काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्यमा आएको तीव्र गिरावटको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिएको छ । पछिल्लो एक सातामा नेपाली बजारमा सुन प्रतितोला २६ हजार पाँच सय रुपैयाँले सस्तिएको छ भने चाँदी पनि प्रतितोला ४५५ रुपैयाँले घटेको छ । प्रतिशतका आधारमा हेर्दा चाँदीको मूल्यमा सुनभन्दा बढी गिरावट आएको छ । एक सातामा सुन ९.८५ र चाँदी १२.९३ प्रतिशतले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नोभेम्बर १६ देखि २२ सम्मको अवधिमा छापावाल सुन प्रतितोला दुई लाख ६९ हजार एकसय रुपैयाँबाट घटेर दुई लाख ४२ हजार ६ सय रुपैयाँमा झरेको छ भने चाँदी प्रतितोला तीन हजार पाँचसय २० रुपैयाँबाट घटेर तीन हजार ६५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा नोभेम्बर २० मा सुन प्रतिऔँस तीन हजार ५१८.५० अमेरिकी डलरमा झरेको थियो । कारोबारका क्रममा मूल्य घटेर तीन हजार ५१३.५४ डलरसम्म पुगेको थियो । जुन सन् २०२५ सेप्टेम्बरयताकै न्यून मूल्य हो । एक सातामा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य करिब ९.५ प्रतिशतले घटेको छ ।
अमेरिकी बजारमा डिसेम्बरमा आपूर्ति हुने सुनसमेत ४.५ प्रतिशतले घटेर प्रतिऔँस तीन हजार ५१९.१० डलरमा झरेको थियो । जसले अन्तर्राष्ट्रिय बजारमा सुनप्रतिको लगानीकर्ताको आकर्षण कमजोर बन्दै गएको संकेत गरेको छ । बजार विश्लेषकहरूका अनुसार पछिल्लो समय सुनचाँदीको मूल्यमा आएको गिरावट कुनै एउटै कारणको परिणाम नभइ अमेरिकी मौद्रिक नीतिमा देखिएको सम्भावित परिवर्तनदेखि विश्व सेयर बजारको उतारचढावसम्मका विविधि कारण बहुमूल्य धातुको बजार प्रभावित भएको हो ।
सुनको मूल्य घट्नुको प्रमुख कारण अमेरिकी डलर बलियो हुनु हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अमेरिकी डलरमा निर्धारण हुने भएकाले डलरको मूल्य बढ्दा अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका लागि सुन खरिद महँगो पर्छ । जसले अन्तर्राष्ट्रिय बजारमा सुनको माग घटाउन सक्छ । डलर बलियो हुँदा लगानीकर्ताले सुनभन्दा डलरमा आधारित सम्पत्ति तथा अन्य वित्तीय उपकरणलाई प्राथमिकता दिने प्रवृत्ति पनि बढ्छ । परिणामस्वरूप सुनको मूल्यमा थप दबाब सिर्जना हुन्छ । सुनको मूल्य घट्नुको अर्को महत्त्वपूर्ण कारण अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउन सक्ने बजार अपेक्षा हो । अमेरिकी डलरको निरन्तर मजबुती, अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ)ले ब्याजदर बढाउन सक्ने सम्भावना, विश्व सेयर बजारमा देखिएको अस्थिरता तथा मुद्रास्फीतिको बढ्दो चिन्ताका कारण बहुमूल्य धातुको मूल्यमा ठूलो गिरावट आएको बताइन्छ ।
पर्ख र हेरको अवस्थामा लगानीकर्ता
सुनचाँदीको मूल्यमा लगातार गिरावटपछि अन्तर्राष्ट्रिय बजारका लगानीकर्ता तत्काल खरिदमा प्रवेश गर्नुभन्दा बजार स्थिर हुने प्रतीक्षामा देखिएका छन् । सिपिएम ग्रुपका जेफ्री क्रिस्चियनका अनुसार सुन र चाँदीको मूल्य घट्ने क्रममा लगानीकर्ताले अपेक्षा गरेको मूल्यस्तरमा समेत पर्याप्त खरिदकर्ता देखिएका छैनन् ।
सुन प्रतिऔँस चार हजार डलर र तीन हजार आठसय डलरभन्दा तल झर्दै तीन हजार पाँचसय १४ डलरको आसपास पुगेपछि बजारमा थप गिरावट आउनसक्ने आशंका बढेको छ । त्यसैगरी, चाँदी प्रतिऔँस ४१ डलरको आसपास रहँदा केही लगानीकर्ताले ३८ डलरलाई अर्को सम्भावित मूल्यस्तरका रूपमा हेर्न थालेका छन् ।
क्रिस्चियनका अनुसार धेरै लगानीकर्ता सुनचाँदी खरिद गर्न इच्छुक भए पनि मूल्य घट्ने क्रम रोकिएर स्थिर भएपछि मात्र बजारमा प्रवेश गर्ने रणनीतिमा छन् । जसले तत्काल बजारमा खरिदको चाप कमजोर रहनसक्ने देखाउँछ । पछिल्लो गिरावटलाई दीर्घकालीन रूपमा कायम रहेको मूल्यवृद्धिको प्रवृत्तिभित्र आएको चक्रीय गिरावटका रूपमा पनि व्याख्या गरिएको छ । लामो समयसम्म मूल्य बढिरहेको बजारमा समेत बीचबीचमा ठूलो गिरावट आउन सक्ने क्रिश्चियनको विश्लेषण छ ।
प्लाटिनम र प्यालेडियमको मूल्य पनि घट्यो
सुनचाँदीसँगै अन्य बहुमूल्य धातुको मूल्यमा समेत गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा प्लाटिनमको मूल्य प्रतिऔँस एक हजार तीनसय डलरभन्दा तल झरेको छ भने प्यालेडियम नौसय डलर आसपास पुगेको छ । तर, प्लाटिनम र प्यालेडियमको बजार अवस्था सुन तथा चाँदीभन्दा केही फरक छ । उल्लेखित धातुको माग मुख्यतः सवारीसाधन निर्माण, अटोमोबाइल उद्योग तथा विभिन्न औद्योगिक क्षेत्रमा निर्भर हुन्छ । त्यसैले औद्योगिक उत्पादन, सवारीसाधनको माग र उत्पादन क्षेत्रको अवस्थाले पनि ती धातुको मूल्य निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्छ ।
नेपाली बजारमा सातामै साढे २६ हजारले घट्यो
अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको प्रभाव नेपाली बजारमा स्पष्ट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य विवरणअनुसार नोभेम्बर १६ देखि २२ सम्म सुन र चाँदीको मूल्य लगातार ओरालो लागेको छ । एक साताको अवधिमा छापावाल सुन प्रतितोला दुई लाख ६९ हजार एकसय रुपैयाँबाट घटेर दुई लाख ४२ हजार ६ सय रुपैयाँमा झरेको छ । जसअनुसार सुन प्रतितोला २६ हजार पाँचसय रुपैयाँ अर्थात् ९.८५ प्रतिशतले सस्तिएको छ । प्रतिग्राम मूल्यका आधारमा हेर्दा पनि सुनको मूल्य २३ हजार ७१ रुपैयाँबाट घटेर २० हजार ७९९ रुपैयाँमा झरेको छ । चाँदीको मूल्यमा भने तुलनात्मक रूपमा अझ ठूलो गिरावट आएको छ । एक साताअघि प्रतितोला तीन हजार ५२० रुपैयाँ रहेको चाँदी नोभेम्बर २२ सम्म आइपुग्दा तीन हजार ६५ रुपैयाँमा झरेको छ । यसअनुसार चाँदी प्रतितोला ४५५ रुपैयाँ अर्थात् १२.९३ प्रतिशतले सस्तिएको हो ।
दुई दिनमै सुन साढे १५ हजार र चाँदी २७० रुपैयाँ घट्यो
नेपाली बजारमा मूल्य गिरावटको सबैभन्दा तीव्र प्रभाव नोभेम्बर १८ देखि २० सम्म देखिएको थियो । यी दुई दिनको अवधिमा सुन प्रतितोला १५ हजार पाँचसय रुपैयाँले घटेको थियो भने चाँदी प्रतितोला २७० रुपैयाँले सस्तिएको थियो । नोभेम्बर २० मा मात्रै सुनको मूल्य एकैदिन प्रतितोला १२ हजार दुइसय रुपैयाँले घटेको थियो भने चाँदी पनि एकै दिन प्रतितोला २२५ रुपैयाँले घटेको थियो । नोभेम्बर २१ शनिबार परेकाले नयाँ मूल्य सार्वजनिक भएन । त्यसपछि नोभेम्बर २२ मा पुनः सुनको मूल्य प्रतितोला दुइ हजार आठसय र चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ । छोटो अवधिमै ठूलो परिमाणमा मूल्य घट्दा उपभोक्ता, व्यवसायी तथा लगानीकर्ताको ध्यान बजारको आगामी दिशातर्फ केन्द्रित भएको छ ।
अब के हुन्छ ?
नेपालमा सुन तथा चाँदीको मूल्य निर्धारणमा अन्तर्राष्ट्रिय बजारको मूल्य, अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर, आयात लागत तथा बजारको माग र आपूर्तिले प्रभाव पार्छन् । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटे पनि डलरको विनिमय दरमा परिवर्तन भएमा नेपाली बजारमा त्यसको प्रभाव फरक पर्नसक्छ । त्यसैले अन्तर्राष्ट्रिय बजारको मूल्य घटेको अनुपातमै नेपालमा मूल्य घट्छ भन्ने निश्चित हुँदैन । आगामी दिनमा अमेरिकी फेडरल रिजर्भले ब्याजदरसम्बन्धी कस्तो निर्णय लिन्छ, मुद्रास्फीतिको अवस्था कस्तो रहन्छ, अमेरिकी डलरको मूल्य कुन दिशामा जान्छ र विश्व सेयर बजारमा कस्तो उतारचढाव आउँछ भन्ने विषयले सुनचाँदीको मूल्य निर्धारणमा निर्णायक भूमिका खेल्नेछन् । यदि अमेरिकी ब्याजदर बढ्ने अपेक्षा थप बलियो भयो र डलरको मजबुती कायम रह्यो भने सुन तथा चाँदीको मूल्यमा थप दबाब आउन सक्छ । तर बजारले ब्याजदरसम्बन्धी सम्भावित निर्णयलाई पहिले नै मूल्यमा समायोजन गरिसकेको अवस्था भएमा नकारात्मक प्रभाव सीमित हुन पनि सक्छ ।
केही बजार विश्लेषकले भने पछिल्लो गिरावटपछि सुन तथा चाँदीले चाँडै न्यूनतम मूल्यस्तर भेट्टाएर पुनः सुधारको बाटो समात्न सक्ने सम्भावना औँल्याएका छन् । यद्यपि, मूल्य स्थिर हुने निश्चित संकेत नदेखिएसम्म बजारमा थप उतारचढाव आउन सक्ने जोखिम कायमै छ ।
यसले नेपाली बजारका उपभोक्ता, सुनचाँदी व्यवसायी र लगानीकर्तालाई तत्कालै मूल्यको दिशाबारे निश्चित निर्णय गर्न कठिन बनाएको छ । मूल्य घटेपछि खरिद गर्न चाहने उपभोक्ताका लागि अवसर देखिए पनि अझै घट्न सक्ने सम्भावनालाई बेवास्ता गर्न सकिने अवस्था छैन । समग्रमा, सुन तथा चाँदीको पछिल्लो गिरावटलाई अन्तर्राष्ट्रिय वित्तीय बजारमा भइरहेको परिवर्तनसँग जोडेर हेर्नुपर्ने देखिन्छ । अब बजारको दिशा अमेरिकी मौद्रिक नीति, डलरको अवस्था र विश्व अर्थतन्त्रमा देखिने आगामी संकेतले निर्धारण गर्नेछ ।हिमालय टाइम्स
