सदाबहार खबरको रफ्तार ....
मंग्सिर ९, २०८३ बुधबार
November 25, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बझाङ र जाजरकोटमा पहिरोमा परेर ७ को मृत्यु

२०८१ भाद्र ४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः बझाङ र जाजरकोटमा आइतबार राति आएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ । बझाङमा ४ र जाजरकोटमा ३ जनाको मृत्यु भएको हो । बझाङको बुंगल नगरपालिका–१० टुमेडाका उज्जल धामीको घरमा सोमबार बिहान पूजाको तयारी थियो ।

आइतबार पुरोहितसहित आफन्त त्यहीं जम्मा भएर सुतेका थिए । तर मध्यराति आएको पहिरोले घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उज्जलकी आमा, श्रीमती र दुई छोरी छन् । ६ जनाको उद्धार गरिएको छ ।

गत वर्ष खनिएको टुमेडा–बाँटीखोला सडकबाट बगेको भलका कारण पहिरो खस्दा ढुंगामाटोले बनाएको दुईतले घर पुरिएको हो । ‘राति ११ बजेदेखि मुसलधारे पानी पर्‍यो । करिब एक सय मिटरमाथि पोहोर काटेको सडकको पानी पनि एकत्रित भएर त्यही घरतर्फ सोझिएपछि भिरालो जमिन भासिएर घरमा पर्‍यो,’ स्थानीय शिक्षक भरत महरले भने ।

घरको माथिल्लो तलामा उज्जलका ६० वर्षीय बुवा बिरा धामी, आमा ५८ वर्षीया काली, छोरा रोशन, जेठी छोरी आकृति र पुरोहित अम्बादत्त जोशी सुतेका थिए । भुइँ तलामा उज्जल र उनकी श्रीमती गोल्की, भाइबुहारी शान्ति, छोरी लक्ष्मी र बहिनी कमला सुतेका थिए । पहिरो खसेको थाहा पाउनेबित्तिकै उज्जल त्यहाँबाट उम्किएर गाउँलेलाई खबर गर्न निस्के । त्यतिञ्जेल परिवारका सदस्य पहिरोमा परिसकेका थिए ।

बझाङ सदरमुकाम चैनपुरदेखि करिब ६ घण्टाको दूरीमा रहेको टुमेडा गाउँका धामी परिवारको घर पहिरोमा परेपछि गाउँलेले नै उद्धार गरेका थिए । ‘च्यापिएका शव भने सुरक्षाकर्मी आएपछि मात्र बिहान ७ बजेतिर निकाल्यौं,’ महरले भने । सोमबार नै मृतकहरूको सामूहिक दाहसंस्कार गरिएको महरले बताए । धामी परिवारलाई एउटा त्रिपाल र १० हजार नगद उपलब्ध गराएको बुंगलका प्रमुख प्रशासकीय अधिकृत नरेश कुँवरले बताए ।

प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीको नेतृत्वमा त्रिपाल र केही लत्ताकपडा पठाएको बताए । सडककै कारण पहिरो गएको हो वा होइन भन्ने यकिन भन्न नसकिने उनको भनाइ छ । सुदूरपश्चिम प्रदेश सरकारले मृतक परिवारलाई प्रतिव्यक्ति एक लाख राहत उपलब्ध गराउने भएको छ ।

यस्तै, जाजरकोटमा पनि नलगाड नगरपालिका–२ माझगाउँका ४२ वर्षीय लालबहादुर परियारको परिवार पहिरोमा परेको छ । परियारको २ तले कच्ची घर गत कात्तिक १७ को भूकम्पका कारण भत्किएको थियो । त्यसपछि उनको ३ जनाको परिवार झन्डै ४ महिना त्रिपालमा बसेर चैत पहिलो साता अस्थायी टहरामा सरेको थियो । गाउँभन्दा केही पर टहरा बनाएको उनको परिवार आइतबार रातिको पहिरोमा भने बच्न सकेन ।

अविरल वर्षाका कारण गएको पहिरोले अस्थायी टहरा भत्किँदा लालबहादुरसहित पत्नी ३४ वर्षीया मनिषा परियार र २ वर्षका छोराको मृत्यु भएको छ । ‘गाउँभन्दा अलि पर घर भएकाले हामीले पनि सोमबार बिहानमात्र थाहा पायौं,’ नलगाड–२ का वडाध्यक्ष पूर्णबहादुर खत्रीले भने, ‘चारैतिर मकैबारी र कान्लामुनि रहेको अस्थायी टहरामाथि लेदो सहितको पहिरो आएको थियो ।’

आइतबार राति नै नलगाड–४ बाटाघरस्थित प्रकाश खड्काको टहरा पनि पहिरोले बगाएको छ । टहरामा बस्दै आएका ४ जना भागेर ज्यान जोगाउन सफल भएको वडाध्यक्ष बद्री पन्तले बताए । उनका अनुसार वर्षा सुरु भएसँगै भूकम्पपीडितको बिजोग भएको छ । पहिरोकै कारण एक महिनाअघि भेरी–४ इवरमा अस्थायी टहरा पुरिँदा ५ वर्षीय प्रिन्स विकको मृत्यु भएको थियो भने उनका बुबा रमेश घाइते भएका थिए ।

एक महिनाअघि जाजरकोटको छेडागाड नगरपालिका–१ काडागाउँमा घर भत्किँदा ८ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । ‘अधिकांश भूकम्पपीडितका अस्थायी टहराहरू कान्ला, बारी, खोला किनार र पहिले भत्किएकै घरको आसपासमा बनाइएका छन्,’ उनले भने, ‘एक त पहिले पनि यहाँका बस्तीहरू पहिरोको जोखिममा थिए, त्यसमा पनि भूकम्पपछि जमिन चिराचिरा परेका छन्, त्यसले पहिरोको जोखिम थप बढायो ।’

पहिरोका कारण जाजरकोट र रुकुम पश्चिमका २८ भूकम्पप्रभावित बस्ती उच्च जोखिममा छन् । पहिरोको उच्च जोखिममा रहेका जुनीचाँदे गाउँपालिका–३ स्यालाका १२, छेरागाड–१२ का २७, भेरी नगरपालिका–१ र ३ का १६ परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रजिअ अधिकारीले बताए । उनका अनुसार अविरल वर्षाका कारण गाउँभन्दा माथिको भिरालो भागबाट पहिरो खस्न थालेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको हो । छेडागाड–६ का ५ घर पनि बाढीबाट विस्थापित भएको उनले जानकारी दिए ।

रुकुम पश्चिम आठबीसकोट नगरपालिका–१२ झिन्चौरमा पनि गत साउन २ मा अस्थायी टहरामा बस्दै आएका ३ जनाको बाढीमा परी ज्यान गएको थियो भने एक जना अझै बेपत्ता छन् । उक्त घटनामा ७ जना घाइते भएका थिए । बाढीका कारण आठबीसकोट–१२ झिन्चौरका शेरबहादुर पुनका नातिनीहरू १० वर्षीया हितमाया, ८ वर्षीया धनसा र टहरामा सुत्न आएकी छिमेकी ४ वर्षीया मनिषा सार्कीको मृत्यु भयो ।

बाढीले थप ३ अस्थायी आवास र २ वटा छाप्रा बगाएको थियो । आठबीसकोट नगरपालिका–११, १२ र १३ मा पनि बाढीका कारण ९८ भूकम्पपीडित परिवार विस्थापित भएको नगरप्रमुख रवि केसीले बताए । उनका अनुसार १५ सय ५७ घरपरिवार बाढी र पहिरोको उच्च जोखिममा छन् । यसअघि पनि चिसोका कारण दुवै जिल्लामा टहरामा बस्दै आएका ४३ जना भूकम्पपीडितको ज्यान गएको थियो । कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विधानविपरीत जानेलाई कारबाही हुन्छ : सभापति थापा

पारवहन कनेक्टिभिटी सहमतिले कार्गो व्यवसायी उत्साहित

जेनजीका मुद्दा छुट्टै छानबिन गर्न अध्यादेश

चलचित्र क्षेत्रमा विदेशी लगानी खुला गर्ने बहस

भिड नियन्त्रणका लागि शक्तिशाली गण स्थापना गर्दै प्रहरी

भारत भ्रमणको उपलब्धि

जनसम्बन्ध विस्तारमा नयाँ आयाम

सर्वोच्चमा मुद्दाको चाप घटाउन क्षेत्राधिकार कटौतीको प्रस्ताव

बढ्यो घरजग्गा कारोबार

चुनौतीपूर्ण बन्दै साइबर अपराधको जालो

हप्तामै साढे २६ हजारले घट्यो सुन

फर्जी विद्यार्थी प्रकरण ठुला विद्यालय मन्त्रालयको निगरानीमा