जनकपुरधाम। धनुषामा छठघाटमा वृद्धको हत्या गरी फरार रहेका एक आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ। पक्राउ पर्नेमा शहीदनगर नगरपालिका–२ निवासी जयकुमार यादव रहेका छन्, जो ‘बालक दास’ नामले समेत परिचित रहेको प्रहरीले जनाएको छ।
गत कात्तिक ३० गते बिहान शहीदनगर नगरपालिका–२ स्थित मतौनामा रहेको धनी पोखरीको छठघाटमा पूजासामग्री कुरेर बसेका ६० वर्षीय रामजतन मृत अवस्थामा फेला परेका थिए। घटनास्थलबाट रगतजस्तो देखिने दाग र कपालजस्तो वस्तु लागेको धारिलो हतियारसमेत प्रहरीले बरामद गरेको थियो।
प्रहरी अनुसन्धानबाट पुरानो रिसइबीका कारण यादवले कुटपिट गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए। घटनालगत्तै उनी भारततर्फ फरार भएका थिए।
आरोपीको खोजी तीव्र पारेको प्रहरीले शनिबार भारतीय सीमा क्षेत्र जटहीमा लुकिछिपी बसेको विशेष सूचनाका आधारमा टोली परिचालन गरेको थियो। नगराइन नगरपालिका–२ जटहीबाट राघोपुर जाने बाटो हुँदै भारतीय सीमाक्षेत्रमा पुगेर पक्राउ गर्न खोज्दा यादवले पुनः भारततर्फ भाग्ने प्रयास गरेका थिए।
प्रहरीले आत्मसमर्पण गर्न चेतावनी दिँदा पनि अटेर गरेपछि पेस्तोलबाट एक राउन्ड हवाई फायर गरिएको थियो। त्यसपछि पनि भाग्न खोजेपछि थप चार राउन्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको डीएसपी खनालले बताए। हवाई फायरसहित कुल पाँच राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ।
गोली लागेर यादवको बायाँ तिघ्रामा एक र दाहिने घुँडामुनि दुई गरी तीनवटा गोली लागेको छ। घाइते अवस्थामा नियन्त्रणमा लिइएका उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
