काठमाण्डौः बझाङ र जाजरकोटमा आइतबार राति आएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ । बझाङमा ४ र जाजरकोटमा ३ जनाको मृत्यु भएको हो । बझाङको बुंगल नगरपालिका–१० टुमेडाका उज्जल धामीको घरमा सोमबार बिहान पूजाको तयारी थियो ।
आइतबार पुरोहितसहित आफन्त त्यहीं जम्मा भएर सुतेका थिए । तर मध्यराति आएको पहिरोले घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उज्जलकी आमा, श्रीमती र दुई छोरी छन् । ६ जनाको उद्धार गरिएको छ ।
गत वर्ष खनिएको टुमेडा–बाँटीखोला सडकबाट बगेको भलका कारण पहिरो खस्दा ढुंगामाटोले बनाएको दुईतले घर पुरिएको हो । ‘राति ११ बजेदेखि मुसलधारे पानी पर्यो । करिब एक सय मिटरमाथि पोहोर काटेको सडकको पानी पनि एकत्रित भएर त्यही घरतर्फ सोझिएपछि भिरालो जमिन भासिएर घरमा पर्यो,’ स्थानीय शिक्षक भरत महरले भने ।
घरको माथिल्लो तलामा उज्जलका ६० वर्षीय बुवा बिरा धामी, आमा ५८ वर्षीया काली, छोरा रोशन, जेठी छोरी आकृति र पुरोहित अम्बादत्त जोशी सुतेका थिए । भुइँ तलामा उज्जल र उनकी श्रीमती गोल्की, भाइबुहारी शान्ति, छोरी लक्ष्मी र बहिनी कमला सुतेका थिए । पहिरो खसेको थाहा पाउनेबित्तिकै उज्जल त्यहाँबाट उम्किएर गाउँलेलाई खबर गर्न निस्के । त्यतिञ्जेल परिवारका सदस्य पहिरोमा परिसकेका थिए ।
बझाङ सदरमुकाम चैनपुरदेखि करिब ६ घण्टाको दूरीमा रहेको टुमेडा गाउँका धामी परिवारको घर पहिरोमा परेपछि गाउँलेले नै उद्धार गरेका थिए । ‘च्यापिएका शव भने सुरक्षाकर्मी आएपछि मात्र बिहान ७ बजेतिर निकाल्यौं,’ महरले भने । सोमबार नै मृतकहरूको सामूहिक दाहसंस्कार गरिएको महरले बताए । धामी परिवारलाई एउटा त्रिपाल र १० हजार नगद उपलब्ध गराएको बुंगलका प्रमुख प्रशासकीय अधिकृत नरेश कुँवरले बताए ।
प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीको नेतृत्वमा त्रिपाल र केही लत्ताकपडा पठाएको बताए । सडककै कारण पहिरो गएको हो वा होइन भन्ने यकिन भन्न नसकिने उनको भनाइ छ । सुदूरपश्चिम प्रदेश सरकारले मृतक परिवारलाई प्रतिव्यक्ति एक लाख राहत उपलब्ध गराउने भएको छ ।
यस्तै, जाजरकोटमा पनि नलगाड नगरपालिका–२ माझगाउँका ४२ वर्षीय लालबहादुर परियारको परिवार पहिरोमा परेको छ । परियारको २ तले कच्ची घर गत कात्तिक १७ को भूकम्पका कारण भत्किएको थियो । त्यसपछि उनको ३ जनाको परिवार झन्डै ४ महिना त्रिपालमा बसेर चैत पहिलो साता अस्थायी टहरामा सरेको थियो । गाउँभन्दा केही पर टहरा बनाएको उनको परिवार आइतबार रातिको पहिरोमा भने बच्न सकेन ।
अविरल वर्षाका कारण गएको पहिरोले अस्थायी टहरा भत्किँदा लालबहादुरसहित पत्नी ३४ वर्षीया मनिषा परियार र २ वर्षका छोराको मृत्यु भएको छ । ‘गाउँभन्दा अलि पर घर भएकाले हामीले पनि सोमबार बिहानमात्र थाहा पायौं,’ नलगाड–२ का वडाध्यक्ष पूर्णबहादुर खत्रीले भने, ‘चारैतिर मकैबारी र कान्लामुनि रहेको अस्थायी टहरामाथि लेदो सहितको पहिरो आएको थियो ।’
आइतबार राति नै नलगाड–४ बाटाघरस्थित प्रकाश खड्काको टहरा पनि पहिरोले बगाएको छ । टहरामा बस्दै आएका ४ जना भागेर ज्यान जोगाउन सफल भएको वडाध्यक्ष बद्री पन्तले बताए । उनका अनुसार वर्षा सुरु भएसँगै भूकम्पपीडितको बिजोग भएको छ । पहिरोकै कारण एक महिनाअघि भेरी–४ इवरमा अस्थायी टहरा पुरिँदा ५ वर्षीय प्रिन्स विकको मृत्यु भएको थियो भने उनका बुबा रमेश घाइते भएका थिए ।
एक महिनाअघि जाजरकोटको छेडागाड नगरपालिका–१ काडागाउँमा घर भत्किँदा ८ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । ‘अधिकांश भूकम्पपीडितका अस्थायी टहराहरू कान्ला, बारी, खोला किनार र पहिले भत्किएकै घरको आसपासमा बनाइएका छन्,’ उनले भने, ‘एक त पहिले पनि यहाँका बस्तीहरू पहिरोको जोखिममा थिए, त्यसमा पनि भूकम्पपछि जमिन चिराचिरा परेका छन्, त्यसले पहिरोको जोखिम थप बढायो ।’
पहिरोका कारण जाजरकोट र रुकुम पश्चिमका २८ भूकम्पप्रभावित बस्ती उच्च जोखिममा छन् । पहिरोको उच्च जोखिममा रहेका जुनीचाँदे गाउँपालिका–३ स्यालाका १२, छेरागाड–१२ का २७, भेरी नगरपालिका–१ र ३ का १६ परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रजिअ अधिकारीले बताए । उनका अनुसार अविरल वर्षाका कारण गाउँभन्दा माथिको भिरालो भागबाट पहिरो खस्न थालेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको हो । छेडागाड–६ का ५ घर पनि बाढीबाट विस्थापित भएको उनले जानकारी दिए ।
रुकुम पश्चिम आठबीसकोट नगरपालिका–१२ झिन्चौरमा पनि गत साउन २ मा अस्थायी टहरामा बस्दै आएका ३ जनाको बाढीमा परी ज्यान गएको थियो भने एक जना अझै बेपत्ता छन् । उक्त घटनामा ७ जना घाइते भएका थिए । बाढीका कारण आठबीसकोट–१२ झिन्चौरका शेरबहादुर पुनका नातिनीहरू १० वर्षीया हितमाया, ८ वर्षीया धनसा र टहरामा सुत्न आएकी छिमेकी ४ वर्षीया मनिषा सार्कीको मृत्यु भयो ।
बाढीले थप ३ अस्थायी आवास र २ वटा छाप्रा बगाएको थियो । आठबीसकोट नगरपालिका–११, १२ र १३ मा पनि बाढीका कारण ९८ भूकम्पपीडित परिवार विस्थापित भएको नगरप्रमुख रवि केसीले बताए । उनका अनुसार १५ सय ५७ घरपरिवार बाढी र पहिरोको उच्च जोखिममा छन् । यसअघि पनि चिसोका कारण दुवै जिल्लामा टहरामा बस्दै आएका ४३ जना भूकम्पपीडितको ज्यान गएको थियो । कान्तिपुर
