ्रमण हो,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शुक्रबार नियमित पत्रकार सम्मेलनमा भनेका थिए। विदेश मन्त्रालयले यो भ्रमणले द्विपक्षीय साझेदारीलाई थप सुदृढ गर्न र पारस्परिक लाभकारी सहयोगलाई अघि बढाउन अवसर प्रदान
गर्ने जनाएको छ।
यसअघि नेपालमा परम्परागत रूपमा नवनिर्वाचित प्रधानमन्त्रीको पहिलो द्विपक्षीय विदेश भ्रमण भारतबाट सुरु हुने अभ्यास रहँदै आएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ मा पहिलो द्विपक्षीय भ्रमण चीनबाट गरेर उक्त परम्परालाई तोडेका थिए। शाहले भने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क गएपछि आफ्नो पहिलो औपचारिक विदेश भ्रमण भारतबाट सुरु गर्न लागेका हुन्।
नेपालको प्रोटोकलमा पनि चासो
रोचक पक्ष के छ भने, भारतले शाहको स्वागतका लागि विशेष तयारी गरिरहेका बेला नेपालतर्फ भने भ्रमणमा बिदाइ समारोहको विषयले चर्चा पाएको छ। प्रधानमन्त्री शाहले यसअघि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क जाँदा परम्परागत ‘गार्ड अफ अनर’, रेड कार्पेट र औपचारिक बिदाइ समारोहमा सहभागिता जनाएका थिएनन्।
भारतले यसपटक राजकीय भ्रमणअघि ‘गार्ड अफ अनर’ को व्यवस्था गर्न नेपाललाई अनुरोध गरेको भए पनि नेपालबाट त्यसबारे औपचारिक सूचना आएको छैन। यद्यपि, प्रधानमन्त्री निकट स्रोतका अनुसार शाह यसपटक पनि ‘गार्ड अफ अनर’ लिने मुडमा छैनन्।
प्रधानमन्त्री शाह आइतबार मध्याह्न ३४ सदस्यीय प्रतिनिधिमण्डलसहित नयाँदिल्ली आउनेछन्। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार तथा निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्। अन्नपूर्णपोष्ट
