काठमाडौं । नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई प्रहरी प्रमुखबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। कार्कीको रिटमा सरकारले गरेको निर्णय कार्यान्वयन रोक्ने तथा आफूलाई पुनः प्रहरी महानिरीक्षकमा बहाल गर्ने मागसहित अन्तरिम आदेशको माग गरिएको छ।
कार्कीलाई सरकारले २०८३ कात्तिक १८ गते प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो। सोही निर्णयबाट अतिरिक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो। केसीले प्रहरी प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
सरकारको निर्णयविरुद्ध कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले आफूलाई कार्यकाल पूरा नहुँदै हटाउँदा कानुनी आधार र उचित प्रक्रिया पालना नगरिएको दाबी गरेका छन्। साथै, आफूलाई हटाउने निर्णय, प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्ति तथा त्यसका आधारमा भएका अन्य निर्णय बदर गरी बाँकी कार्यकालका लागि पुनः आईजीपीमा बहाल गर्न माग गरेका छन्।
यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीको मागअनुसार तत्काल अल्पकालीन अन्तरिम आदेश जारी गरेको थिएन। इजलासले सरकारसँग कार्कीलाई किन पुनः प्रहरी महानिरीक्षकमा बहाल नगर्ने भन्ने विषयमा कारण देखाऊ आदेश जारी गर्दै मन्त्रिपरिषद्को निर्णयसम्बन्धी सक्कल फाइल तथा कागजात झिकाउन आदेश दिएको थियो। साथै, अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षलाई उपस्थित गराएर छलफल गर्ने गरी आजको पेसी तोकिएको हो। मुद्दालाई अग्राधिकारसमेत दिइएको छ।
कार्कीले आफ्नो रिटमा पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसम्बन्धी सर्वोच्च अदालतका नजिरसमेत उल्लेख गरेका छन्। सरकारको निर्णयले आफूलाई हटाउने कानुनी आधार नदिएको, आफ्नो कुरा राख्ने अवसर नदिएको र प्राकृतिक न्यायको सिद्धान्तसमेत उल्लंघन भएको उनको दाबी छ।
आजको सुनुवाइले मुद्दाको अन्तिम फैसला गर्ने नभए पनि कार्कीलाई अन्तरिम राहत दिने वा नदिने तथा सरकारको निर्णय तत्काल कार्यान्वयनमा रोक लगाउने वा नलगाउने विषयमा महत्वपूर्ण दिशा तय गर्नेछ।
