काठमाडौं । गोरखा–हातेमालो वुमन्स ग्रुप अफ फाउण्डेशन र हिमालय फ्रेण्ड जर्मनीको संयुक्त सहकार्यमा गोरखाका सिरानचोक र अजिरकोट गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत २६६ जना विद्यार्थीलाई न्यानो कपडा (ट्र्याकसुट), टी–सर्ट तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
फाउण्डेशनले सिरानचोक गाउँपालिका–८ स्थित परोपकार आदर्श माध्यमिक विद्यालय, सत्यवती प्राथमिक विद्यालय, फिनाम आधारभूत विद्यालय र अजिरकोट गाउँपालिका–४ सिम्जुङस्थित चन्द्रकला आधारभूत विद्यालयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी विद्यार्थीलाई सामग्री वितरण गरेको हो ।
फाउण्डेशनका अध्यक्ष राधा सापकोटा ढकाल, कार्यकारी सदस्य अनिशा अधिकारी, सिरानचोक–८ का वडाध्यक्ष दलमान गुरुङ तथा परोपकार आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिशचन्द्र दवाडीलगायतले विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको थियो ।
कार्यक्रममा फाउण्डेशनका अध्यक्ष ढकालले बालबालिकामा आज गरिने लगानीले भविष्यमा समाज र देशको मुहार परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । विद्यार्थीलाई प्रदान गरिएको न्यानो कपडा तथा शैक्षिक सामग्रीले उनीहरूको आत्मविश्वास बढाउनुका साथै सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पार्ने उहाँको विश्वास छ ।
सिरानचोक–८ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान गुरुङले विद्यार्थीका लागि सहयोग उपलब्ध गराएकोमा संस्थाप्रति आभार व्यक्त गर्दै हाल कक्षा ७ सम्मका विद्यार्थीलाई लक्षित कार्यक्रम कक्षा १२ सम्म विस्तार गर्न आग्रह गर्नुभयो ।
विद्यालय तहको शिक्षा स्थानीय तहको अधिकार क्षेत्रभित्र रहे पनि पर्याप्त स्रोतसाधनको अभावमा विद्यार्थीको आवश्यकता र सिकाइ प्रक्रियालाई लक्षित थप कार्यक्रम सञ्चालन गर्न कठिनाइ भइरहेको उहाँले बताउनुभयो । सामाजिक संघसंस्थाबाट प्राप्त यस्ता सहयोगले विद्यार्थीमा हौसला र आत्मविश्वास बढाउने उहाँको भनाइ थियो ।
परोपकार आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिशचन्द्र दवाडीले फाउण्डेशनले उपलब्ध गराएको न्यानो कपडालाई सामान्य सहयोगका रूपमा मात्र नभई पुण्य र प्रेरणादायी कार्यका रूपमा लिएको बताउनुभयो । बालबालिकाको सिकाइ प्रक्रियामा समाजका सबै तहबाट साथ र सहयोग प्राप्त भएमा दक्ष तथा आत्मनिर्भर नागरिक निर्माण गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।
यसैगरी, अजिरकोट गाउँपालिका–४ सिम्जुङस्थित चन्द्रकला आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष जंगबहादुर गुरुङले संघीय प्रणाली लागू भएपछि माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको अधिकार क्षेत्रमा रहे पनि संघीय सरकारले स्थानीय तहलाई स्वायत्त रूपमा काम गर्न पर्याप्त अवसर नदिएको गुनासो गर्नुभयो ।
बालबालिकाले पहुँचयुक्त विद्यालयमा निःशुल्क शिक्षा प्राप्त गर्न पाउनु मौलिक हक भएको उल्लेख गर्दै उहाँले विद्यार्थी संख्या कम भएको कारण देखाएर पर्याप्त अध्ययन र गृहकार्यबिना विद्यालय मर्ज गर्न नहुने धारणा राख्नुभयो । फाउण्डेशनले उपलब्ध गराएको न्यानो कपडा विद्यार्थी र विद्यालयका लागि महत्वपूर्ण सहयोग भएको उहाँले बताउनुभयो ।
कार्यक्रमका अवसरमा स्थानीय समाजसेवी चन्द्रबहादुर गुरुङले विद्यालयलाई एक लाख रुपैयाँ आर्थिक सहयोगसमेत प्रदान गर्नुभएको थियो ।
