सदाबहार खबरको रफ्तार ....
मंग्सिर ८, २०८३ मंगलबार
November 24, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

हसिनाको डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा

२०८३ मंग्सिर ८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ढाका, ८ मङ्सिर (रासस/एपी) : बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा निर्वासनमा रहेको अवस्थाबाट आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजना सार्वजनिक गर्नुभएको छ । तर, मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएकी उहाँ फर्किएमा पक्राउ पर्ने र जेल चलान हुने सम्भावना छ ।

विद्यार्थी नेतृत्वको जनविद्रोहले १५ वर्ष लामो शासन अन्त्य गरेपछि हसिना सन् २०२४ अगस्ट ५ मा भारत जानुभएको थियो । उहाँमाथि प्रदर्शनका क्रममा सयौँ मानिस मारिएको घटनामा संलग्न रहेको आरोपमा मुद्दा चलाइएको थियो । अदालतको फैसलालाई अस्वीकार गर्दै उहाँले स्वदेश फर्किएपछि कानूनी लडाइँ लड्ने बताउँदै आउनुभएको छ ।

बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानका प्रेस सचिव अबु अब्दुल्लाह एम सालेहले हसिनालाई दोषी ठहर गरिएको र उहाँको सुपुर्दगीका लागि सरकारले भारतसँग माग गरिसकेको बताउनुभएको छ । सरकारले आफ्नो अडान परिवर्तन नगर्ने उहाँको भनाइ छ ।

हसिनाले मङ्गलबार डिसेम्बर १६ मा स्वदेश फर्कने योजना सार्वजनिक गर्दै प्रधानमन्त्री रहमानलाई राष्ट्रिय ध्वजावाहक विमानमार्फत दिल्लीबाट ढाका फर्कने व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ । उहाँका प्रवक्ता सैयद मोजाम्मेल अलीले हसिना सन् २०२४ अगस्ट ५ मा बङ्गलादेशी विमानबाट भारत जानुभएकाले स्वदेश फर्कने यात्राको व्यवस्था पनि सरकारले गर्नुपर्ने बताउनुभएको छ ।

डिसेम्बर १६ बङ्गलादेशको विजय दिवस हो । सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि स्वतन्त्र भएको स्मरणमा यो दिवस मनाइन्छ । हसिनाका सहयोगी अबु ओबैदा अरिनले उहाँले आफ्ना पिता तथा बङ्गलादेशका संस्थापक नेता शेख मुजीबुर रहमानको नेतृत्वमा हासिल भएको ऐतिहासिक विजयको सम्मान गर्दै यही दिन स्वदेश फर्कन चाहेको बताउनुभएको छ । उहाँले हसिनाको पुनरागमनपछि देश शान्ति, स्थिरता र समृद्धितर्फ अघि बढ्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

यस महिनाको सुरुमा एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा हसिनाले कुनै पनि मूल्यमा डिसेम्बरमै स्वदेश फर्कने र मृत्युसमेतले आफूलाई घर फर्कनबाट रोक्न नसक्ने बताउनुभएको थियो ।

हसिनाले मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्न पाउने समयसीमा गुमाइसकेको र सजाय रोक्ने कानूनी आधार नरहेको एक अभियोजकले यसअघि बताएका थिए । बङ्गलादेशमा राष्ट्रपतिबाट क्षमादान पाउने व्यवस्था भए पनि हसिनाले त्यस्तो आग्रह गर्नुभएको छैन । उहाँले अदालतको फैसलालाई स्पष्ट रूपमा अस्वीकार गर्दै आउनुभएको छ ।

हसिनाको सत्ता पतन भएको तीन दिनपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व सम्हाल्नुभएको थियो । उहाँको नेतृत्वमा रहेको सरकारले हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाएको थियो र फेब्रुअरीमा भएको निर्वाचनमा सहभागी हुन दिएको थिएन । त्यसपछि तारिक रहमान नेतृत्वको निर्वाचित सरकारले सत्ता सम्हालेको हो ।

सन् १९७१ को स्वतन्त्रता युद्धमा पाकिस्तानी सैन्य नेतृत्वको पक्षमा रहेको जमात–ए–इस्लामी पार्टी भने फेब्रुअरीको निर्वाचनमा पुनः राजनीतिमा फर्किएको थियो । अहिले उक्त पार्टी बङ्गलादेशको प्रमुख प्रतिपक्षी दल बनेको छ । हसिनाको शासनकालमा यस पार्टीका कैयौँ शीर्ष नेताहरूलाई युद्ध अपराधको आरोपमा मृत्युदण्ड दिइएको थियो ।

हसिनाका पिता शेख मुजीबुर रहमानले पाकिस्तानविरुद्धको स्वतन्त्रता आन्दोलनको नेतृत्व गर्नुभएको थियो । सन् १९७५ मा सैन्य ‘कू’ का क्रममा उहाँ र परिवारका अधिकांश सदस्यको हत्या भएको थियो । त्यसबेला देशबाहिर रहनुभएका हसिना र उहाँकी कान्छी बहिनी भने बाँच्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शिविरमाथि प्रतिबन्धपछि स्विट्जरल्यान्डसँग उत्तर कोरिया असन्तुष्ट

आफन्तबाटै हरेक घण्टा पाँच महिला तथा बालिकाको हत्या

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

दक्षिण कोरियाद्वारा रूसी विमान हटाउन लडाकू जेट परिचालन

‘कक्रोच’ आन्दोलनका नेतालाई लन्डन जान रोक

इरान तनावबारे रुबियो र कतारी प्रधानमन्त्रीबीच वार्ता

इरानमाथि आक्रमण गरे क्षेत्रीय युद्ध चर्किन सक्ने इजरायली सेनाको चेतावनी

जलवायु सम्मेलन निष्कर्षविहीन बनेपछि महासचिव गुटेरेसद्वारा निराशा व्यक्त

सरकार गठनका लागि आइसेनकोटको द्रुत मतदान रणनीति

ट्रम्पसँग भेट नभएपछि किमको जोड सार्वभौमिकतामा

जीवाश्म इन्धनको विवादले जलवायु वार्ता निष्कर्षविहीन

किएभ क्षेत्रमा रुसी आक्रमणमा १४ जनाको मृत्यु