सियोल, ८ मङ्सिर (रासस/एपी) :रुस–युक्रेन युद्धसँग सम्बन्धित गतिविधिमा संलग्न भएको आरोपमा उत्तर कोरियाको एक बाल शिविरमाथि स्विट्जरल्यान्डले प्रतिबन्ध लगाएपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । उत्तर कोरियाले प्योङयाङस्थित स्विस कूटनीतिक कार्यालय बन्द हुन सक्ने चेतावनी दिएको छ ।
उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो जोङले वोनसानस्थित सोङडोवन अन्तर्राष्ट्रिय बाल शिविरमाथिको प्रतिबन्धलाई आफ्नो देशको सार्वभौमसत्तामाथिको गम्भीर उल्लङ्घन र खुला शत्रुतापूर्ण कार्य भन्नुभएको छ । उहाँले उक्त शिविरले रुससँगको वैध सहयोगलाई समर्थन गरेको दाबी गर्नुभयो । तर युक्रेनबाट लगिएका बालबालिकालाई त्यहाँ पुनःशिक्षाका लागि पठाइएको भन्ने पश्चिमा आरोपबारे उहाँले प्रतिक्रिया दिनुभएन ।
उत्तर कोरियाले रुसको युद्ध प्रयासलाई सहयोग गर्न हजारौँ सैनिक र ठूलो परिमाणमा हतियार पठाएको छ । त्यसको बदलामा आर्थिक सहयोग र सैन्य प्रविधि प्राप्त गरेको हुन सक्ने अनुमान छ । रुस र चीनसँगको निकटता नेता किमको अमेरिकाविरोधी विदेश नीतिको प्रमुख आधार बनेको छ ।
स्विस विदेशमन्त्री इग्नाजिओ क्यासिसले गत अक्टोबरको अन्त्यमा प्योङयाङ भ्रमण गरी विदेशमन्त्री चो सोन हुईसहितका अधिकारीसँग संवाद र सहयोग विस्तारबारे छलफल गर्नुभएको थियो । तर प्रतिबन्धपछि किम यो जोङले स्विट्जरल्यान्डसँगको सम्बन्ध पुनर्विचार गर्नुपर्ने र आवश्यक जवाफी कदम चाल्नुपर्ने बताउनुभएको छ । उहाँले प्योङयाङमा खोलिएको स्विस कूटनीतिक कार्यालयले आफ्नो औचित्य गुमाएको टिप्पणी गर्नुभयो ।
स्विट्जरल्यान्डको आर्थिक मामिलासम्बन्धी राज्य सचिवालयका अनुसार, यसै महिनाको सुरुमा रुसको युक्रेनमाथिको आक्रमणसँग सम्बन्धित प्रतिबन्ध सूचीमा सोङडोवन शिविरलाई समावेश गरिएको थियो । स्विस अधिकारीहरूले शिविरमाथि युक्रेनी बालबालिकाको जबर्जस्ती एकीकरण, प्रलोभन र सैन्यीकृत शिक्षामा संलग्न रहेको आरोप लगाएका छन् । रुसको नियन्त्रणमा रहेका युक्रेनी क्षेत्रबाट बालबालिकालाई उत्तर कोरिया लैजाने तथा उनीहरूलाई रुस समर्थक प्रचारमा सहभागी गराउने गतिविधिमा शिविर संलग्न रहेको आरोप छ ।
यसअघि बेलायतले गत मे र युरोपेली सङ्घ (इयु) ले सेप्टेम्बरमा शिविरमाथि प्रतिबन्ध लगाउँदै यसको सम्पत्ति रोक्का र वित्तीय कारोबार निषेध गरेका थिए । तर युरोपसँग उत्तर कोरियाको सीमित वित्तीय सम्बन्धका कारण ती प्रतिबन्धको व्यावहारिक प्रभाव भने स्पष्ट छैन ।
